गण्डकीका पूर्वप्रमुख गुरूङको देवघाटमा अन्त्येष्टि

चितवन – गण्डकी प्रदेशका पूर्वप्रमुख एवं नेपाली कांग्रेसका नेता पृथ्वीमान गुरूङको चितवनको देवघाटमा गुरूङ संस्कारअनुसार अन्त्येष्टि गरिएको छ । शनिबार निधन भएका ७६ वर्षीय गुरूङलाई सशस्त्र प्रहरीले सलामी अर्पण गरेपछि उनको अन्त्येष्टि गरिएको हो ।
लामो समयदेखि क्यान्सर रोगसँग संघर्षरत गुरूङको चितवनको भरतपुर महानगरपालिका–२६, दिव्यनगरस्थित आफ्नै निवासमा शनिबार निधन भएको थियो । अन्त्येष्टिअघि उनको निवासमा नेपाली कांग्रेसले पार्टीका तर्फबाट श्रद्धाञ्जली दिएको थियो । गुरूङको पार्थिव शरीरमा श्रद्धाञ्जली दिन कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरूङ चितवन पुगेका थिए । उनले गुरूङको निधनले कांग्रेसलाई मात्र नभई देशलाई नै क्षति पुगेको बताए । पार्टी कार्यालय कमलनगरमा श्रद्धाञ्जली अर्पण गरेपछि देवघाटमा अन्त्येष्टि गरिएको नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए ।

अन्त्येष्टिमा गण्डकीका कार्यवाहक मुख्यमन्त्री पद्मा जिसी श्रेष्ठ लगायत मन्त्रीहरु उपस्थित थिए । आइतबार बिहान प्रदेश मन्त्रिपरिषद्को बैठक बसेर पूर्व प्रदेश प्रमुख गुरुङको निधनमा शोक व्यक्त गरेको छ ।
कास्कीको ल्वाङघलेलमा २००६ सालमा जन्मेका गुरूङले चितवनलाई आफ्नो राजनीतिक कर्मभूमि बनाएका थिए । उनले २०७८ साउनदेखि २०७९ फागुनसम्म गण्डकी प्रदेशको प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेका थिए ।
गुरूङको निधनमा नेपाली कांग्रेस चितवनले तीन दिनसम्म जिल्ला र वडाका सबै पार्टी कार्यालय बन्द गर्ने निर्णय गरेको छ । आइतबार बिहान बसेको बैठकले सात दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय पनि गरेको सभापति खनालले बताए ।









निर्वाचन आउन ८२ दिन बाँकी, समानुपातिकतर्फ ९३ दललाई चुनाव चिह्न
भिजिट भिसा प्रकरणः सहसचिव भट्टराईसँग २५ लाख धरौटी माग, न्यायाधीशको राय बाझियो
राष्ट्र बैंकले मुद्दती निक्षेपमा साढे ७ अर्ब लगानी गर्दै
१६औँ गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड बागलुङमा हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया