‘कृषकलाई मौसमले ठग्दो रहेछ’

समाधान संवाददाता २०८२ मंसिर २० गते १६:३८

दमौली ।
“पाँच वर्ष कतारमा काम गरेँ, त्यहाँ बस्दा सन्तुष्ट थिइनँ, अहिले घरमै बसेर सुन्तला खेती गरिरहेको छु,” व्यास नगरपालिका–१३ बेनीकोटका लेखबहादुर थापाले भने, “सुन्तला खेतीबाटै घरखर्च चलाउन सहयोग पुगेको छ ।”

छुट्टीमा घर आउँदा अरुले सुन्तला बेचेरै मनग्य आम्दानी गरेको देखेपछि आफू पनि सुन्तला खेतीमा लागेको उनको भनाइ छ । विदेश गए पनि दुःख गर्नुपर्ने तर त्यही दुःख स्वदेशमै गर्न सके केही होला कि भनेर सुन्तला खेतीमा लागेको थापाले बताए ।

Advertisement

थापाले विदेशमा गएर परिश्रम गर्नुभन्दा स्वदेशमै पसिना बगाउन सके यहीँ आत्मसन्तुष्टि मिल्ने सुझाव दिए । उनले भने, “मैले यस वर्ष ३ लाख ७० हजार रुपैयाँको सुन्तला बिक्री गरेको छु । मेरो २ सय ५० बोट सुन्तला छ । यसलाई अझै विस्तार गर्न सके आम्दानी बढाउन सकिनेछ ।”

थापाले यस वर्ष बेनीकोटमा सुन्तलामा रोग लागेका कारण उत्पादनमा कमी भएको गुनासो गरे । उनले भने, “यहाँका केही ठाउँमा सुन्तलामा के रोग लाग्यो, बोट नै मर्न थाल्यो । कृषि ज्ञान केन्द्रबाट पनि आउनुभएको थियो, तर के रोग लाग्यो थाहा पाउन सकिएन ।”

Advertisement

कृषक गिरबहादुर आले पनि वैदेशिक रोजगारीबाट फर्किएर सुन्तला खेती गरिरहेका छन् । उनले भने, “विदेश भने पनि सबैको राम्रो कमाइ हुँदैन, विदेशमा गएर उमेर कटाउनुभन्दा सुन्तला खेतीमा लाग्दा केही राम्रो होला कि भनेर यसमै लागेको छु ।” उनले यस वर्ष साढे ३ लाख रुपैयाँभन्दा बढीको सुन्तला बिक्री गरेको जानकारी दिए ।

उनले विगतका वर्षभन्दा यस वर्ष सुन्तला उत्पादनमा कमी भएको उल्लेख गरे । उनले भने, “जरो कुहिने रोग लाग्यो, जलवायु परिवर्तनको कारण हो कि के हो । कृषकलाई मौसमले पनि ठग्दो रहेछ ।”

अगुवा कृषक दलबहादुर थापाले यस वर्ष १६ लाख रुपैयाँको सुन्तला बिक्री गरेको बताए । उनले अघिल्लो वर्ष १३ लाख रुपैयाँको सुन्तला बिक्री गरेका थिए । उनका अनुसार यहाँका १ सयभन्दा बढी कृषक सुन्तला खेतीमा लागेका छन् । यहाँका कृषकको मुख्य आम्दानी नै सुन्तला हो ।

उनले भने, “विगत केही वर्षदेखि यहाँका सुन्तलाका बोट मर्दै जान थालेका छन् । कृषि प्राविधिक आएर हेरेर औषधि पनि सिफारिस गरे, तर सुधार भएको छैन ।” थापाका अनुसार यहाँ उत्पादित सुन्तला काठमाडौं कालीमाटीमा बिक्री गरिन्छ । बजारीकरणको कुनै समस्या नरहेको बताउँदै उनले भने, “प्रतिकेजी सुन्तला १ सय रुपैयाँसम्म बिक्री हुने गरेको छ । विगतका वर्षमा ९५ रुपैयाँसम्म बेच्थ्यौँ, यो वर्ष मूल्य केही बढी पाएका छौँ ।”

भिरालो जग्गा रहेकाले यहाँ अन्य खेती गर्न समस्या भएपछि कृषकहरू सुन्तला खेतीमा लागेको उनले जानकारी दिए । उनले भने, “मकै, कोदो खेती गर्न त मिल्छ, तर सुन्तला लगाउनका लागि उपयुक्त रहेकाले सबै जना सुन्तला खेतीमै आबद्ध छन् ।”

यहाँका कृषकले कम्तीमा २० देखि ८ सयसम्म सुन्तलाका बोट लगाएका छन् । मंसिर महिनामा धान भित्र्याउने समय भए पनि यहाँका कृषकको मुख्य आम्दानीको स्रोत सुन्तला भएकाले कृषक यतिबेला सुन्तला टिप्न र बिक्री गर्न व्यस्त छन् । बेनीकोटका १ सय घर सुन्तला खेतीमा आबद्ध छन् । यहाँका कृषकले २० हजारदेखि १६ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् ।

यहाँ प्रत्येक वर्ष कात्तिकदेखि मंसिर महिनामा सुन्तला टिपेर बिक्री गर्ने गरिन्छ । कृषक आफैँले सुन्तला बिक्री गर्नुपर्दा व्यास नगरपालिकाले प्रतिक्रेट १० रुपैयाँ कर लिने गरेको कृषकको गुनासो छ ।

तपाईको प्रतिक्रिया