पोखरा–बागलुङ सडकका खाल्डाखुल्डी पुर्न थालियो

गण्डकी । मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडकखण्डको मर्मतसम्भार सुरु भएको छ । सडकका ठाउँठाउँमा परेका खाल्डाखुल्डीले यात्रा जोखिमपूर्ण बन्नुका साथै यात्रुले सास्ती पाएपछि सडक डिभिजन कार्यालय पोखराले मर्मतको काम थालेको हो ।
कार्यालयले कास्कीको फेदीदेखि नयाँपुल र नयाँपुलदेखि पर्वतको मालढुंगासम्म गरी दुई खण्डमा विभाजन गरेर मर्मत अघि बढाएको छ । अहिले फेदीतर्फबाट खाल्डाखुल्डी पुर्ने र भत्केको सडक कालोपत्र गर्ने काम भइरहेको कार्यालयका सब–इन्जिनियर लोकेश पौडेलले जानकारी दिए ।
शिवालय निर्माण सेवामार्फत सडक मर्मतको काम अगाडि बढाइएको छ । बर्खायाम सकिएलगत्तै काम थाल्ने योजना रहे पनि बीचमा ठूला चाडबाड परेकाले केही ढिलाइ भएको कार्यालयले जनाएको छ । गत बर्खामा धेरै ठाउँमा सडक भत्केको र खाल्डाखुल्डी परेका कारण यातायात सञ्चालनमा कठिनाइ हुँदै आएको थियो । सब–इन्जिनियर पौडेलले अब छिट्टै यो समस्या हट्ने विश्वास व्यक्त गरे ।
सडक धेरै ठाउँमा बिग्रेकाले मर्मतसम्भारका लागि विनियोजित बजेट अपुग हुने देखिएको पौडेलले बताए । उनले भने, ‘बजेटले भ्याएसम्मको काम समयमा नै हुनेछ ।’
पर्यटकीय राजधानी पोखरा जोड्ने यो मुख्य सडक बिग्रँदा दुर्घटनाको जोखिम बढेको छ । विशेषगरी कास्की र पर्वत खण्डको सडकमा खाल्डाखुल्डीको समस्या बढी छ । सडक कतै भासिएको छ भने कतै ठूल्ठूला खाल्डा परेका छन् । यो सडक हुँदै पश्चिमतर्फका पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, रुकुम पूर्वलगायतका जिल्लाबाट दैनिक सयौं गाडी पोखरा आउजाउ गर्ने गरेका छन् । रासस








जनप्रिय अध्यक्षमा २ उम्मेद्वार
गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
‘९ औं मा हारें, १०औंमा कुरा मिलेन, अब उपाध्यक्ष छोड्दिनँ’
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया