तारामा लेते, आर्चरीतर्फ सञ्चित प्रथम

जोमसोम ।
फागुपूर्णिमा तथा तोरन्ल पर्व विशेष अवसरमा आयोजित परम्परागत धनुषवाण (तारा) प्रतियोगिताको उपाधि मुस्ताङको थासाङ–३ लेतेले जितेको छ । थासाङ गाउँपालिकाद्वारा आयोजित प्रथम गाउँस्तरीय धनुषवाण (तारा) प्रतियोगितामा थासाङ–५ ताक्लुङलाई पछि पार्दै लेतेले उपाधि हात पारेको हो ।
प्रतियोगिताको उपाधिसँगै लेतेले नगद एक लाखमा करकट्टी गरी पचहत्तर हजार रुपैयाँसहित शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त ग¥यो । उपविजेता बनेको ताक्लुङले नगद ६६ हजार ६ सय ६६ रुपैयाँमध्ये करकट्टी गरी ४९ हजार ९ सय ९९ रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो ।
यसैगरी, प्रतियोगिताको तृतीय स्थान हासिल गरेको थासाङ–३ धुप्पुले नगद ३३ हजार ३ सय ३३ रुपैयाँमध्ये करकट्टी गरी २४ हजार ९ सय ९९ रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र जित्यो । सान्त्वना पुरस्कार थासाङ–५ कुञ्जोले प्राप्त गर्यो । उसले नगद २० हजार रुपैयाँमध्ये करकट्टी गरी १५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र हात पार्यो ।
फागुपूर्णिमा तथा तोरन्ल पर्व विशेष अवसरमा आयोजित आधुनिक आर्चरी प्रतियोगितामा थासाङ गाउँपालिका–२ कोवाङका खेलाडी सञ्चित शेरचन प्रथम भएका छन् । उनले नगद १६ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । थासाङ–४ घाँसाका सन्तोष पुन मगर दोस्रो भए भने उनले नगद १० हजार ६ सय ६६ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । तृतीय स्थान हासिल गरेका थासाङ–३ लेतेका सर्केट पुर्जाले नगद ५ हजार ३ सय ३३ रुपैयाँसहित मेडल र प्रमाणपत्र पाए ।
थासाङ गाउँपालिकाले स्थानीय धर्म, संस्कृति र परम्परा जोगाउन चालु वर्षदेखि परम्परागत धनुषवाण (तारा) तथा आधुनिक आर्चरी प्रतियोगिता आयोजना गरेको हो । बिहीबारदेखि सुरु भएको तोरन्ल पर्व विशेष प्रतियोगिता अन्तर्गत धनुषवाण (तारा) १३ डोरमा र आर्चरी ७ डोरको आधारमा सम्पन्न भएको थियो । प्रतियोगितामा थासाङ गाउँपालिका अन्तर्गतका १३ गाउँमध्ये ११ गाउँको सहभागिता रहेको थियो । प्रतियोगिता संयोजक तथा थासाङ–४ का वडाध्यक्ष नरेन्द्र शेरचनले सो जानकारी गराएका छन् ।
प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडीहरूलाई गण्डकी प्रदेशका सांसद विकल शेरचन, थासाङ गाउँपालिका अध्यक्ष प्रदीप गौचन, प्रमुख प्रशासकीय अधिकृत विकास परियार र थाक खेलकुद तथा सांस्कृतिक विकास संघ मुस्ताङका अध्यक्ष कृष्णकुमार शेरचनले नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।
परम्परागत धनुषवाण (तारा) खेललाई हिमाली संस्कृतिको अभिन्न अंशका रुपमा लिने गरिन्छ । परापूर्व कालमा हिमाली क्षेत्रमा बसोबास गर्ने थकाली समुदायका मानिसहरुले शिकार खेल्न प्रयोग गर्ने घरेलु हतियार नै अहिले धनुषवाण (तारा) खेलको रुपमा विकसित भएको हो । मुस्ताङका थकाली, गुरुङ र विष्ट समुदायका मानिसहरुले आफ्ना महत्वपूर्ण चाडपर्वमा मनोरञ्जन तथा सांस्कृतिक परम्पराअनुसार परम्परागत धनुषवाण (तारा) खेल्ने गरेका छन् ।
तपाईको प्रतिक्रिया