निजी स्वास्थ्य संस्थामा अनुगमन

समाधान संवाददाता २०७६ असोज ८ गते १३:४०

राजन उपाध्याय
दुलेगौंडा

स्थानीय तहमा आएको अधिकार प्रयोग गर्दै शुक्लागण्डकी नगरपालिका स्वास्थ्य शाखाले निजी स्वास्थ्य संस्थामा अनुगमन गरेको छ । नगर क्षेत्रमा रहेका मेडिकल, स्वास्थ्य क्लिनिक तथा पोलिक्लिनिकको अनुगमन गरिएको स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले जानकारी दिए ।

मंगलबार दुलेगौंडामा गरिएको अनुगमनका क्रममा १ मेडिकलमा भ्याक्सीनसँगै मासु राखेर गम्भिर लापर्वाही गरिएको भेटिएको श्रीवास्तवले बताए । ढोर फूलबारी अस्पतालकी मेडिकल अधिकृत डा. प्रतिक्षा आलेले भ्याक्सीनसँगै फ्रिजमा राखिएको मासुले मानव स्वास्थ्यमा ठूलो असर पार्ने बताइन् । ‘मासुमा भएको भाइरस भ्याक्सिनमार्फत् मानिसमा सर्न सक्छ,’ उनले थपिन्, ‘यसले उपचारका लागि आएका विरामीलाई विभिन्न रोग लाग्न सक्छ ।’

Advertisement

साथै म्याद नाघेका औषधी, डेन्टल क्लिनिक दर्ता विना सञ्चालन हुनुका साथै प्रयोगशालाको मापदण्ड नपुगेको भेट्टिएको छ ।

‘अधिकांश स्वास्थ्य संस्थामा अनाधिकृत कर्मचारीले स्वास्थ्य जाँच गरेको भेटिएको छ, शाखा प्रमुख श्रीवास्तवले भने, त्यस्ता संस्थालाई सुधार गर्न निर्देशन दिइएको छ । अर्को पटक पनि भेटिए कारवाही गरिने छ ।’ उनले स्वास्थ्य क्लिनिकमा डा. विना बिरामी भर्ना गरेर उपचार गरेको पाइएको बताउँदै आगामी दिनमा त्यसो नगर्न निर्देशन दिएको जानकारी दिए ।

Advertisement

यसअघि स्वास्थ्य शाखाले भदौ महिनाभर शाखामा स्वास्थ्य संस्था दर्ताका लागि आह्वान गरेको थियो । शाखामा दर्तामा नआएका संस्थालाई भदौ १३ गते आवश्यक कागजातको साथमा आउन आग्रह गरेको श्रीवास्तले जानकारी दिए । नगरमा २५ वटा स्वास्थ्य संस्था छन् । केहि स्वास्थ्य संस्थाहरु दर्ताको प्रक्रियामा अझैं आएका छैनन् । स्वास्थ्य शाखा प्रमुख श्रीवास्तवले अनुगमन निरन्तर चलिरहने बताए । ‘नगरको स्वास्थ्य निर्देशिका २०७५ अनुसार हामीले काम गर्ने हो,’ उनले भने, ‘अटेर गर्ने स्वास्थ्य संस्थालाई बन्द गर्नेसम्म अधिकार दिएको छ ।’ अनुगमनमा ढोर फूलबारी अस्पतालकी मेडिकल अधिकृत डा. आले, स्वास्थ्य शाखाका कर्मचारी, प्रहरी, पत्रकार लगायतको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया