पोखरामा ‘एक घर दुई बिरुवा’ अवधारणामा वृक्षारोपण अभियान जारी

पोखरा। पोखरा महानगरपालिका क्षेत्रमा ‘एक घर दुई बिरुवा’ को अवधारणामा मेगा वृक्षारोपण अभियान जारी छ। पोखरालाई स्वच्छ र हरित सहरको रूपमा विकास गर्न ‘ग्रिन पोखरा, क्लिन पोखरा’ परियोजनाअन्तर्गत यो अभियान थालिएको नगर प्रमुख धनराज आचार्यले बताए।
अभियानअन्तर्गत सोमबार पोखरा महानगरपालिकाको वडा नम्बर ८ र ९ मा पर्ने मुख्य सहरी क्षेत्र न्यूरोडको दायाँबायाँ खाली रहेको स्थानमा थप बिरुवाहरू रोपिएका छन्। नगर प्रमुख आचार्यको उपस्थितिमा न्यूरोडमा विभिन्न १० प्रजातिका फूलका बिरुवाहरू लगाइएको सहरी विकास पर्यटन वन तथा वातावरण महाशाखा प्रमुख सिनियर इन्जिनियर विमल रञ्जन कार्कीले बताए।
कार्यक्रममा नगर प्रमुख आचार्यले आफ्नो घर तथा पसल अगाडि लगाइएका बिरुवाहरूको नियमित गोडमेल तथा संरक्षणका लागि नगरवासीहरूलाई आग्रह गरे। उनले महानगरपालिका क्षेत्रमा लामो अध्ययनपश्चात् वन विज्ञान अध्ययन संस्थानको सुझावअनुसार ७ सय किलोमिटर सडक तथा राजमार्ग, झन्डै ६७ किलोमिटर नदी तथा खोला किनार, २९ सार्वजनिक स्थलको १२५ हेक्टर खुला क्षेत्रमा ३८ प्रजातिका २ लाख २६ हजार बिरुवाहरू लगाइने जानकारी दिए।
पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले ‘ग्रिन पोखरा क्लिन पोखरा’ अभियानलाई सार्थक तुल्याउन हरेक नगरवासीले आफ्ना अगाडिका बिरुवाहरूको संरक्षणको दायित्व लिनुपर्ने बताए। आफ्नो वरपरको वातावरणलाई सफा, स्वच्छ र हराभरा बनाउनका लागि महानगरपालिका नगरवासीको साथमा रहेको उल्लेख गर्दै उनले महानगरको अभियानमा साथ दिन आग्रह गरे।
न्यूरोड क्षेत्रमा कल्की, धुपी, बेगमबेली लगायतका फूलका बिरुवाहरू लगाइएका छन्। विज्ञहरूको सुझावअनुसार महानगर क्षेत्रमा पहिचान गरिएको क्षेत्रमा लगाउन सकिने बिरुवाहरूमा वर, पिपल, शमी, पैयुँ, कोइरालो, टाँकी, लालीगुराँस, असारे, आँप, अमला, अशोका, कल्की फूल, राइखन्यु, गुलमोहर, बैँस, लालुपाते, कागज पाते, पालम, धुपी, बाँस, खयर, सिसौ, पाखुरी, राजवृक्ष, रातो पाते, सिना एक्साटाबिलिस, टिकोमा, कपुर, लिची, किम्बु, बेल, अम्बा, निमारो, कदम, रुद्राक्ष, बेडुला, नारेश्वर, जंगली केरा लगायत छन्।








युआरएलमा निःशूल्क थाईराईड, सुगर र दन्त परिक्षण
निर्वाचन आउन ८२ दिन बाँकी, समानुपातिकतर्फ ९३ दललाई चुनाव चिह्न
भिजिट भिसा प्रकरणः सहसचिव भट्टराईसँग २५ लाख धरौटी माग, न्यायाधीशको राय बाझियो
राष्ट्र बैंकले मुद्दती निक्षेपमा साढे ७ अर्ब लगानी गर्दै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया