नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव

पोखरा ।
नेपालको विकास निर्माण र योजना तर्जुमा प्रक्रियामा ‘स्थानिक चिन्तन’ को अभाव रहेको सरोकारवालाहरूले औंल्याएका छन् । लेकसिटी कलेज एन्ड रिसर्च सेन्टर मातहतको समाज विज्ञान केन्द्रद्वारा शनिबार पोखरामा आयोजित ‘कचहरी’ कार्यक्रममा बोल्ने वक्ताहरूले स्थान विशेषको भूगोल र आवश्यकता नबुझी गरिने विकासले अपेक्षित नतिजा दिन नसकेको निष्कर्ष निकालेका हुन् ।

कार्यक्रममा अवधारणा पत्र प्रस्तुत गर्दै त्रिभुवन विश्वविद्यालयका अवकाशप्राप्त प्राध्यापक डा. कृष्णप्रसाद पौड्यालले नेपालको योजना प्रक्रियामा क्षेत्रगत चिन्तनको कमी रहेको बताए । डा. पौड्यालले स्थान, दूरी, दिशा, आकार र ढाँचाजस्ता अवधारणाहरू प्रयोग गरेर गरिने मानसिक चित्रण नै स्थानिक चिन्तन भएको स्पष्ट पारे । ‘स्पेस वा स्थानको अर्थ नबुझी गरिने योजना अधुरो हुन्छ, विकास हुनका लागि आर्थिक भूगोलका तीन आयाम अर्थात् घनत्व, दूरी र विभाजनमा रूपान्तरण हुन आवश्यक छ,’ उनले भने ।
उनले स्रोत साधनको तार्किक वितरण र सामाजिक न्यायका लागि ‘स्थानिक तथ्यांक’ र नक्सांकन अनिवार्य रहेकोमा जोड दिए ।
नेपालका आवधिक योजनाहरूमा समानता र सामाजिक न्यायका विषय समेटिए पनि ‘स्थान’ को अवधारणालाई प्राथमिकता नदिइएको डा. पौड्यालको भनाइ थियो । सन् १९९० अघि क्षेत्रीय विकासको अवधारणा केही हदसम्म लागु भए पनि पछिल्ला दिनमा ‘कहाँ’ भन्ने प्रश्नको उत्तर खोज्ने कार्यान्वयन पक्ष कमजोर भएको उनले जिकिर गरे । उनले स्रोत साधनको तार्किक वितरण र सामाजिक न्यायका लागि ‘स्थानिक तथ्यांक’ र नक्सांकन अनिवार्य रहेकोमा जोड दिए ।

अवधारणा पत्रमाथि टिप्पणी गर्दै पृथ्वीनारायण क्याम्पसका समाजशास्त्र उपप्राध्यापक मुकुन्द लम्सालले उपलब्ध स्रोतको पहिचान र प्रयोग गरी विकास गरिनुपर्ने बताए । क्षेत्रगत विकास भूगोलमात्र नभई सामाजिक विषयवस्तु पनि भएको उनको भनाइ थियो । यस्तै, प्राडा कृष्ण केसीले अर्थशास्त्रमा पैसा प्रधान भएजस्तै भूगोलमा ‘क्षेत्र’ प्रधान हुने बताए । २०२८ सालको रिजनल प्लानिङले सन्तुलित विकासको अवधारणा ल्याए पनि अहिले त्यो ओझेलमा परेको भन्दै उनले रित्तो गाउँमा विकास थुपार्नुभन्दा स्थानीयको आवश्यकता पहिचान गर्नुपर्नेमा जोड दिए ।

डा. लोकरञ्जन पराजुलीले कागजमा योजनाहरू राम्रा देखिए पनि व्यवहारमा उतार्न नसक्नु विडम्बनापूर्ण रहेको बताए । उपप्राध्यापक पूर्णबहादुर खाणले अर्थशास्त्रको सीमान्तिकृत सिद्धान्त अनुसार जहाँ असमानता बढी छ, त्यहाँ राज्यले लगानी बढाउनुपर्ने धारणा राखे । उनले विकास योजनामा जनसंख्या र भूगोललाई सँगै राखेर नहेरिएको गुनासो गरे ।

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्रबाबु तिवारीले आवश्यकता र विकासबिच तालमेल नमिलेको बताए । ‘गाडीको भिडभाड हुने ठाउँमा सडक विस्तार हुँदैन, तर बस्ती कम भएका ठाउँमा फराकिलो बाटो बनेको छ,’ उनले भने । राजनीतिकर्मी शारदाप्रसाद सुवेदीले विकास सहर केन्द्रित भएको र विदेशी सहायता लिँदा उनीहरूकै सर्त मान्नुपर्ने बाध्यता रहेको बताए ।
स्थानीय तहको अनुभव सुनाउँदै पोखरा महानगर–४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले महानगर बनाउँदा ग्रामीण भेगलाई गाभ्दा सन्तुलन बिग्रिएको र विकासमा कठिनाइ भएको बताए । रैथाने बस्तीभन्दा नयाँ बस्तीमा काम गर्न सहज भएको उनको अनुभव थियो । निवर्तमान वडाध्यक्ष शंकर बास्तोलाले पनि महानगरको सीमाङ्कन गर्दा भूगोलको ख्याल नगरिएको भन्दै राजनीतिक नेतृत्वले विज्ञको सल्लाह लिनुपर्ने सुझाव दिए ।
छलफलमा डा. रामजी पोखरेलले कुन ठाउँमा कुन मोडेल उपयुक्त हुन्छ भन्ने निर्क्योल गर्नु नै क्षेत्रगत विकास भएको भन्दै ‘बटम अप एप्रोच’ मा जोड दिए । स्ट्रगल रानाले भूगोलभन्दा मानव केन्द्रित विकास आवश्यक रहेको औंल्याए । इन्जिनियर कौशलचन्द्र जिसीले विकासका लागि व्यवस्थित सोचको अभाव रहेको बताए भने समाजशास्त्री भीम न्यौपानेले परिवर्तित अवस्थामा विकासको परिभाषा र ढाँचाबारे पुनर्विचार गरिनुपर्ने विचार व्यक्त गरे ।
कार्यक्रममा गोमा क्षत्री, राधाकृष्ण लामिछाने, प्राडा ज्ञानबहादुर कार्की र पत्रकार ओम हमाल लगायतले छलफलमा भाग लिएका थिए ।
कलेजको परम्परा अनुसार कार्यक्रममा सबैभन्दा पहिले उपस्थित हुने सहभागीलाई अध्यक्षता गराउने चलन अनुरुप राजबहादुर रोकायाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । बिएसडब्लु चौथो वर्षकी विद्यार्थी सम्झना भट्टराईले सञ्चालन गरेको उक्त कार्यक्रम निर्धारित दुई घण्टाको समयमा सम्पन्न भएको आयोजकले जनाएको छ ।










हेमजा साहित्य महोत्सवमा कवि मुकुन्दशरण उपाध्यायको रथारोहण
फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्योलमा
‘कृषकलाई मौसमले ठग्दो रहेछ’
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया