पोखराको ब्रान्ड अन्तर्राष्ट्रिय म्याराथन

धनबहादुर गुरुङ २०८१ फागुन ३ गते ५:१९

पोखर । २०५८ फागुन ७ गते पहिलो प्रतियोगिता आयोजना गरेको पोखरा म्याराथनले धेरै आररोह अवरोह पार गर्दैछ । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा भएको प्रतियोगिताको प्रथम संस्करणमा ५६ जनाले भाग लिए । त्यो बेला त्रिभुवन आर्मी क्लबका खिमु गिरी प्रथम बने । धावक गिरी ४२.१९५ किमीको दूरी २ घण्टा २६ मिनेट ४२ सेकेन्डमा गर्दै त्यो बेला ५० हजार रुपैयाँ पुरस्कार हात पारे ।

Advertisement

खिमले पार गरेका त्यो दूरीले पोखरा म्याराथनको दौड अझै लम्ब्यायो । ‘पहिलो म्याराथनमै अनेकन चुनौती सामाना गर्नुपर्यो । एक त ४२ किलोमिटरको दौडसँगै बजार परिक्रमा गर्नु आफैँमा चुनौतीपूर्ण काम थियो,’ संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाटले सम्झिए, ‘पोखराबाट सुरु भएको दौड लेखनाथ पुग्दा केही झमेलामा पर्यो । यत्रा मान्छे बजारमा उतारेर के गर्न खोजेको होला पनि भन्न भ्याए ।’ स्थानीयवासीको नमिठो भनाइ, सुरक्षा, ट्राफिक चुनौतीलगायत समस्या चिर्दै पहिलो संस्करण सकिएको संस्थापक अध्यक्ष रानाभाटले बताए ।

सुरुआती समयको केही वर्ष राष्ट्रिय वाणिज्य बैंकको टाइटलमा म्याराथन भयो । नवौँ पोखरा म्याराथनमा गैरआवासीय नेपाली संघ (एआरएनए) जोडियो र एआरएनए पोखरा म्याराथनकै नामबाट प्रतियोगिता भयो । सोही समयमा म्याराथनलाई आकर्षक बनाउन उमेर समूह र पत्रकारलाई पनि सहभागी गराएको मञ्चका पूर्वअध्यक्ष तेजबहादुर गुरुङले बताए । आठौँ संस्करणबाट १० किलोमिटर र पाँच किलोमिटरको दौड पनि समावेश भयो । नवौँबाट ‘रन फर फन’ का नामबाट दौडन इच्छुक सबैलाई सहभागी गराएको उनले बताए ।

नवौँ गरेपछि एआरएनएले प्रायोजकबाट साथ छोडेको गुरुङले सम्झिए । सो समयमा जनप्रतिनिधि नभएकाले कर्मचारी छिनछिनमा परिवर्तन भइरहने कारण आर्थिक सहयोग प्राप्त हुने ठाउँबाट नपाएको उनको गुनासो छ । संस्थालाई आर्थिक संकट पर्दै जान थाल्यो । आर्थिक अभावकै कारण द्वन्द्व र जनआन्दोलका बीचमा पनि नरोकिएको पोखरा म्याराथन २०६७ पछि भने रोकियो । त्यो बीचमा मञ्चले केही न केही खेल गतिविधि गरिरहेको संस्थाका पूर्वअध्यक्ष गुरुङले जानकारी दिए । म्याराथन रोकिरहेको केही वर्षपछि संस्थाले लक्ष्मी ग्रुपको सफल दूधलाई प्रायोजकका रुपमा पाएको उनले बताए ।

२०६७ सालदेखि रोकिएको म्याराथन २०७२ देखि सफल पोखराको नामबाट फेरि सुरु भयो । त्यसपछिका संस्करणको पोखरा म्याराथनमा सफल दूधले नै प्रायोजन गरिरहेको अध्यक्ष गुरुङले जानकारी दिए । म्याराथनको १२औँ संस्करणबाट अपाङ्गहरुका लागि भनेर दृष्टिविहीन र ह्विल चियर दौड पनि समावेश गरेको उनले बताए ।

Advertisement

१४औँ संस्करणमा विदेशी धावकले उपाधि जितेपछि म्याराथनको चर्चा झनै चुलिएको संस्थाका पुर्वअध्यक्ष हरिप्रसाद पराजुलीले बताए । ‘त्यो संस्करणमा जापानका ताकानासीले उपाधि जित्नुभएको थियो । त्यसपछि पोखरा म्याराथनको थप चर्चा हुन थालेको हो,’ पूर्वअध्यक्ष पराजुलीले भने, ‘त्यसपछि १५औँ संस्करणबाट महिलाहरुका लागि मात्र २१ किलोमिटरको हाफ म्याराथन पनि समावेश गरिएको छ ।’

१५औँ संस्करणमा कोरोनाका कारण विदेशी सहभागी भएनन् । १६औँ संस्करणमा पुनः विदेशी खेलाडीले उपाधि जितेको पूर्वअध्यक्ष पराजुलीले जानकारी दिए । सो संस्कणमा केन्याका धावक स्टेफेन कोस्गेई प्रथम र केन्याकै धावक सिमोन किप्लागट दोस्रो भएका थिए । यसले झनै पोखरा म्याराथनको महत्व र चर्चा बढेको थियो । विदेशी धावकहरु पनि सहभागी हुन थालेसँगै पोखरा म्याराथनले अन्तर्राष्ट्रिय मान्यता पाएको छ ।

लामो समयको प्रयास र प्रक्रियापछि पोखरा म्याराथनले एसोसिएसन अफ इन्टरनेसनल म्याराथन सोसाइटी (एम्स) को सदस्यता पाएको नेपाल भूतपूर्व खेलाडी मञ्च दिलबहादुर गुरुङले जानकारी दिए। पोखरा म्याराथन नेपालबाट एम्समा दर्ता हुने दोस्रो प्रतियोगिता बनेको उनले बताए । ‘पोखरा म्याराथन एम्समा दर्ता हुने ४०औँ प्रतियोगिता बनेको छ । नेपालमा भने दोस्रो हो’, उनले भने, ‘प्रक्रिया हामीले पहिला सुरु गरेका हौँ । तर नेपालगञ्जले हामीले भन्दा दुई दिनअगाडि सदस्यता पाएको हो ।’ एम्समा दर्ता भएपछि पोखरा म्याराथन अन्तर्राष्ट्रिय बाटोमा हिँडेको उनको भनाइ थियो । यसले गर्दा पोखरा म्याराथन विश्वले चिनिरहेको उनले बताए ।

‘विगत दुई वर्षदेखि चिप्सको प्रयोग गर्दै आएका छौं,’ अध्यक्ष गुरुङले भने, ‘खुला म्याराथन र महिला हाफ म्याराथनमा चिप्सको प्रयोग गरी खेलाडीको दौडको समयलाई निश्चित गरेको छ भने यसको प्रयोगले नेपाली र विदेशी धावकलाई समेत हौसला तथा निर्णायकलाई सहज बनेको छ ।’ धरान रनका परिकल्पनाकार तथा नेपाल रन युकेका अध्यक्ष सन्तोष राईले चिप्स जडानपश्चात पोखरा म्याराथनको वेबसाइटमा धावक रहेको स्थान र परिणाम तत्कालै हेर्न सकिने बताए ।

मञ्चको आयोजनामा शनिबार सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन हुँदै छ । मञ्चले यसपल्ट ‘पोखरामा नियमित अन्तर्राष्ट्रिय हवाई उडानका लागि दौडौं’ भन्ने नारालाई अघि सारेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयसम्म पनि व्यावसायिक रुपमा अन्तर्राष्ट्रिय उडान नभएकाले प्रतियोगिताका मार्फत सम्बन्धित निकायमा दवाव सिर्जनाका लागि यो नारालाई अघि सारेको छ । म्याराथनमा विदेशी खेलाडीको आकर्षण बढ्दै गएकाले पनि उनीहरुलाई सिधैं पोखरा आउन सहज हुने मञ्चका पदाधिकारीहरुको तर्क छ ।

अध्यक्ष गुरुङले यस वर्ष म्याराथनमा विभिन्न १४ विधामा दौड हुने जानकारी दिए । खुला म्याराथन ४२.१९५ किमी, गण्डकी प्रदेशस्तरीय खुला म्याराथन ४२.१९५ किमी दौड, हाफ म्याराथन महिला÷पुरुष दौड २१.०९७ किमी, महिला÷पुरुष १० किमी दौड, विद्यालयस्तरीय छात्र÷छात्रा ५ किमी दौड, ५० वर्षभन्दा माथि ५ किमी भेट्रान्स महिला÷पुरुष दौड हुनेछन् । सबै सहभागी हुन मिल्ने गरी दौडिनुपर्ने सन्देश दिन ‘रन फर फन’ विधा पनि समावेश छ । पोखरा म्याराथनअन्तर्गत नै गत माघ २६ मा महिला/पुरुष ह्विलचियर तथा दृष्टिविहीन महिला÷पुरुष दौड सम्पन्न भइसकेको छ ।

खुल्ला ४२.१९५ किमी म्याराथनमा पहिलो हुने धावकले ५ लाख, दोस्रोले ३ लाख र तेस्रोले २ लाख रुपैयाँ पाउनेछन् । सान्त्वना स्वरुप चौंथोले ३० हजार, पाँचौंले २५ हजार, छैटौंले २० हजार, सातौंले १५ हजार र आठौंले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । आयोजकले खुला म्याराथनतर्फ गण्डकी प्रदेशका धावकलाई प्रोत्साहन गर्न छुट्टै पुरस्कारको व्यवस्था गरेको छ । प्रतियोगितामा पुरस्कार राशिमा मात्रै २१ लाख ३४ हजार रुपैयाँ खर्च हुने र म्याराथनको सम्पूर्ण खर्च १ करोड ८९ हजार रुपैयाँ अनुमान गरिएको अध्यक्ष गुरुङले बताए । खुल्ला म्याराथनमा २१ देशका ८० विदेशीसहित १ सय ५० धावक सहभागी हुँदैछन् । तीमध्ये ८ जना महिला छन् ।

हाफ म्याराथनमा महिलातर्फ १० देशका ४० जना, पुरुषतर्फ १० विदेशीसहित १ सय १० जना, १० किमी पुरुषतर्फ ११ देशकासहित २ सय ११ जना, १० किमी महिलातर्फ ११ विदेशीसहित १ सय ९ जना, ५ किमी भेट्रान्स (५० वर्ष) पुरुष र महिलातर्फ गरी ६० जना, ५ किमी छात्रतर्फ १ हजार ४ सय ७० तथा छात्रातर्फ १ हजार २५ जना गरी कूल ३ हजार १ सय ७५ जना दर्ता भएका छन् ।

धनबहादुर गुरुङ

डेढ दसकदेखि पत्रकारितामा क्रियाशील गुरुङ समाधान दैनिक र समाधानन्युज डटकमका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया