लागुऔषधसहित २ पक्राउ

समाधान संवाददाता २०७६ फागुन १ गते १५:१४

समाधान संवाददाता
दमौली

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका १ सत्रसयबाट लागुऔषधसहित २ युवा बुधबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा लमजुङ जिल्ला दूधपोखरी गाउँपालिका ६ घर भई हाल सुन्दरबजार नगरपालिका ८ बस्ने ३० वर्षीय आइते तामाङ र सुन्दरबजार नगरपालिका–६ तार्कु बस्ने २४ वर्षीय सुजन तामाङ छन् ।

मुग्लिनबाट डुम्रेतर्फ आउँदै गरेको ग १७ प ३३७२ नम्बरको स्कुटरमा सवार उनीहरुलाई चेकजाँचका क्रममा लागुऔषधसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिए ।

Advertisement

स्कुटरमा सवार सुजनले बोकेको झोला खानतलासी गर्दा डाइजोपाम ५२, नर्फिन ५१ र फेनरागन ५३ गरी १ सय ६६ थान लागुऔषध बरामद भएको प्रहरी निरीक्षक सुवेदीले बताए ।

पृथ्वीराजमार्ग हुँदै लागुऔषध ओसारपसार गर्ने कार्य नियन्त्रण गर्न प्रहरीले विशेष चेकजाँच अभियान तीव्र बनाएको छ । पृथ्वीराजमार्गको ७२ किमी खण्ड ओगटेको तनहुँ हुँदै गोरखा, लमजुङ, पोखरा, पर्वत, म्याग्दी, बागलुङसम्म लागुऔषध ओसारपसार हुने गरेको प्रहरीको दाबी छ ।

Advertisement

जिल्लामा ३ वर्ष अवधिमा लागुऔषधको मुद्दा बढ्दै गएका छन् । आर्थिक वर्ष ०७३÷७४ मा २७ जना, ०७४÷७५ मा ४० जना र ०७५÷७६ मा ७० जना लागुऔषधसहित पक्राउ परेका छन् । जिल्लामा दर्ता हुने कूल मुद्दामध्ये लागुऔषधको मुद्दा दोस्रो स्थानमा रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया