जाडो बढे पनि पोखरामा अझै डेंगीको डर

समाधान संवाददाता २०८१ मंसिर १३ गते ९:५५

पोखरा ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा नेपाल रेडक्रस सोसाइटी कास्कीले महिला स्वास्थ्य स्वयंसेविकालाई डेंगी रोक संक्रमण तथा रोकथामसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ ।

Advertisement

कार्यक्रममा जिल्ला शाखा कास्कीका पदाधिकारी, स्वयंसेवक, महिला स्वास्थ्य स्वयंसेविकासहित ४० जनाको सहभागिता रहेको रेडक्रस कास्कीका सभापति डण्डराज शर्मा पौडेलले जानकारी दिए ।

कार्यक्रममा रेडक्रस कास्कीका डेंगी रोकथाम तथा प्रतिकार्य कार्यक्रमका फोकल पर्सन नवराज भण्डारी र सुपरभाइजर सुनिता पौडेलले सहजीकरण गरेका छन् । रेडक्रस कास्कीमा सभापति पौडेलले रेडक्रसले स्वास्थ्य क्षेत्रको संकट र महामारीमा समेत काम गर्ने बताए । कोभिड १९ तथा डेंगी रोगको संक्रमण लगायतका मानवीय विपत्तिको अवधिमा सेवाको क्षेत्रमा काम गरेको उल्लेख गर्दै उनले रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी)को समन्वयमा डेंगु रोकथाम तथा प्रतिकार्यको लागि विशेष अभियान सञ्चालन गरिरहेको जनाए ।

उनले रेडक्रसले हरेक मानवीय विपत्तीमा तटस्थ भएर सेवा प्रदान गरेको उल्लेख गरे । उनले रेडक्रसका ५ पालिकाका ४८ उपशाखामार्फत समुदाय स्तरमा डेंगी रोग संक्रमण रोकथाम नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम गरेको जानकारी दिए । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका उपसभापतिहरु उर्मिला खड्का भण्डारीले ‘हामी सबैको प्रतिवद्धता, लैंगिक हिंसा अन्त्यको लागि एक्याबद्धता’ भन्ने नाराका साथ लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सञ्चालन गरेको बताइन् ।
उनले जाडोको समयमा समेत डेंगी रोगको संक्रमण फैलिनु स्वास्थ्य क्षेत्रका चुनौती भएको जानकारी दिँदै उनले जाडो मौसममा समेत भाँडाकुँडामा संकलन गरेको पानी टायरमा लामखुट्टेको लार्भा र प्युपा जीवित हुनु अर्को वर्ष डेंगी रोगको संक्रमण अझै बढ्ने संकेत गरिन् ।

रेडक्रस कास्की कोषाध्यक्ष सन्तोष अधिकारीले रेडक्रस तथा महिला स्वास्थ्य स्वयंसेवी दुबैले निस्वार्थ भावले समुदायमा काम गर्ने बताए । उनले रेडक्रसले प्राथमिक उपचार र स्वयंसेवीले आधारभुत स्वास्थ्य सेवा प्रदान गरेको जानकारी दिए ।

Advertisement

रेडक्रस कास्कीका डेंगी रोकथाम नियन्त्रण कार्यक्रमका फोकल पर्सन भण्डारीले डेंगी रोगको संक्रमण तथा रोकथाम नियन्त्रणका लागि समुदाय स्तरमा सचेतनामुलक कार्यक्रम गरेको जानकारी दिए । उनले विद्यार्थीलाई केन्द्रीत गरी विद्यालयमा गरेको कार्यक्रमहरु प्रभावकारी भएको उल्लेख गरे ।

कार्यक्रममा रेडक्रस कास्कीका कार्यवहाक मन्त्री रमा कोइराला न्यौपाने, जिल्ला कार्यसमितिका सदस्यहरु पार्वती कार्की, बबिता सुवेदी, कार्यालय प्रमुख मोहनसिंह खड्का, नेपाल रेडक्रस सोसाइटी गण्डकीका स्रोत व्यक्ति शिरिसा ढकाल लगायतले डेंगी रोग रोकथाम तथा नियन्त्रणका लागि लामखुट्टेको लार्भा खोज र नष्ट अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया