कास्कीमा जनसेवा चुस्त बनाउन प्रजिअको जोड, क्षतिग्रस्त सामग्रीको मिनाहा प्रक्रिया सुरु

समाधान संवाददाता २०८२ कार्तिक १७ गते २०:२०

पोखरा । कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा सोमबार बसेको कार्यालय प्रमुख बैठकले जनसेवा प्रवाहलाई प्रभावकारी बनाउने लगायतका महत्त्वपूर्ण निर्णय गरेको छ। बैठकमा जिल्लास्थित कार्यालयका प्रमुखहरूको उपस्थिति थियो।

बैठकले सेवा प्रवाहलाई प्रभावकारी र पूर्वानुमानयोग्य बनाउने, एकद्वार प्रणाली मार्फत सेवा दिने र बढी भीडभाड हुने कार्यालयहरूमा टोकन प्रणाली लागू गर्ने निर्णय गरेको छ। सेवाग्राही सहायता तथा सहजीकरणका लागि सेवाग्राही सहायता कक्ष स्थापना र सञ्चालन गरिने भएको छ।

सूचनामूलक सेवा प्रवाहका लागि सामाजिक सञ्जालहरूको प्रभावकारी उपयोग गरिने र नियमित रूपमा कार्यालय वेबसाइट अद्यावधिक गरी सूचनामूलक बनाइने निर्णय पनि बैठकले गरेको छ। अनलाइन प्रणाली मार्फत गुनासो सुनुवाइ प्रणाली सञ्चालन गरिने र लक्षित वर्गलाई उच्च प्राथमिकता प्रदान गरी सेवा प्रवाह गरिने बताइएको छ।

Advertisement

बैठकले निर्वाध रूपमा विकास आयोजना सञ्चालन तथा व्यवस्थापन गर्ने, समन्वयात्मक तवरले प्रभावकारी विपद् पूर्वतयारी, प्रतिकार्य र व्यवस्थापन गर्ने विषयमा पनि जोड दिएको छ। सवारी दुर्घटना न्यूनीकरण, सडक पूर्वाधार सुधार, सडक सुरक्षा, सडक अनुशासन पालना र ट्राफिक व्यवस्थापनका लागि पहल गरिने भएको छ।

अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति, बजार अनुगमन र उपभोक्ता हित संरक्षणका लागि पनि काम गरिने निर्णय बैठकले गरेको छ। कर्मचारी आचारसंहिता पालना मार्फत आचरण सुधार र जिल्लामा आयोजना हुने कार्यक्रम व्यवस्थापन सम्बन्धमा पनि छलफल भएको थियो।

Advertisement

जेन-जी आन्दोलनमा क्षति भएका उपकरण, सवारी साधन र कार्यालय सामग्रीहरूको मिनाहा प्रक्रिया सम्बन्धमा पनि बैठकमा निर्णय भएको छ। सार्वजनिक सरकारी जग्गा र सम्पत्ति संरक्षण, बेरुजु लगत अद्यावधिक र फर्छ्यौट सम्बन्धमा पनि काम अगाडि बढाउने निर्णय गरिएको छ।

सूचना प्रविधि प्रणाली प्रयोगकर्ता तथा प्रणाली सञ्चालनकर्ता कर्मचारीका लागि जारी गरिएको साइबर सुरक्षा एडभाइजरी कार्यान्वयन सम्बन्धमा पनि बैठकले जोड दिएको छ। २०८२ कात्तिक १२ गतेको सचिव बैठकको निर्णय कार्यान्वयन सम्बन्धमा पनि बैठकले आवश्यक निर्देशन दिएको सहायक प्रजिअ शिव लम्सालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया