एमालेको ११औं महाधिवेशन आजदेखि, ओलीले रिमोटबाट उदघाटन गर्ने

भक्तपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औं राष्ट्रिय महाधिवेशन आज (शनिबार) देखि सुरु हुँदैछ । भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हुने महाधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले रिमोटमार्फत उद्घाटन गर्नेछन् ।
मञ्चमा राखिएको विद्युतीय पाला रिमोटबाट बालेर र झन्डा फहराएर महाधिवेशनको औपचारिक सुरुआत गर्ने तयारी गरिएको छ । ११औं महाधिवेशन भएकाले ११ वटा झन्डा राखिनेछ । जसमध्ये १० वटा सुरुमै र एउटा झन्डा रिमोटबाट फहराइनेछ ।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार उद्घाटन सत्रमा देशभरबाट करिब ३ लाख सहभागी हुनेछन् । कार्यक्रममा नेपालको एकता झल्काउने २ सयभन्दा बढी कला र संस्कृतिसहितका झाँकी प्रदर्शन गरिनेछ ।
महाधिवेशनका लागि लिच्छविकालीन राजा हरिदत्तले स्थापना गरेको ऐतिहासिक चाँगुनारायण मन्दिरको स्वरूपमा भव्य मञ्च निर्माण गरिएको छ । टाढा रहेका सहभागीले पनि सहजै देखून् भनेर मञ्चको दायाँबायाँ ३० फिट अग्ला दुईवटा ‘एलइडी स्क्रिन’ राखिएको छ । साथै, ३ किलोमिटर परसम्म सुन्न सकिने १ सय १५ वटा उच्च गुणस्तरका साउन्ड सिस्टम जडान गरिएको छ । मञ्च अगाडि पाहुनाका लागि २५ हजार कुर्सीको व्यवस्था छ ।
उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत १६ वटा दलका शीर्ष नेतालाई निम्तो गरिएको छ । साथै, विदेशी कूटनीतिक नियोग र विभिन्न देशका पार्टी प्रतिनिधिले शुभकामना सन्देश पठाएको एमाले स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले जानकारी दिए ।
कार्यक्रमलाई व्यवस्थित र शान्तिपूर्ण बनाउन १० हजार तालिम प्राप्त स्वयंसेवक परिचालन गरिनेछ । महाधिवेशन स्वयंसेवक परिचालन समितिका संयोजक भानुभक्त ढकालका अनुसार २४ वटा जनसंगठनबाट ५ सयभन्दा बढी स्वयंसेवक ‘ड्रेसकोड’ मा खटिनेछन् ।
ट्राफिक व्यवस्थापनका लागि कोटेश्वरबाट आउने सवारीसाधनलाई गठ्ठाघरस्थित नागरिक उड्डयन प्राधिकरणको चौरमा र काभ्रे हुँदै आउनेलाई जगातीस्थित ‘भाइरल प्लानिङ’ मा पार्किङको व्यवस्था गरिएको छ । ती स्थानबाट र्यालीसहित कार्यक्रम स्थल जाने व्यवस्था मिलाइएको छ । रासस








निर्वाचन आउन ८२ दिन बाँकी, समानुपातिकतर्फ ९३ दललाई चुनाव चिह्न
भिजिट भिसा प्रकरणः सहसचिव भट्टराईसँग २५ लाख धरौटी माग, न्यायाधीशको राय बाझियो
राष्ट्र बैंकले मुद्दती निक्षेपमा साढे ७ अर्ब लगानी गर्दै
१६औँ गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड बागलुङमा हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया