प्रदेश सभा सचिवालयका ३ कर्मचारी पुरस्कृत

समाधान संवाददाता २०८२ साउन ११ गते १९:०५

पोखरा ।

गण्डकी प्रदेश सभा सचिवालयले आफ्ना ३ जना कर्मचारीलाई पुरस्कृत गरेको छ । शुक्रबार आयोजित एक कार्यक्रममा सचिवालयका अधिकृत छैटौँ टिकाराम आचार्यलाई ‘उत्कृष्ट कर्मचारी पुरस्कार’ प्रदान गरिएको छ भने हलुका सवारी चालक बिस कुमार रोका मगर र कार्यालय सहयोगी रंजना वाग्लेलाई ‘कर्मचारी प्रोत्साहन पुरस्कार’ बाट सम्मानित गरिएको छ ।

गण्डकी प्रदेश सभाका सभामुख कृष्ण प्रसाद धितालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुरस्कार वितरण गरिएको हो । कार्यक्रममा प्रदेश सभाका उपसभामुख बिना कुमारी थापा तथा प्रदेश सभा सचिवालयका सचिव हरिराज पोखरेलको विशेष उपस्थिति रहेको थियो ।

Advertisement

गण्डकी प्रदेश सभा सचिवालय ऐन, २०७७ को दफा ६ को उपदफा (१) को खण्ड ञ र ट ले दिएको अधिकार प्रयोग गरी गण्डकी प्रदेश सभा सचिवालय संचालन तथा व्यवस्थापन समितिले हालै ‘गण्डकी प्रदेश सभा सचिवालयका कर्मचारीहरुलाई पुरस्कार प्रदान गर्ने सम्बन्धी कार्यविधि, २०८२’ बनाएको थियो । सोही कार्यविधिको दफा ४ र ५ मा व्यवस्था भए बमोजिम उत्कृष्ट कार्यसम्पादनका आधारमा कर्मचारीहरुलाई पुरस्कृत गरिएको सचिवालयले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया