दोहोरी गीतको केन्द्रीय समितिमा ५५ सदस्यीय

समाधान संवाददाता २०७६ मंसिर ६ गते १२:४८

समाधान संवाददाता
पोखरा

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले प्रतिष्ठानमा सवै कलाकारलाई समेट्न केन्द्रीय समिति बढाउने तयारी गरेको छ । पोखरामा गर्न लागेको सातौं महाधिवेशनमा प्रतिष्ठानले ५५ सदस्यीय केन्द्रीय सदस्य बनाउन लागेको हो । अहिलेसम्म प्रतिष्ठानको केन्द्रीय समिति ४५ सदस्यीय रहेको छ ।

प्रतिष्ठानका केन्द्रीय अध्यक्ष तथा महाधिवेशन मुल आयोजक समितिका संयोजक बद्री पंगेनीले प्रतिष्ठानमा सवै कलाकारको प्रतिनिधित्व होस् भनेर केन्द्रीय समिति ठूलो बनाउन लागेको बताए । ‘प्रतिष्ठानमा सवै कलाकार अटुन् र सबैले अपनत्व गरुन् भनेर केन्द्रीय समिति ठूलो आकार बनाउन लागेका छौं,’ अध्यक्ष पंगेनीले भने, ‘कोही पनि कलाकार बाहिर नपरुन् भनेर केन्द्रीय समितिको संख्या बढाउन लागेको हो ।’

Advertisement

प्रतिष्ठानको केन्द्रीय समिति बढाउन विधानको संशोधन गर्न लागेको जानकारी दिँदै अध्यक्ष पंगेनीले प्रतिष्ठानका पूर्व अध्यक्ष दुर्गा रायमाझीको संयोजकत्वमा टिम बनेको बताए । ‘हाम्रो अभियान, अग्रजलाई सम्मान नवप्रतिभालाई प्रोत्साहन’ भन्ने नाराका साथ मंसिर ६, ७ र ८ गते हुने महाधिवेशनलाई ऐतिहासिक बनाउने प्रतिष्ठानको दावी छ ।

महाधिवेशनमा मुलुकका ५८ जिल्ला, काठमाडाैं उपत्यका समन्वय समिति सहित ७ प्रदेश र ८ देशका गरी १ हजार ३ सय १० प्रतिनिधिको सहभागिता रहने छ ।

Advertisement

महाधिवेशन गर्न करिब ७६ लाख खर्च लाग्ने अनुमान गरिएको छ । प्रतिनिधि शुल्क र प्रतिष्ठानको गण्डकी प्रदेशको आन्तरिक व्यवस्थापनमा महााधिवेशन गरिने अध्यक्ष पंगेनीले बताए । महाधिवेशनको सन्दर्भमा शुक्रबार पोखराको चिप्लेढुंगाबाट सांस्कृतिक झाँकी सहितको र्‍याली महेन्द्रपुल नयाँबजार हँुदै पोखराको प्रदर्शनी केन्द्रमा पुगी उद्घाटन समारोहमा परिणत हुने छ । महाधिवेशनको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्ने छन् । महाधिवेशनको बन्दसत्र र निर्वाचन कार्यक्रम पोखरा सभागृहमा हुने अध्यक्ष पंगेनीले जानकारी दिए ।

प्रतिष्ठानको अध्यक्षको लागि वरिष्ठ उपाध्यक्ष रमेश बिजी र लोक गायक विष्णु खत्रीले उमेद्वारी घोषणा गरेका छन् । सहमतिको लागि ४ महिनादेखि प्रयास गरेता पनि सफल नभएको अध्यक्ष पंगेनीले जनाए । प्रतिष्ठानले निर्वाचनलाई निश्पक्ष बनाउनका लागि फोटोसहितको मतदाता परिचयपत्रको व्यवस्था गरेको छ ।

महाधिवेशनमा पूर्व अध्यक्ष एवं कलाकार कल्याणकारी कोषका परिकल्पनाकार दुर्गा रायमाझीलाई अग्रज श्रष्टा सम्मान गरिने छ । लोकदोहोरी गायिका लक्ष्मी सुवेदीलाई नारायण पाण्डे स्मृति सम्मान र पत्रकार हेमराज अधिकारीलाई सम्मान गरिने कार्यक्रम छ । प्रतिष्ठान गण्डकी प्रदेशका अध्यक्ष सुरेन्द्र गुरुङले सातौं महाधिवेशनलाई एकताको तथा उत्कृष्ट र भव्य बनाउने दावी गरे । प्रतिष्ठान गण्डकी सचिव राजन कार्कीले प्रतिष्ठानको संस्थागत विकास र कलाकारको हकहितमा महाधिवेशन केन्द्रित हुने बताए ।

तपाईको प्रतिक्रिया