पर्यटकको भेषमा ‘जघन्य अपराध’

सञ्जय रानाभाट २०८२ भदौ २ गते ६:१७

पोखरा ।

पोखरामा पछिल्ला वर्षहरूमा विदेशी नागरिकले ‘पर्यटक’ को भेषमा आएर नेपाली बालिका र युवतीलाई प्रलोभनमा पारी जबरजस्ती करणीदेखि बेचबिखनसम्मका अपराध गर्ने क्रम बढ्दै गएको छ । खासगरी चिनियाँ नागरिकहरू संलग्न हाम्रो सुरक्षा संवेदनशिलतामा झनै गम्भीर संकट ल्याएको छ । ०८२ जेठ ९ गते साँझ ७ बजे । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १६ बाटुलेचौरस्थित डेरामा बस्दै आएका ३४ वर्षीय चिनियाँ नागरिक पक्राउ परे । उनले १६ वर्षीया नेपाली बालिकालाई ‘विवाह गरी चीन लैजाने’ भन्दै पटक–पटक जबरजस्ती करणी गर्दै आएको पीडित बालिकाको जाहेरीमा उल्लेख छ । जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र पर्यटक प्रहरी कार्यालय बैदामको टोली खटिएर उनलाई नियन्त्रणमा लिएको थियो ।

यसअघि ०८१ साउन १३ गते पनि पोखराकै विन्ध्यवासिनी मन्दिरमा विवाहको नाटक गरेर चिनियाँ नागरिक जिमिङ चेनले १४ वर्षीय बालिकालाई चीन लैजान खोजेका थिए । ‘विवाहपछि सुन लगाइदिने, रोजगारी दिलाइदिने र चीनको स्थायी बसाइँ (पीआर) दिलाइदिने’ आश्वासन दिएका उनले विवाहकै रातमा लेकसाइडको होटलमा लगेर जबरजस्ती गर्न खोजेपछि ती बालिका भागेर प्रहरीमा उजुरी दिएकी थिइन् ।

Advertisement

०८१ साउन ३० गते पोखराकी २१ वर्षीय युवतीले अर्को चिनियाँसँग विवाह गरिन् । प्रहरीलाई युवती बेच्ने उद्देश्यले विवाह भएको सूचना पुगेपछि टोली खटिएको थियो । तर, युवतीले स्वयं ‘राजीखुसी विवाह गरेको’ बयान दिएकी थिइन् । जिल्ला प्रहरी कार्यालय कास्कीका एक अधिकृतका अनुसार ‘नाबालिका भएको खण्डमा मात्र प्रहरीले पक्राउ गर्न सक्थ्यो, तर कानुनी रूपमा उमेर पुगेकी युवतीले राजीखुसी विवाह गरेको भन्दाखेरि कारबाही भएन ।

नेपालबाट विवाहको नाममा चीन पुर्‍याइएकी धेरै नेपाली युवतीको अवस्था दुखद रहेको प्रहरी तथ्यांले देखाउँछ । उनीहरू चीन पुगेपछि परिवारसँग सम्पर्क टुट्ने, नेपाल फर्कन नसक्ने वा लामो समयपछि भागेर फर्किंदा ‘बेचिएको’ भनेर बयान दिने गरेका छन् । धेरैजसो युवती देहव्यापारमा धकेलिने गरेको प्रहरीले पुष्टि गरेको छ । यद्यपि, केही युवतीले सामान्य जीवन व्यतित गरेको तथ्य पनि पाइन्छ, तर त्यस्तो संख्या नगन्य छ ।

Advertisement

कास्की प्रहरीले संकलन गरेको पछिल्लो तथ्यांकले पर्यटकसँग जोडिएका अपराध र दुर्घटनात्मक घटनाको चित्रण स्पष्ट बनाएको छ । विशेषगरी यौन शोषण, जबरजस्ती करणी, अपहरण, मृत्यु, बेपत्ता र ओभरस्टे जस्ता घटनामा विदेशी नागरिकको संलग्नता देखिनु सुरक्षा चुनौतीको संकेत भएको प्रहरीको मुल्यांकन छ ।

तथ्यांक अनुसार विदेशी नागरिकबाट कास्कीमा मात्र आर्थिक वर्ष २०८१/८२ मा मानवबेचबिखन र जर्बजस्तीकरणीको आरोपमा ४ जना मुछिए । उनी मध्ये २ जना मानव बेचबिखन र २ जना जर्बजस्तीकरणीको आरोप छ । यो घटनामा एक जना इजिप्टिकी १ जना पीडित छन् । यस्तै यो वर्ष नै ४ जना चानियाँबाटै इजिप्ट, क्यानेडिएन, दक्षिण अमेरिक महिला जर्बजस्तीकरणीको सिकार बने । हालसालै चालु आर्थिक वर्ष एक चिनियाँ नागरिक जबजस्तीकरणीको आरोपमा पक्राउ परेका छन् ।

यसरी विदेशी पर्यटकको भेषमा नेपालका आर्थिक सामाजिक र कानुनी पाटोमा गम्भीर समस्या देखाएको कास्की प्रहरीका डिएसपी हरिबहादुर बस्नेतले पर्यटन सुरक्षा सम्बन्धी कार्यक्रममा बता । ‘पर्यटकको नाममा नेपाल भित्रिएका केही विदेशीले अपराध गर्दै आएका छन् । विवाहको प्रलोभन देखाएर नेपाली चेलीलाई बेच्ने, जबरजस्ती करणी गर्ने र मानव तस्करीमा संलग्न हुने प्रवृत्ति बढेको छ । प्रहरी यसतर्फ कडाइका साथ अनुसन्धान र कारबाही गरिरहेको छ ।’

अर्कोतर्फ नेपालमा ओभरस्टे गरी नेपाल बस्ने विदेशीको संख्या पनि वृद्धि भइरहेको छ । उनीहरु कुनै न कुनै अपराधिक क्रियाकलापमा संलग्न हुँदै आएको प्रहरीको तथ्यांकले देखाएको छ ।

यसरी ओभरस्टे गरेर बस्नेलाई नेपाल सरकारले आर्थिक २०८०÷८१ मा १३ जना (कंगो, बेलायत, चिली, कोस्टारिका, क्यानडा, जर्मनीलगायतका नागरिक) लाई डिपोर्ट गरिएको थियो भने आर्थिक वर्ष ०८१/८२ मा ३ जना (युके, स्पेन र चीनका नागरिक) लाई नेपालबाट निकालिएको थियो ।

पर्यटनलाई आर्थिक मेरुदण्ड मानिएपनि विदेशी पर्यटककै भेषमा हुने यस्ता अपराधले नेपाली चेली मात्र होइन, मुलुककै पर्यटन छविलाई कलंकित बनाइरहेको छ । ग्रामीण क्षेत्रका विपन्न परिवारका बालिका र युवती अझै पनि ‘रोजगारी’ र ‘वैदेशिक अवसर’ को लोभमा परिरहेका छन् ।

विवाहको नाममा हुने मानव तस्करी नियन्त्रणका लागि प्रहरी सतर्क भए पनि दीर्घकालीन समाधानका लागि सरकारी संयन्त्र, समाज र परिवार सबैले भूमिका निर्वाह गर्नुपर्ने कास्की प्रहरीका एसपी श्यामबाबु ओलियाले बताए । उनका अनुसार सुरक्षा संवेदनशीलतामा अझ बलियो बनाइनु जरुरी छ, नत्र यस्ता जघन्य अपराधहरूले पर्यटन विकासको सपना नै धरापमा पार्नेछ ।’

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया