पोखरामा सुरु भयो विश्वविद्यालय स्तरीय खेलकुद प्रतियोगिता

पोखरा । गण्डकी विश्वविद्यालयको सह–आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको समन्वयमा बुधबारदेखि पोखरामा विश्वविद्यालय स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले प्रतियोगिता उदघाटन गरे ।
प्रतियोगितामा काठमाडौं, पूर्वाञ्चल, त्रिभुवन, पोखरा, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, कृषि तथा वन विज्ञान र पूर्वाञ्चल विश्वविद्यालयका टिम सहभागी छन् । प्रतियोगितामा भलिबल, एथलेटिक्स, टेबलटेनिस र ब्याडमिन्टनमा गरी १९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुन्छ । एथलेटिक्सको पहिलो दिन ५ स्वर्णको टुंगो लाग्दा सुदूरपश्चिम र टियुले समान २–२ स्वर्ण जितेका छन् । मधेश प्रदेशले १ स्वर्ण जितेको छ । १० स्पर्धा समावेश एथलेटिक्सको बाँकी ५ स्पर्धाको फाइनल बिहीबार हुनेछ ।

विश्वविद्यालय खेलकुद प्रतियोगिताको टेबलटेनिस प्रतियोगितामा त्रिभूवन विश्वविद्यालयलाई दुई स्वर्ण प्राप्त भएको छ । महिला तथा पुरुष डबल्समा त्रिभुवन विश्वविद्यालयका टिमले स्वर्ण जितेका छन् । महिला डबल्समा सिक्का सुवाल र दिया देउलाको टिमले काठमाडौंको सुजाता पौडेल र स्वस्ती प्रधानको जोडीलाई पराजित गरेको हो । यस्तै पुरुष डबल्समा शिर्दाथ तामाङ र राजोजमान थाकुको टिमले गण्डकीको धनञ्जय दाहाल र अनुष कुँवरको टिमलाई पराजित गरेको हो । महिलामा पोखरा र गण्डकी तथा पुरुषमा काठमाडौं र पूर्वाञ्चल विश्वविद्यालय तृतीय भएका छन् ।
गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा परिषद्का सदस्य तथा कार्यक्रम संयोजक डा. मधुसूदन सुवेदीले समेत आफ्ना भनाइ राखेका थिए ।

तपाईको प्रतिक्रिया