लामाचौरमा तीज महोत्सवको तयारी

समाधान संवाददाता २०८२ भदौ ४ गते १०:५३

पोखरा ।
नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स), लामाचौरको आयोजनामा २७ औं संस्करणको ‘लामाचौर तीज महोत्सव २०८२’ हुने भएको छ । संस्थाको २९ औं वार्षिक समारोह एवं तीज अवसरमा भदौ ८ देखि १० गतेसम्म लामाचौरको ईन्द्रराज्यलक्ष्मी मावि प्रांगणमा सो महोत्सव हुन लागेको हो ।


मंगलबार भएको पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष दिनेश भण्डारीले संस्कृतिको जगेर्ना एवं खेलकुदको विकास गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको बताए । ‘मौलिक संस्कृतिको जगेर्ना गरौं’ भन्ने उद्घोषका साथ आयोजित महोत्सवको मुख्य आकर्षण लामाचौर कप भलिबल प्रतियोगिता हो । यसबाहेक तीज गीत प्रतियोगिता, अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता हुने छन् ।


पुरुष भलिबल विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीलाई १० हजार दिइनेछ । अन्तर मावि छात्रा भलिबल विजेताले १ लाख र उपविजेताले ५० हजार तथा सर्वोत्कृष्ट खेलाडीले ५ हजार प्राप्त गर्ने छन् ।

Advertisement


तीज गीतमा प्रथमलाई ५० हजार, दोस्रोलाई ३० हजार, तेस्रोलाई २० हजार र सान्त्वनालाई १० हजारका साथै सहभागी टिमलाई प्रोत्साहन स्वरुप २ हजार दिइनेछ । लोक नृत्यमा प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः ४०, २५ र १५ तथा सान्त्वना ३ टिम तथा उत्कृष्ट भेषभूषालाई ५ हजार दिइनेछ ।


महोत्सवमा औद्योगिक तथा व्यापारिक ५० स्टल, बालउद्यान, स्रष्टा सम्मान, कलाकारको दैनिक प्रस्तुति लगायत विविध मनोरञ्जनात्मक एवं सांस्कृतिक कार्यक्रम हुने अध्यक्ष भण्डारीले जानकारी दिए । लोकदोहोरी कलाकारहरु प्रकाश दूतराज, जानकी तारामी मगर, रीता थापामगर, शिव हमाल, श्रीदेवी देवकोटा, दीपक खड्का, प्रजापति पराजुली, रामजी पौडेल, माया गुङ, लक्ष्मी नेपाली लगायतको प्रस्तुति हुने प्रचारप्रसार संयोजक विष्णुप्रसाद गौतमले बताए ।

Advertisement


महोत्सव गर्न ४५ लाख खर्च हुने आयोजकको अनुमान छ । महोत्सवबाट बचत रकम आकस्मिक सेवा तथा तीज महोत्सव संचालन कोष वृद्धिमा थप गरिने अर्थ संकलन उपसमिति संयोजक कमल थापाले बताए । २०५४ मा पहिलोपल्ट लामाचौर मेला आयोजना गरेको संस्थाले एम्बुलेन्स, शववाहक सञ्चालन गर्नुका साथै गोस्तेघाटमा फुटबल मैदानसमेत निर्माण गरेको छ ।


कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष स्वागतमान सिंह भण्डारी, नवीन भण्डारी, बुद्धिबहादुर खत्री क्षत्री, प्रचारप्रसार संयोजक विष्णुप्रसाद गौतम, द्वितीय उपाध्यक्ष हरिबहादुर थापा र सचिव शोभा बानियाँले बोलेका थिए ।


लामाचौरको सरस्वती आदर्श विद्याश्रमले आयोजकलाई १० हजार सहयोग गरेको छ । प्राचार्य कृष्ण गुरुङले उक्त रकम अध्यक्ष भण्डारीलाई हस्तान्तरण गरेका हुन् । विद्यालयले बर्सेनि सहयोग गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया