चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा

समाधान संवाददाता २०८२ मंसिर २५ गते २०:४६

गण्डकी ।  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब ८४ दिन मात्र बाँकी छ । निर्वाचनको मिति नजिकिएसँगै गण्डकी प्रदेशमा राजनीतिक गतिविधि ह्वात्तै बढेको छ । ‘जेनजी’ आन्दोलनपछि केही सुस्ताएको राजनीतिक माहोल अहिले फेरि तातेको छ । दलहरू चुनाव लक्षित अभियान र कार्यक्रममा केन्द्रित हुन थालेका छन् ।

अघिल्लो निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसले उम्मेदवार सिफारिस र संगठन विस्तारलाई तीव्रता दिएको छ । कांग्रेस गण्डकीका महामन्त्री विष्णु लामिछानेले जिल्लाबाट प्रत्यक्ष र समानुपातिकतर्फका सम्भावित उम्मेदवारको नाम सिफारिस गर्ने काम भइरहेको जानकारी दिए । आगामी पुस २६ देखि २८ गतेसम्म हुने १५औँ महाधिवेशनले पनि कांग्रेसभित्रको माहोल तताएको छ । लामिछानेले भने, ‘निर्वाचन र महाधिवेशन नजिकिएकाले जिल्ला र प्रदेशस्तरमा पार्टीका भेला तथा बैठकहरू बाक्लिएका छन् । अहिले सिंगो पार्टी पंक्ति तयारीमा जुटेको छ ।’

Advertisement

नेपाल कम्युनिस्ट पार्टी (एमाले) ११औँ महाधिवेशनको संघारमा छ । शनिबारदेखि सुरु हुने महाधिवेशनका लागि नेता तथा कार्यकर्ता राजधानी जाने क्रम सुरु भएको छ । एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसीले महाधिवेशनले पार्टीको आन्तरिक जीवनलाई चलायमान बनाएको बताए । उनले भने, ‘महाधिवेशनले राष्ट्रिय राजनीतिमा प्रभाव त राख्छ नै, तर यो एमालेको आन्तरिक जीवनमा धेरै महत्त्वपूर्ण छ । निर्वाचन घोषणा भइसकेको अवस्थामा दलका गतिविधि बढ्नु स्वाभाविक हो ।’

विभिन्न समूहबीचको एकतापछि बनेको नेपाली कम्युनिस्ट पार्टी पनि चुनावी अभियानमा होमिएको छ । पार्टीका केन्द्रीय सदस्य ज्ञामनाथ गैरे ‘अनिल’ का अनुसार मंसिर १४ गते पोखराबाट सुरु भएको एकता सन्देश सभा अहिले जिल्लास्तरमा भइरहेको छ । बिहीबार गोरखा र लमजुङमा सभा सम्पन्न भएको छ भने शुक्रबार तनहुँ, पर्वत र स्याङ्जामा तथा शनिबार बागलुङ र नवलपुरमा कार्यक्रम आयोजना गरिएको छ । गैरेले भने, ‘हामी निर्वाचनमा भाग लिने घोषणासहित तयारीमा छौँ । एकताको सन्देशले चुनावी माहोल बनाउन मद्दत गरेको छ ।’

Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि चुनावी गतिविधिलाई तीव्रता दिएको छ । रास्वपा बागलुङका जिल्ला सदस्य राजेन्द्र शर्माले संगठन विस्तारसँगै उम्मेदवार छनोटको प्रक्रिया अगाडि बढाइएको बताए । उनले भने, ‘बागलुङका १६ वटा वडामा अधिवेशन सकिएको छ । समानुपातिकतर्फ ४ जना आकांक्षीको नाम सिफारिस गरेका छौँ भने प्रत्यक्षतर्फ आवेदन लिने काम भइरहेको छ ।’ उनले जिल्लाबाट नाम सिफारिस भए पनि उम्मेदवारको अन्तिम टुंगो भने केन्द्रले लगाउने जानकारी दिए ।रासस

तपाईको प्रतिक्रिया