चराङ विमानस्थल डिपिआर सुरु

समाधान संवाददाता २०७६ कार्तिक २४ गते १४:०९

एसके थकाली
जोमसोम

उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका १ चराङमा प्रस्तावित विमानस्थलको डिपिआर सर्भे सुरु भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड््यन मन्त्री योगेश भट्टराई चराङबाट फर्किएको २ सातामै विमानस्थलको डिपिआर थालिएको हो ।

यो विमानस्थल समुन्दी सतहदेखि करिब ४ हजार मिटरमा छ । डिपिआरका लागि संस्कृति पर्यटन तथा नागरिक उड््यन मन्त्रालयले २ प्राविधिक चराङ पठाएको मुस्ताङका सांसद प्रेमप्रसाद तुलाचनले जानकारी दिए । विमानस्थलको डिपिआर, लोकेसन अध्ययन र जग्गा नापजाच गर्न मन्त्रालयले आइएफआइडी कल्सल्टेन्सीबाट सिभिल इन्जिनियर नरेश सिवाकोटी र प्रकाश श्रेष्ठलाई चराङ खटाएको हो । टोलीले शनिबारदेखि बिमानस्थलको डिपिआर सुरु गरेको लोघेकर दामोदरकुण्डका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले बताए ।

Advertisement

चराङ विमानस्थलका लागि गत वर्ष पर्यटन मन्त्रालयले प्रारम्भिक सर्भे गरेको थियो । अहिले विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार गर्ने उद्देश्यले सम्भाव्यता अध्ययन गर्न प्राविधिक टोली उपल्लो मुस्ताङ पुगेको हो । यसका लागि ३ दिन सर्भे गरिने सिभिल इन्जिनियर नरेश सिवाकोटीले जानकारी दिए । ‘विमानस्थलको अध्ययन सुरु गरेका छौं । ३ दिन लगातार जग्गाको भूगोल र प्राविधिक पक्ष अध्ययन गर्छौ,’ उनले भने, ‘यहाँबाट फर्किएपछि डिपिआर बनाउने काम हुन्छ । ३ देखि ६ महिनाभित्र डिपिआर सार्वजनिक हुन्छ ।’ विमानस्थलको रनवेको क्षेत्रफल र त्यसवरपरको क्षेत्रको समेतको अध्ययन गरी उपयुक्त स्थान छनोट गरिने उनले उल्लेख गरे ।

अध्ययनका लागि प्राविधिक टोलीसहित गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्ट, स्थानीय जनप्रतिनिधि र गाउले खटिएका छन् । चराङमा ठूला र समथर खुला जग्गा भएकाले विमानस्थलको सम्भावना देखिएको हो । विमानस्थल अध्ययन र निरीक्षणका क्रममा चराङ पुगेका मन्त्री भट्टराईले विमानस्थल बन्ने कुरामा दुई मत नभएको बताएका थिए । उनले संसारका अग्ला ठाउँमा समेत विमानस्थल निर्माण भइसकेको उदाहरण दिँदै चराङमा विमानस्थल बनाउन वाधक पक्ष नरहेको जनाएका थिए ।

Advertisement

सरकारले उत्तरी तिब्बत र दामोदरकुण्ड धार्मिक स्थललाई लक्षित गरी विमानस्थल निर्माण गर्न लागेको हो । उपल्लो मुस्ताङ कृषि, पशुपालन र पर्यटनको सम्भावना बोकेको क्षेत्र पनि हो । चिसो मरुभूमिमा हुर्काइएका पशु र कृषिजन्य उत्पादनको उचित बजारीकरणका लागि हवाइ सेवा उपयुक्त माध्यम बन्ने विश्वास लिइएको छ । उपल्लो मुस्ताङमा थुपै प्राकृतिक संम्पदा, वन्यजन्तु र जटिबुटी पाइन्छन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षित क्षेत्रको निषेधित तथा नियन्त्रित क्षेत्र उपल्लो मुस्ताङ घुम्न विदेशी पर्यटकले ५ सय डलर रोयल्टी तिनुपर्छ । बर्सेनि १ हजार विदेशी उपल्लो मुस्ताङ भ्रमण गर्न आउने एक्यापको रेकर्ड छ । उपल्लो मुस्ताङबासी पर्यटकको रोयल्टी बढी भएकाले पर्यटक कम आउने गरेको गुनासो गर्छन् । उनीहरुले रोयल्टी घटाउनसमेत माग गरिरहेका छन् ।

उपल्लो मुस्ताङको समृद्धि र विकासका लागि हवाइ सेवा आवश्यक भएको गण्डकी प्रदेशका सांसद इन्द्रधारा बिष्टको बताउँछन् । उनले सरकारले पर्यटन विकासका लागि विमानस्थल निर्माण र उत्तरी कोरलानाका खोल्न सडक विस्तार गरिरहेको बताए । संघीय र प्रदेश सरकारले नाका आसपासका क्षेत्रमा विद्युत र सञ्चारका पूर्वाधार निर्माण र नाकाका लागि चाहिने भन्सार लगायत सुरक्षा प्रबन्ध गर्ने तयारी गरेको जनाए ।

क्याप्सन ः
उपल्लो मुस्ताङको चराङमा प्रस्तावित विमानस्थलको डिपिआर बनाउन खटिएको प्राविधिक टोली ।
तस्विर सौजन्य ः टसी ढुन्डुक ठकुरी

तपाईको प्रतिक्रिया