लौरुक खोलामा मोटरेवल पुल शिलान्यास

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शनिबार वडा नम्बर २४ स्थित लौरुक खोलामा मोटरेवल पुलको शिलान्यास गरेका छन्। २१.९ मिटर लम्बाइ र ८.४ मिटर चौडाइ रहने उक्त पुल निर्माणपछि महानगरका वडा नम्बर २४, २३, १८ र अन्नपूर्ण गाउँपालिकाका बासिन्दालाई बाह्रै महिना मुख्य बजारसम्म आउजाउ गर्न सहज हुनेछ। आरसीसी बक्स ब्रिज प्रकृतिको यो पुल २०८३ पुस १३ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

३ करोड ७१ लाख रुपैयाँ लागत अनुमान गरिएको यस पुलको निर्माणका लागि भदौरे निर्माण सेवाले २ करोड ५७ लाख ६५ हजार ४८४ रुपैयाँमा ठेक्का पाएको छ। शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख आचार्यले पुल नहुँदा स्थानीयले निकै सास्ती खेप्नुपरेको उल्लेख गर्दै निर्माणपछि यस क्षेत्रको आवागमनमा सुधार आउने विश्वास व्यक्त गरे। उनले निर्धारित समयमै काम सक्न निर्माण व्यवसायीलाई निर्देशन दिँदै आफ्नो क्षेत्रमा भइरहेको विकास निर्माणको निगरानी र सहजीकरण गर्न स्थानीयलाई आग्रह गरे।
पञ्चासे क्षेत्र जाने प्रमुख सडकका रूपमा रहेको यो मार्गको स्तरोन्नतिका लागि विकास साझेदारसँग सम्झौता भइसकेको आचार्यले जानकारी दिए। ‘महानगर उपलब्ध स्रोत साधनको उपयोग गर्दै समृद्धिको दिशामा अगाडि बढिरहेको छ,’ उनले भने। महानगरले पुल निर्माणमा बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाएको छ भने निर्माण कम्पनीले पनि तोकिएको समयमै काम सक्ने बताएको छ।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, वडा नम्बर २४ का अध्यक्ष भरत बहादुर अधिकारीसहित विभिन्न वडाका जनप्रतिनिधिहरूको उपस्थिति थियो। लौरुक खोलामा पुल बनेपछि त्यस क्षेत्रका कृषि उपज बजारसम्म पुर्याउन र पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।










सम्पादकीय—सडक स्तरोन्नतिमा म्याद थपको शृंखला
फूलबारीको प्रगति टोल विकास संस्थामा गुप्ती गुरुङ
प्रतिनिधि सभा निर्वाचनका लागि कास्कीबाट एमालेमा युवा आकांक्षी कम
आचारसंहिता कडा, बालबालिका प्रयोग गर्न र टोपी–टिसर्ट बाँड्न रोक
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया