वैदेशिक रोजगारमा ३० हजार ठगी मुद्दा

समाधान संवाददाता २०८२ जेठ १८ गते १४:१३

पोखरा ।
वैदेशिक रोजगार विभाग काठमाडौंले वैदेशिक रोजगार व्यवसाय सञ्चालन इजाजतपत्र वाला संस्थाको पोखरा क्षेत्रमा सञ्चालित शाखा कार्यालयका प्रमुख तथा कर्मचारीलाई वैदेशिक रोजगारसम्बन्धी कानुनबारे अभिमुखीकरण गरेको छ ।
श्रम तथा रोजगार कार्यालय पोखराको समन्वयमा भएको कार्यक्रममा विभागका निर्देशक टीकाराम ढकालले अहिलेसम्म विभागमा वैदेशिक रोजगारीको क्रममा भएका ३० हजार ठगीका मुद्दा परेको जानकारी दिए । उनले विभागमा वैदेशिक रोजगारीको क्रममा संस्थागत र व्यक्तिका ठगीका उजुरी पर्ने बताए ।


‘१० महिनाको अवधिमा वैशाखसम्ममा विभागमा ४ हजार ४ सय उजुरी परेका छन्,’ उनले भने, ‘नियमनकारी निकायको रुपमा रहेको विभागले वैदेशिक रोजगारीको शिलशिलामा जोखिममा परेका व्यक्तिलाई राहत र उद्धारको काम गर्छ ।’ उनले विभागमा वैदेशिक रोजगारीसम्बन्धी न्यायधिकरणको व्यवस्था भएको बताए ।


जिल्ला प्रशासन कार्यालयले मेल मिलापसम्बन्धी मुद्दा हेर्ने उल्लेख गर्दै उनले व्यक्तिगत ठगीका मुद्दामा प्रमाण नहुने जनाए । उनले बर्सेनी वैदेशिक रोजगारीको शिलशिलामा १ हजार ४ सय जनाको मृत्यु हुने उल्लेख गरे । पछिल्लो १ महिनाको अवधिमा विभागका ७८ हजार जनाले श्रम स्वीकृति लिएको जानकारी दिँदै उनले १ दिन भित्र श्रम स्वीकृति दिने व्यवस्था मिलाएको सुनाए ।

Advertisement


उनले विभागले वैदेशिक रोजगार सञ्चालन इजाजतपत्र वाला संस्थाको अनुगमन गरेको जनाए । विभागका शाखा अधिकृत तोरण पराजुलीले वैदेशिक रोजगारीको क्षेत्रलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनुपर्नेमा जोड दिए । वैदेशिक रोजगारसम्बन्धी भ्रमपूर्ण विज्ञापनलाई विभागले रोक्ने प्रयास गरेको जानकारी दिदै उनले भ्रमपूर्ण विज्ञापन गर्नेलाई ५० हजार जरिवाना गर्न सक्ने बताए ।


शैक्षिक परामर्श, भाषा प्रशिक्षण केन्द्र, ट्राभल्स एजेन्सीका नाममा समेत मेनपावरको काम भएको दाबी गर्दै उनले त्यस्ता निकायलाई विभागले नचिन्ने जनाए । पछिल्लो अवधिमा ती निकायबाट ठगीका उजुरी बढी आएको जानकारी दिँदै उनले ती संस्थाबाट ४ हजारभन्दा बढी ठगी भएको भन्दै मुद्दा परेको जनाए ।

Advertisement

तपाईको प्रतिक्रिया