कारागारबाट भागेर प्रहरी कार्यालय तोडफोड र लुटपाटमा संलग्न पक्राउ

समाधान संवाददाता २०८२ कार्तिक १४ गते १८:५६

पोखरा ।

भदौ 2४ गतेको आन्दोलनका क्रममा कारागारबाट भागेर विभिन्न प्रहरी कार्यालयहरूमा आगजनी, तोडफोड र लुटपाट गरेको आरोपमा कास्की प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर ०७, घारीपाटन बस्ने २६ वर्षीय विवश जलारी छन्। जलारीलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले कार्तिक १३ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (प्रनाउ) हरी बहादुर बस्नेतले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, पक्राउ परेका जलारीको साथबाट वडा प्रहरी कार्यालय बैदामबाट चोरी भएको क्यानोन कम्पनीको एसओसीओ डिजिटल क्यामेरा १ थान र नम्बर प्लेट नभएको, इन्जिन नम्बर जेएलवाइसीजेबी७७१०२, च्यासिस नम्बर एमडी२ए३६एफवाई१जेसीबि३३३६० भएको २०० सिसीको एनएस मोटरसाइकल १ थान बरामद भएको छ।

Advertisement

प्रनाउ बस्नेतले दिएको जानकारीअनुसार, जलारी ज्यान मार्ने उद्योग मुद्दामा कारागार कार्यालय कास्कीमा थुनामा रहेको बेला भदौ २४ गतेको आन्दोलनको मौका छोपी भागेका थिए। कारागारबाट भागेलगत्तै उनी वडा प्रहरी कार्यालय बैदाममा लुटपाट र चोरी गर्न पुगेको अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेका जलारीलाई कास्की जिल्ला अदालतबाट ‘आपराधिक उपद्रव’ सम्बन्धी मुद्दामा ६ दिनको म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ। प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी राखेको छ।

Advertisement

तपाईको प्रतिक्रिया