राष्ट्रिय परिचयपत्रबाटै मतदाता नामावली दर्ता

समाधान संवाददाता २०८२ कार्तिक २७ गते १४:५९

काठमाडौं
राष्ट्रिय परिचयपत्र नम्बर भएका नागरिकले अब निर्वाचन कार्यालय नगई अनलाइनबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने भएका छन्। यसले लामो लाइनमा बस्नुपर्ने र समय खर्चिनुपर्ने बाध्यताको अन्त्य भएको छ।

निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्रमा भएको बायोमेट्रिक विवरणलाई सोझै मतदाता नामावलीको अनलाइन आवेदनसँग जोड्ने निर्णय गरेको छ। यस व्यवस्थाले नागरिकले बेहोर्दै आएको झन्झट अन्त्य हुने र दर्ता प्रक्रिया छिटो तथा प्रभावकारी बन्ने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए।

भण्डारीले बुधबार जेनजीसहित सरोकारवालाहरूको एक बैठकमा भने, ‘राष्ट्रिय परिचयपत्रमा जम्मा भएको बायोमेट्रिक विवरणलाई तपाईंहरूले अनलाइनमा भर्नुभएको निवेदनमा ल्याएर जोड्ने र छानबिन गरेर नामावली प्रकाशन गर्ने निर्णय हामीले गरेका छौँ।’

Advertisement

यस नयाँ व्यवस्थाअनुसार राष्ट्रिय परिचयपत्र प्राप्त गरिसकेका व्यक्तिले निर्वाचन आयोगको वेबसाइटमार्फत अनलाइन फाराम भर्न सक्छन्। आयोगले उक्त आवेदनलाई राष्ट्रिय परिचयपत्रको प्रणालीमा रहेको बायोमेट्रिक विवरणसँग जोडेर प्रमाणीकरण गर्नेछ। यसले गर्दा नागरिकले नामावली दर्ताका लागि जिल्ला निर्वाचन कार्यालय वा इलाका प्रशासन कार्यालयमा भौतिक रूपमा उपस्थित भई घण्टौँ लाइन बस्नुपर्ने बाध्यता हट्नेछ।

भण्डारीले विदेशमा बस्ने नेपालीका लागि पनि यो व्यवस्था सहज हुने जानकारी दिए। ‘विदेशमा बस्नेहरूले पनि अनलाइनमार्फत फाराम भर्न सक्नुहुन्छ। उनीहरूको राष्ट्रिय परिचयपत्रको बायोमेट्रिकलाई हामीले यहाँ (नेपालमा) जोड्ने व्यवस्था मिलाएका छौँ’, उनले भने।

Advertisement

हाल मतदाता नामावली दर्तामा अत्यधिक चाप छ। यसलाई व्यवस्थापन गर्न आयोगले दर्ता केन्द्रहरूमा बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म दुई सिफ्टमा काम गरिरहेको छ। अनलाइन प्रणाली र राष्ट्रिय परिचयपत्रसँगको आबद्धताले आगामी दिनमा यो चाप स्वतः घट्ने आयोगको विश्वास छ। नाम दर्ताको समय कात्तिक महिनासम्म रहेको छ।

यो निर्णयले अध्ययन, रोजगारी वा अन्य कामले विदेशमा रहेका नेपालीलाई पनि मतदाता नामावलीमा नाम दर्ता गर्न सहज हुनेछ। भण्डारीका अनुसार विदेश जाने धेरैजसो नेपालीले राष्ट्रिय परिचयपत्र बनाइसकेका छन्। उनीहरूले पनि अनलाइनमार्फत आवेदन दिन सक्छन्।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले राष्ट्रिय परिचयपत्र नम्बर हालेर मतदाता नामावली दर्ता गर्ने प्रक्रियाको प्राविधिक परीक्षण सफल भएको जानकारी दिए।

भट्टराईले भने, ‘केही बेर अघि मात्रै हामीले मतदाता नामावलीको प्रि-इनरोलमेन्टका क्रममा राष्ट्रिय परिचयपत्र नम्बर हालेर नाम दर्ता गर्ने प्रक्रियाको प्राविधिक परीक्षण सकाएका छौँ। त्यो सफल पनि भएको छ।’

योसँगै राष्ट्रिय परिचयपत्र औपचारिक रूपमा नै मतदाता नामावलीमा जोडिएको छ। सोमबारदेखि यो काम सुरु भएको थियो। बिहीबार मध्यान्न प्राविधिक परीक्षण सफल भएको हो।

निर्वाचन आयोगले प्रि-इनरोलमेन्ट आवेदन अनलाइनबाटै लिने व्यवस्था यसअघि नै मिलाएको थियो। पहिले नाम, ठेगाना, जन्ममिति, पारिवारिक विवरण र नागरिकता प्रमाणपत्रका विवरण भरेर अपोइन्टमेन्ट लिई बायोमेट्रिक दिन सम्बन्धित निर्वाचन कार्यालय धाउनुपर्ने बाध्यता थियो। अब भने राष्ट्रिय परिचयपत्र नम्बर भएका नागरिकले बायोमेट्रिक र आफ्नो फोटो दिन निर्वाचन कार्यालय जानुपर्ने छैन।

प्रवक्ता भट्टराईका अनुसार अब प्रि-इनरोलमेन्टमा राष्ट्रिय परिचयपत्र नम्बर हालेपछि सम्बन्धित नागरिक बायोमेट्रिक दिन निर्वाचन कार्यालय धाउनुपर्ने बाध्यता हट्नेछ।

प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले मतदाता नामावली संकलनमा सहजतासहितका विषय समेटेर तीन बुँदे निर्देशनसहितको पत्र निर्वाचन आयोगलाई पठाएको थियो।

सोहीअनुसार आयोगको अनलाइन प्रणालीमा मतदाता नामावली दर्ताको चाप व्यवस्थापन गर्न बिहान ७ देखि साँझ ७ बजेसम्म दुई सत्रमा काम सुरु गरिएको थियो। जनशक्ति पनि बढाइएको थियो भने प्राविधिक समस्याको पनि तत्काल समाधानको व्यवस्था मिलाइएको थियो।

प्रधानमन्त्रीकै सहजीकरणमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले संकलित जैविक तथ्यांक (बायोमेट्रिक) निर्वाचन आयोगलाई उपलब्ध गराउन तयार भएको थियो। सोही सक्रियतापछि अब राष्ट्रिय परिचयपत्र नम्बर भएका र आफैँ निर्वाचन कार्यालयमा उपस्थित हुन नसक्ने मतदाताले अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सक्नेछन्।

निर्वाचन आयोगका अनुसार हालसम्म १ करोड ८३ लाख ७७ हजार मतदाता आयोगको तथ्यांकमा अभिलिखित छन्। पछिल्लो निर्वाचन घोषणापछि मात्र २ लाख ९ हजार ५५२ मतदाता थपिएको जानकारी कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले प्रधानमन्त्री कार्कीलाई गराएका छन्।

मतदाता नामावलीमा नाम दर्ताका लागि निवेदन बुझाउनेको संख्या बढ्दै गएकाले आयोगको वेबसाइटमा अत्यधिक चाप परिरहेको छ। यसले केही समस्या कायमै रहेको प्रवक्ता भट्टराईले बताए। आगामी २१ फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि ३० कात्तिकसम्म मतदाता नामावलीमा नाम दर्ता गर्ने समय तोकिएको छ। यद्यपि, मतदाता नामावलीमा नाम दर्ता गराउनेको चाप बढे पनि समय थप गर्ने बारे आयोगले कुनै योजना नबनाएको बुझिएको छ।

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय परिचयपत्रका आधारमा पनि मतदान गर्न पाइने भएको छ। यससम्बन्धी व्यवस्थाको शुभारम्भ बिहीबार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गरे।

आयोगका अनुसार राष्ट्रिय परिचयपत्र भएका व्यक्तिले मतदाता नामावलीका लागि बायोमेट्रिक नगर्दा पनि हुनेछ। आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले भने, ‘यदि कोही व्यक्तिले पहिला नै राष्ट्रिय परिचयपत्र बनाउनुभएको छ भने उहाँले अब मतदाता नामावलीका कार्यालय-कार्यालय धाउन आवश्यक पर्दैन, घरमा बसेर अनलाइन फाराम भरे पुग्छ।’

तपाईको प्रतिक्रिया