गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा

पोखरा । प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेशबाट सिफारिस भई विभिन्न स्थानीय तहमा खटिएका इन्जिनियरिङ सेवाका २१ जना नवप्रवेशी कर्मचारीहरू तालिम लिएर कार्यक्षेत्र फर्किएका छन् । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको सेवा प्रवेश तालिम बिहीबार सम्पन्न भएको हो ।
मंसिर २१ गतेदेखि सुरु भएको तालिमको समापन समारोह सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको शिक्षा विकास महाशाखाको सभाहलमा आयोजना गरिएको थियो । कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्रबाबु तिवारीले यस्ता तालिमले कर्मचारीमा सेवा प्रवाहमा कुशलता र पारदर्शिता ल्याउनुका साथै स्थानीय पूर्वाधार विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले प्रदेश निजामती सेवाको शान बढाउन नवप्रवेशी कर्मचारीहरूलाई आग्रह समेत गरे ।
तालिमका संयोजक तथा प्रतिष्ठानका प्रशिक्षण तथा अनुसन्धान अधिकृत इन्जिनियर मनोज पौडेलले यो तालिम विशेषगरी सब–इन्जिनियर, खानेपानी तथा सरसफाइ टेक्निसियन र असिस्टेन्ट सब–इन्जिनियरजस्ता शुद्ध प्राविधिक कर्मचारीका लागि डिजाइन गरिएको जानकारी दिए । तालिममा प्राविधिक विषयवस्तुमा केन्द्रित रहेर अभ्यासमूलक र फिल्ड बेसमा आधारित रही स्थानीय तहको विकास निर्माणमा देखिने समस्या समाधानका उपायबारे विज्ञहरूले सहजीकरण गरेका थिए ।
तालिममा सहभागी सन्तुलन नेपालीले तालिमले आफूहरूलाई प्राविधिक रूपमा थप दक्ष बनाएको र दीर्घकालीन स्थानीय पूर्वाधार निर्माणमा सहयोग पुग्ने बताए । अर्का सहभागी दीपक खनालले लागत अनुमान, दररेट विश्लेषण, ई–बिडिङजस्ता संवेदनशील विषयमा प्रत्यक्ष अभ्यास गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले वातावरणीय मूल्याङ्कन, फोहोरमैला व्यवस्थापन, स्वच्छ खानेपानी र निर्माण सामग्रीको गुणस्तर छनोटजस्ता विषयमा सोचेभन्दा धेरै ज्ञान र सीप हासिल भएको अनुभव सुनाए ।
प्रतिष्ठानका निर्देशक एवं कार्यक्रमका अध्यक्ष लक्ष्मण तिमिल्सिनाले प्राविधिक कर्मचारीका लागि प्राविधिक विषयवस्तुमै आधारित भएर सहायकस्तरको तालिम पहिलो पटक सञ्चालन गरिएको बताए । उनले यो तालिमले स्थानीय तहमा आउने प्राविधिक समस्या समाधान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
प्रतिष्ठानका लेखा अधिकृत प्रशान्त सुवेदीका अनुसार यसअघि मंसिर १४ देखि १९ गतेसम्म प्रशासनतर्फ ७२ जना र मंसिर २१ देखि २५ गतेसम्म प्राविधिकतर्फ २१ जना गरी कुल ९३ जना कर्मचारीले सेवा प्रवेश तालिम लिएका छन् । समापन कार्यक्रमको सञ्चालन इन्जिनियर मनोज पौडेलले गरेका थिए ।









चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया