गार्डेन र झम्सीखेल भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिताको सेमीमा

पोखरा । पोखराको टुँडिखेलमा जारी प्रतियोगितामा ४० वर्ष उमेर समूहतर्फ गार्डेन एफसी र झम्सीखेल सेमिफाइनलमा प्रवेश गरेको छ । बगर भाइखलकको आयोजनामा जारी १४ औं अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिताको पहिलो क्वाटर फाइनल खेलमा फ्रिडम फाइटर काठमाडौंलाई पेनाल्टी सुटआउटमा ७–६ गोल अन्तरले पराजित गर्दै गार्डेन सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेलबाट गार्डेनका सन्तोष कार्की म्यान अफ द म्याच घोषित भए । दोस्रो क्वाटरफाइनल खेलमा बगर भाइखलकलाई १–० गोल अन्तरले हराउँदै झम्सीखेल भेट्रान्स अन्तिम चारमा प्रवेश गरेको आयोजक संस्थाका अध्यक्ष इश्वरमान गुरुङले जानकारी दिए ।
झम्सीखेलको जीतमा विभोर गुरुङले निर्णायक गोल गरे । सो खेलबाट उनै विभोर म्यान अफ द म्याच बने । बाँकी २ क्वाटरफाइनलमा ताकामी र संगम भेट्रान्स शुक्रबार भीड्नेछन् । अर्काे क्वाटरफाइनल खेल नागसोती र ब्रदर्शहुड काठमाडौंबीचको प्रतिस्पर्धा हुनेछ ।
५० वर्ष उमेर समूहको पहिलो चरणका ६ खेल पनि शुक्रबार नै हुने क्लबका महासचिव मनकाजी गुरुङले जानकारी दिए । प्रतियोगितामा ४० वर्ष उमेर समूहतर्फको विजेताले २ लाख उपविजेताले १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
सो उमेर समूहको विधागततर्फ सर्वोकृष्ट खेलाडीले नगद १५ हजार, उत्कष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फवार्ड र प्रशिक्षकले नगद ५ र ५ हजार पुरस्कार प्राप्त गर्ने छन् । ५० वर्ष उमेर समूहतर्फको विजेताले १ लाख र उपविजेताले ५० हजार नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
६० वर्ष उमेर समूहतर्फको विजेताले ५० हजार र उपविजेताले ३० हजार नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा भारतको देहरादुन, काठमाडौं, ललितपुर, चितवन, सिरहा, हेटौंडा, सर्लाही, बुटवल,सिमरा,कैलाली, झापा, बिर्तामोड र पोखराका स्थानीय टिमको सहभागिता छ ।
तपाईको प्रतिक्रिया