मतदाता नामावलीमा जेनजीको उत्साह

समाधान संवाददाता २०८२ कार्तिक २७ गते १४:०९

पोखरा ।
आसन्न निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ताका लागि सरकारले तोकेको समय अब ४ दिन बाँकी छ । कात्तिक मसान्तसम्म तोकिएको समयसीमा सकिनै लाग्दा निर्वाचन कार्यालयहरुमा भीड बढिरहेको छ ।


गण्डकी प्रदेश निर्वाचन कार्यालय पोखरामा दैनिक ९ सयदेखि १ हजार नागरिक पुग्ने गरेका छन् । निर्वाचन कार्यालय, पोखराका नामावली दर्ताका लागि पुग्ने नागरिकमध्ये ८५ देखि ९० प्रतिशत जेन–जी पुस्ता देखिन्छन् । यही तथ्यांकका आधारमा पनि आसन्न फागुन २१ मा हुने निर्वाचनमा मतदान गर्नका लागि यो पुस्ता आतुर भएको पुष्टि हुन्छ ।


आफ्नो पुस्ताले परिवर्तनका लागि आन्दोलन गरेपश्चात हुन लागेको निर्वाचनमा मतदान गर्नुपर्छ भनेर नामावलीमा नाम दर्ता गरेको पर्वत विहादीका १९ वर्षीय सुमन न्यौपानेले सुनाए । नेतृत्व परिवर्तका लागि पनि युवा पुस्ताको मत अत्यावश्यक रहेकोे उनको भनाइ छ ।

Advertisement


‘हुन मत हाल्ने सबै पुस्ताले हो तर कस्तो नेतृत्व चाहने भन्नेमा जेनजी पनि सहभागी हुनुपर्छ,’ उनले भने, ‘पुराना नेताले ३०÷४० वर्ष शासन कालमा कस्तो परिवर्तन ल्याए भन्ने छर्लंग छ । त्यसैले नयाँ नेतृत्वलाई अबको निर्वाचनमा साथ दिनुपर्छ भनेर नाम दर्ता गर्न आएको हुँ ।’


आफ्नो पुस्तामा चुनावको हुटहुटी चलेको यो समयमा निर्वाचन हुनेमा उनी ढुक्क छैनन् । पुरानै पार्टीको चलखेलले समयमा चुनाव नहुने हो कि भन्ने अर्याललाई शंका छ । ‘केही पार्टीले चुनावमा सहभागी नहुने भनिरहेका छन् । केही पार्टी निर्वाचन नगराउने पक्षमा छन् जस्तो लाग्छ,’ उनले भने, ‘फागुन २१ मा नभए पनि एक दिन त हुन्छ । त्यो बेलामा नयाँ, सक्षम अनि युवा नेतृत्वलाई साथ दिनका लागि पनि हामी तयार भएर बस्नुपर्छ ।’

Advertisement

नयाँ नेतृत्वलाई अबको निर्वाचनमा साथ दिनुपर्छ भनेर नाम दर्ता गर्न आएको हुँ


प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले पनि नाम दर्ता गर्नेमध्ये बढी जेनजी पुस्ता रहेको जनाए । ‘पछिल्लो समयको डाटा हेर्दा ८५ प्रतिशत जेनजी उमेर समूहका मतदाता छन् भने बाँकी १५ प्रतिशत अन्य उमेरका आउनुभएको छ,’ उनले भने, ‘सुरुआती समयमा ९० प्रतिशत जेनजी थिए । केही दिन यता पहिले नाम दर्ता गर्न छुटेका केही ठूलो उमर समूह पनि आउनुभएको छ ।’


नाम दर्ता कार्य अन्तिम चरणमा पुग्दा कार्यालयमा भीड बढेको सूचना अधिकारी न्यौपानेले बताए । सोही कारण सुरुमा २ स्थानमा कायम गरिएको गरिएको फोटो खिच्ने स्थान बढाएर ४ पु¥याइएको छ । बिहान ८ देखि बेलुका ७ बजेसम्म दुई सिफ्टमा यहाँ मतदाता नामावली संकलन भइरहेको छ । बुधबारसम्मको तथ्यांकका आधारमा पोखरा कार्यालयमा ७ हजार हाराहारीमा नाम दर्ता भएको छ ।


यो पटक अनलाइनबाटै दर्ता गर्न सकिने भएकाले काम छिटो हुने न्यौपानले बताए । मतदाताले निर्वाचन आयोगको इलेक्सन डट जिओभी डट एनपीको वेबसाइटमा गएर प्रारम्भिक जानकारी पेस गर्न सक्छन् । अनलाइनमार्फत विवरण पेस गरेपछि नजिकैको निर्वाचन कार्यालयमा गएर बायोमेट्रिक, फोटो र औंठाछाप दिनुपर्छ ।

तपाईको प्रतिक्रिया