आधुनिकताको चपेटोमा साउने टपरी

नेपाल भाषा, धर्म, संस्कृति, भूगोल र हावापानी सबै दृष्टिले बहुआयामिक देश हो । यहाँ बसोबास गर्ने विभिन्न जातजाति, धर्म र भूगोलका आधारमा हाम्रो समाज बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक छ । जसरी समयसँगै ऋतु र यामहरू बदलिरहन्छन्, त्यसरी नै हामीले मान्दै आएका चाडपर्व, परम्परा र संस्कृति पनि परिवर्तनशील छन् ।
नेपाली समाजले लगभग प्रत्येक महिना कुनै न कुनै चाडपर्व वा संस्कृति मनाइरहेको हुन्छ । यसरी हेर्दा वैशाखदेखि चैतसम्मका बाह्रै महिनामा कुनै न कुनै पर्व परिरहन्छ । आफ्नो समाज, जातजाति, धर्म र परम्पराअनुरूप चाडपर्वलाई ठूला वा सानाका रूपमा लिइन्छ । नेपाली समाजमा ठूला मानिएका दसैँ, तिहार, छठ, ल्होसार, उधौली–उभौली, साउने संक्रान्ति, तीज, ईद, माघे संक्रान्ति, चैते दसैँ, फागु पूर्णिमा, बुद्धजयन्ती आदि पर्वहरू पनि जाति, धर्म र परम्पराअनुरुप नै ठूला वा सानाका रूपमा स्वीकारिएका छन् । मानव विकासका चरणहरूलाई हेर्दा, सामूहिक शिकारी जीवनबाट पशुपालन र कृषि युगमा प्रवेश गरी पारिवारिक जीवनयापन सुरु भएपछि नै विभिन्न संस्कार र परम्पराको जग बसेको पाइन्छ ।
यिनै संस्कृति र परम्पराहरूको सूचीमा पर्ने एउटा परम्परा हो— साउने टपरी । विशेषगरी नेपालको मध्यपहाडी समाजमा निकै प्रचलित यो अत्यन्तै मौलिक र परम्परागत अभ्यास हो । माघ महिनादेखि नै नेपाली समाज कृषि कर्म अर्थात् खेतीपातीको लयमा होमिन्छ । माघे संक्रान्तिदेखि नै बर्खाको मौसमी मेलो सुरु भएको मानिन्छ । त्यसैले त नेपाली समाजमा एउटा भनाइ प्रचलित छः ‘माघे सङ्क्रान्ति मरिन्छ कि बाँचिन्छ भनेर मनाउने र साउने सङ्क्रान्ति अब बाँचियो भनेर मनाउने ।’
नेपालको विकास यात्रा धेरै लामो छैन । यद्यपि विकासको योजनाबद्ध खाका वि.सं. २०१३ देखि सुरु भएको हो । हालसम्म ९ वटा पञ्चवर्षीय र ५ वटा त्रिवर्षीय योजना कार्यान्वयन भइसकेका छन् र अहिले १५औँ योजना कार्यान्वयनमा छ । तर, ती विकासका खाका र योजनाका प्रारूपहरू हाम्रो समुदायस्तरमा पुग्न धेरै समय लाग्यो । अझै पनि तिनको प्रभावकारी कार्यान्वयनमा त प्रश्नचिह्न उठिरहेकै छ । हाम्रो समाजको भौतिक, आर्थिक, शैक्षिक, स्वास्थ्य, सूचना, सञ्चार र प्रविधिको विकाससँग साउने टपरी परम्परा पनि जोडिएको छ ।
के हो त साउने टपरी परम्परा?
साउन महिनामा माइतीले चेलीबेटी (छोरी वा दिदीबहिनी) लाई सम्झिएर मीठोमसिनो खानेकुरा बनाई टपरीमा पोको पारेर भेट्न जाने चलनलाई नै ’साउने टपरी’ भनिन्छ । हाम्रो मध्यपहाडका आर्य र मंगोल दुवै समुदायमा वर्षौंअघिदेखि यो चलन चल्दै आएको पाइन्छ । माइतीघरका आमाबाबा, वा उहाँहरू नभए दाजुभाइ र भाउजू–बुहारीले सेलरोटी, खीर, अनदीको लट्टे (चाम्रे), पुवा र माछामासु वा अचार–विचार पकाएर सालको पातको हरियो टपरीमा राखी भेट्न जाने चलन थियो/छ ।
हाम्रा मौलिक र आत्मीय परम्परामा आजकल धमिरा लाग्दै गएको छ । साउन महिनामा टपरीभरी कोसेली पोको पारेर आफ्ना छोरीचेलीलाई भेट्न जाने चलन प्रायः लोप भएको छ ।
‘बर्खाभरी दुःख गरेकी चेलीको स्वास्थ्य कस्तो होला? सञ्चो–बिसञ्चो के–कसो होला ? घाम–पानी केही नभनी काममा जोतिनुपर्ने बेला उसले के खाई होली ? मीठोमसिनो खान पाई कि पाइन होली?’ यस्तै यावत् प्रश्नहरूले माइतीको मन पिरोलिरहन्थ्यो । अहिलेको जस्तो सञ्चार सुविधा नभएको त्यो बेला, ‘हाम्री चेली जिउँदै छे कि छैन होली?’ भनेर सोच्नुपर्ने अवस्थासमेत थियो । त्यसैले, उतिबेला चेलीलाई सम्झिएर साउने भेल छिचोल्दै माइती भेट्न जाने परम्परा नै साउने टपरी हो ।
त्यसबेला यातायातको सहजता थिएन, खोलानालामा पुल थिएनन् । त्यसकारण चेलीबेटी छोटो समयमा सजिलै माइत जान सम्भव थिएन । जंगलको बाटो र उर्लिएका खोलानालाका कारण सुरक्षाको दृष्टिले महिलाहरू एक्लै यात्रा गर्न सक्ने अवस्था थिएन । सञ्चारका साधन नहुँदा सञ्चो–बिसञ्चोको खबर बुझ्न पनि सकिँदैनथ्यो । अहिलेको जस्तो सहज स्वास्थ्य उपचारको सुविधा नहुँदा कयौँ चेलीहरूले विभिन्न रोगले ज्यान गुमाउनुपर्ने बाध्यता थियो । मर्नु–बाँच्नुको अवस्था हुँदा पनि खबर पाउन दिनौं लाग्थ्यो । त्यसैले पनि बेलाबेला भेट्न गइरहनुपथ्र्यो ।
नयाँ पुस्तामा जिज्ञासा आउन सक्छ, ‘चेलीबेटी पनि त बेलाबेला माइत आए हुन्थ्यो नि?’ खासमा, त्यतिबेलाका घरपरिवार (सासूससुरा, श्रीमान्, देवर–जेठाजु) निकै कडा स्वभावका हुन्थे । बुहारीलाई सकेसम्म धेरै काममा लगाउने चलन थियो। त्यसकारण चेलीबेटीहरू हत्तपत्त माइत जान पाउँदैनथे । यस्ता अनेकौं अप्ठ्यारा परिस्थितिको सामना उनीहरूले गर्नुपथ्र्यो । त्यसैले माइतीहरू नै समय–समयमा आफ्ना छोरीचेली भेट्न जान्थे, लिन र पु¥याउन जान्थे । चाडपर्वमा, लामो समय बिरामी पर्दा वा सुत्केरी भएपछि माइतीबाट लिन–पुर्याउन जाने चलन सायद यिनै कारणले चलेको हो ।
लामो समय माइत जान नपाएका चेलीहरू एक किसिमको तड्पाइमा हुन्थे । ‘यताबाट माइती आउलान् कि उताबाट आउलान्’ भनेर कयौँ दिनसम्म बाटो हेरेर बस्थे । माइतीबाट टाढिएर बस्नुपर्दा उनीहरूलाई साह्रै न्यास्रो लाग्दो हो । त्यसैले त माइतीघर र माइती गाउँ उनीहरूलाई धेरै प्यारो लाग्थ्यो । त्यसै स्थापित भएको होइन यो उखान— ‘माइती देशको त कुकुर पनि प्यारो ।’
लामो समय माइती भेट्न नपाएका चेलीहरू आफ्ना दुखेसो र पीरमर्का घाँस–दाउरा र मेलापात गर्दा गीतमा पोख्थे। तीजका गीतमा छमछमी नाचेर पीडा भुल्ने प्रयास गर्थे ।
‘दाजुभाइ त्यही घरमा अटाए, एउटी छोरी नौ डाँडा कटाए…’
‘दाजुभाइलाई स्कुलमा पठायौ, म छोरीलाई नौ डाँडा कटायौ…’
‘…हटिदेऊ बादल, म हेरूँला माइतीको देश…’
‘म अभागी छोरी भई जन्मिँदा, प्यारो माइती छुट्यो अन्मिँदा…’
यस्ता बिरही भाकाहरू कति छन् कति ! ती सबै माइतीसँगको बिछोडमा छोरीचेलीको हृदयबाट प्रस्फुटित पीडा हुन् । हो, त्यतिबेलाको समाजमा चेली–माइती भेट्ने एउटा महत्त्वपूर्ण माध्यम थियो— साउने टपरी, जुन पछि गएर एउटा सुन्दर परम्पराका रूपमा स्थापित भयो ।
साउने भेल छिचोलेर, महिनौँदेखि माइतीको अनुहार देख्न नपाएर तड्पिएकी चेलीको आँगनमा जब माइती टुप्लुक्क झुल्किन्थे, चेलीका आँखामा खुसीका भेल उर्लिन्थे । माइती–चेलीको आत्मीय भेट, हरियो टपरीबाट सरर्र आउने कोसेलीको मगमग बासना, माइतीको अँगेनोमा पाकेको कोसेलीको स्वाद अनि सुखदुःखका भलाकुसारी ! अहा ! कस्तो स्वर्गीय आनन्द ! समग्रमा यही हो साउने टपरीको मौलिक स्वाद र आत्मीय परम्परा । उतिबेला विभिन्न गाउँबाट साउने टपरी लिएर चेलीका घरमा आउजाउ गर्ने माइतीहरू बाटोमा भेटिन्थे, आपसमा चिनाजान गर्थे, हालखबर सोध्थे, नयाँ साइनो जोड्थे । लामो बाटोमा दुःखसुखका बात मार्दै, खाजा बाँडीचुँडी खाँदै यात्रा काट्थे । यस्ता मौलिक क्रियाकलापले समाजलाई बलियो गरी बाँधेका थिए ।
समय फेरियो, सुविधा थपियो, सम्बन्धका स्वरूप बदलिए । अचेल छिनछिनमै भिडियो कलमा अनुहार हेर्दै कुराकानी गर्न पाइन्छ । त्यसकारण भेटको त्यो तड्पाइ घटेर गयो। सञ्चो–बिसञ्चो सजिलै बुझ्न सकिन्छ । आम्दानीका स्रोत बढे, जे खान मन लाग्यो, किन्न पाइन्छ । त्यसैले, कहिले माइतीबाट साउने टपरी आउला र मीठोमसिनो खान पाइएला भन्ने अवस्था रहेन । यसर्थ, साउने टपरी परम्परा आज लोप हुने अवस्थामा आइपुगेको छ ।
यति मौलिक र आत्मीय परम्परामा आज धमिरा लाग्दैछ । छिमेकी र विदेशी मुलुकका आयातित संस्कृतिलाई सहर्ष स्वीकार्दै अघि बढेको नेपाली समाजले आज आफ्ना मौलिक परम्पराको बेवास्ता गरिरहेको छ । साउने टपरी एउटा सानो सवाल मात्र हुन सक्छ, तर समाजका नयाँ पात्रहरूमा जुन प्रवृत्ति हाबी हुँदैछ, त्यसले हाम्रो मौलिकतालाई क्रमशः मास्दै लैजाने निश्चित छ । विश्वका विभिन्न देशमा छरिएर रहेका नेपाली डायस्पोराले आफ्ना चाडपर्व र संस्कृतिलाई स्थापित गर्न गरिरहेको अभ्यासले हाम्रा परम्परा कति महत्त्वपूर्ण रहेछन् भन्ने देखाउँछ । नेपाल र नेपालीलाई विश्वको जुनसुकै कुनामा चिनाउने अमूल्य निधि भनेकै हाम्रा संस्कृति र परम्परा हुन् भन्ने चेतना डायस्पोरामा विकास भएको छ ।
त्यसो भए हामीचाहिँ…? के सोच्दै छौँ? कुन अभ्यासमा जाँदैछौँ? यसले हामीलाई कहाँ पुर्याउला? सानै भए पनि यसबारे बहस हुनुपर्ने हो कि?
समयको यो बदलिँदो स्वरूपसँगै यो संस्कृतिलाई जीवित राख्नु आवश्यक छ कि छैन भन्ने सवाल त्यति महत्त्वपूर्ण नहुन सक्छ । जे होस्, नेपालका मौलिक परम्परा, संस्कार र संस्कृति हाम्रो समाजका अमूल्य निधि हुन्, हाम्रा पहिचान हुन् । पुस्तौँदेखि हाम्रा पुर्खाले हामीलाई छाडेर गएको यो अमूल्य नासोलाई हाम्रो पुस्ताले भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्छ भन्ने बोध गर्नु पर्दैन र? यो प्रश्नको जवाफ खोज्ने दायित्व पनि हामी सबैको हो ।
(लेखक नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सदस्य हुन् ।)







बागलुङ नगरका सडक कालोपत्र र ढलान सुरु
माछापुच्छ्रे हिमाल
पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति
फेवातालस्थित तालबाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया