मुस्ताङमा ३४४ कुकुरको बन्ध्याकरण

सुन्दरकुमार थकाली २०८१ मंसिर ६ गते ११:१८

जोमसोम ।
छाडा कुकुरले दुख दिने गरेपछि मुस्ताङमा कुकुर नियन्त्रण अभियान थालिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङ र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङको संयुक्त आयोजना तथा केन्द्रीय रिफरल पशु चिकित्सालयको समन्वय सहकार्यमा मुस्ताङका ५ पालिकाका ३४४ वटा घरपालुवा तथा अनाधिकृत छाडा कुकुरहरुलाई एन्टी रेबिज भ्याक्सिनसहित स्थायी बन्ध्याकरण गरिएको हो ।


मुस्ताङमा अनधिकृत र छाडा कुकुरको आतंक रोक्न भेटेरिनरी अस्पताल र एक्याप लोमान्थाङले संयुक्त पहल गरेका हुन् । गत कार्तिक २६ गतेदेखि उपल्लो मुस्ताङको लोमान्थाङदेखि सुरु गरिएको कुकुर नियन्त्रण अभियान बुधबार मुस्ताङको थासाङ गाउँपालिकामा पुगेर समापन भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख डा. लालमणि अर्यालले जानकारी दिए ।

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङ, एक्याप लोमान्थाङसहित सम्बन्धित स्थानीय तहका पशु प्राविधिक र सुरक्षा निकाय लगायतले केन्द्रीय रिफरल चिकित्सालबाट आएका पशु चिकित्सकहरुलाई सघाएको डा. अर्यालको भनाइ छ ।
कुकुरलाई रेबिजको खोप लगाउन तथा बन्ध्याकरण गर्न ड्राटगन र पासो थापेर नियन्त्रणमा लिइएको थियो । कुकुर नियन्त्रण अभियानमा सम्वन्धि क्षेत्रका स्थानीय नागरिकहरुले समेत सहयोग पुर्‍याएको डा. अर्यालले बताए ।

Advertisement

पर्यटकले पछिपछि कुकुर पनि ल्याउँछन्, छोडेर फर्किन्छन्


मुस्ताङमा आयोजित घरपालुवा तथा छाडा कुकुर नियन्त्रण अभियान अन्तर्गत लोमान्थाङमा ५४, लोघेकर दामोदरकुण्डमा ५६, वारागुङ मुक्तिक्षेत्र—१ को मुक्तिनाथमा ८०, घरपझोङमा ८१ र थासाङ गाउँपालिकामा ७३ वटा घरपालुवा तथा अनाधिकृत छाडा कुकुरहरुलाई कुकुरहरुको टोकाइबाट हुने रेबिज भ्याक्सिन तथा स्थायी बन्ध्याकरण गरिएको केन्द्रीय रिफरल चिकित्सालयका निमित्त प्रमुख डा. अर्जुन अर्यालले जानकारी दिए ।

Advertisement


मुस्ताङमा छाडा कुकुरहरुको संख्या बर्सेनि वृद्धि हुने गरेको पाइएको छ । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ भ्रमण गर्न आउने विदेशी पर्यटकको पछिपछि लागेर भित्रिने क्रम रहँदा मुस्ताङमा कुकुर नियन्त्रण एक चुनौती बनेको छ । राउन्ड अन्नपूर्ण चक्रीय पदमार्ग अन्तर्गत मनाङ हुँदै मुस्ताङ प्रवेश गर्ने पर्यटकले कुकुरलाई खानेकुरा दिएर पदमार्गमा सारथि बनाएर ल्याउने र हवाई मार्ग र सवारी चढेर पर्यटक फर्किने गर्दा मुस्ताङमा कुकुरको संंख्या वृद्धि हुने गरेको हो । कुकुरको संख्या वृद्धि हुँदै गर्दा सामुदाय स्तरमा यसले प्रत्यक्ष÷परोक्ष असर पुगेको हो ।


मुस्ताङमा अनधिकृत छाडा कुकुरको आतंकले जोमसोम विमानस्थलमा अवरोध सिर्जना गर्दा कहिले काँही हवाई उडानमा समेत जोखिम सिर्जना गर्ने गरेको छ । कुकुर आतंक बढेपछि नेपाल नागरिक उड्डयन कार्यालयले जोमसोम विमानस्थलको चारै किल्ला वरपर घेराबारसमेत निर्माण गरिसकेको छ ।


घरपालुवा तथा छाडा कुकुरहरुले स्थानीय कृषकहरुले पालन गरेको याकचौरी र भेडाच्यांग्राका पाठापाठी समेत खाईदिने र क्षति तुल्याउने गरेको घरपझोङ—५ का वडाध्यक्ष प्रदीप थकालीले जानकारी दिए । कुकुरहरुको झुन्डझुन्ड समूहले वन्यजन्तुलाई समेत आक्रमण गर्ने गरेको छ । कुकुरहरुकै कारण यहाँका ज्येष्ठ नागरिक तथा बालबालिकालाई समेत जोखिम निम्त्याएको वडाध्यक्ष थकालीको भनाई छ ।


कुकुरको टोकाइबाट हुने रेबिज रोगका कारण नेपाल रेड जोनमा छ । सरकारले अन्तर्राष्ट्रिय समुदायसँग सन् २०३० सम्म कुकुरहरुको न्यूनीकरण (शून्य) स्तरमा पुर्‍याउन प्रतिवद्धता जनाइसकेको छ । यसै प्रतिबद्धतालाई सार्थक निश्कर्षमा पुर्‍याउन नेपाल सरकार पशुपन्छी विकास मन्त्रालयले केन्द्रीय रिफरल चिकित्सालयको सहयोगमा देशका विभिन्न स्थानमा रेबिज तथा कुुकुर बन्ध्याकरण शिविर सञ्चालन गर्ने गरिएको छ । कुकुरहरुको ३ वटा मापदण्डमा टेकेर चिकित्सालयले अभियानमा शिविर चलाउने गरेको छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया