आर्म रेस्लिङ प्रतियोगिता हुने

समाधान संवाददाता २०८२ भदौ १९ गते १२:२२

पोखरा ।
पोखरामा आर्म रेस्लिङ प्रतियोगिता हुने भएको छ । आर्म रेस्लिङ संघ, कास्कीले प्रतियोगिता आयोजना गर्न लागेको हो । पोखरामा पहिलो पटक प्रथम पोखरा राष्ट्रिय आर्म रेस्लिङ प्रतियोगिता–२०८२ गर्न लागिएको आर्म रेस्लिङ संघ कास्कीका अध्यक्ष नविन गुरुङले जानकारी दिए ।


यही भदौ २० र २१ गते प्रतियोगिता सञ्चालन हुनेछ । पोखरा महानगरपालिका वडा नम्बर ६ लेकसाइडमा रहेको आइभिवाई क्लबमा प्रतियोगिता सञ्चालन गरिने प्रतियोगिताका संयोजक खली थापाले जानकारी दिए ।


तौल समूहअनुसार चार विधामा प्रतिस्पर्धा गराइने छ । ६० केजी मुनि, ७० केजी मुनि, ८० केजी मुनि र ८० केजी माथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ । चारवटै विधामा समान पुरस्कार राशि राखिएको आर्म रेस्लिङ संघ, कास्कीका प्रथम उपाध्यक्ष एवं प्रतियोगिताका व्यवस्थापक रत्नबहादुर आलेले जानकारी दिए । प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५० हजार, २५ हजार र १० हजार नगद, मेडल र प्रमाणपत्र पाउनेछन् । च्याम्पियन अफ च्याम्पियनले नगद १ लाख र प्रमाणपत्र पाउनेछ ।

Advertisement


यो नै अहिलेसम्मको सबैभन्दा ठुलो पुरस्कार राशि रहेको आयोजकको दाबी छ । पुरस्कार राशिमा मात्रै ४ लाख ५० हजारभन्दा बढी खर्च रहेको अध्यक्ष गुरुङले बताए । प्रतियोगिता सम्पन्न गर्न २३ लाख १९ हजार खर्च लाग्ने आयोजकको अनुमान छ ।

प्रतियोगितामा सहभागी हुन देशभरबाट करिब १५० भन्दा बढी खेलाडी पोखरा आउने अनुमान गरिएको छ । प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीलाई भदौ १८ गतेसम्म आवेदन दिने समय रहेको आयोजकले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया