हरियो साग गाईगोरुलाई

समाधान संवाददाता २०७७ वैशाख ५ गते १५:४०

एसके थकाली, जोमसोम

समुद्री सतहदेखि २५ सय मिटरको उचाइको चिसो मरुभूमिमा उत्पादन हुने मुस्ताङी सागसब्जी र फलफुलको सहरबजारमा छुट्टै माग छ ।

अन्य जिल्लाको तुलनामा यहाँ उत्पादित तरकारी उपभोक्ताले अत्यधिक रुचाउँछन् । यतिबेला तल्लो मुस्ताङका किसानले बारीमा लगाईएको हरियो तरकारी बारीमै पहे‌ंलिन थालेको छ। भदौ र असोज महिनामा लगाएर फागुन देखि बिक्री गर्न योग्य हुने यहाँको सागसब्जी अहिले लक डाउनका कारण बारीमै कुहिन थालेको हो ।

Advertisement


लक डाउनले समयमै साग नबिकेपछि जिल्लाका कतिपय किसानले गुन्द्रुक बनाएर चित्त बुझाएका छन् भने कतिपय किसानले कुखुरा र गाईगोरु आदिलाई खुवाएका छन् ।

आफूले अथक दुःख र मेहनत गरी उत्पादन गरेको हरियो तरकारी मुलुक लक डाउन भएपछि बिक्री हुन छाडेको जिल्लाका किसानहरु बताउछन्। मुस्ताङको घरपझोङ गाउपालिकाको मार्फा, स्याङ, छैरो, चिमाङ र ठिनीका किसानले हरियो बर्सेनि हरियो तरकारी उत्पादन गर्छन् ।

Advertisement

यस्तै थासाङको टुकुचे र वारागुङ मुक्तिक्षेत्रमा पनि हरियो तरकारी उत्पादन हुने गर्छ । हिउँदयामको जाडो मौसमपछि मुस्ताङ जिल्लामा पर्यटकीय चहल पहल हुन्छ । यातायातका साधनमा चलेका हुन्थे । किसानले उत्पादन गरेको तरकारी लक डाउनले यातायात ठप्प भएको र जिल्ला पर्यटक विहीन सुनसान भएसंगै साग बिक्नै छाडेको भोङमोर साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष कमला लालचन अधिकारीले जानकारी दिईन् ।

उनले सहकारीमा आवद्ध ५ सय १५ किसान मध्ये आधाजसो किसानको साग नबिकेर घाटा व्यवहोर्नु परेको सुनाईन् । किसानले सहकारी मार्फत ऋण लिएर खेती गरेको तर, लकडाउनले तरकारी नबिकेर किसानहरुलाई घाटा परेको उनले उल्लेख गरिन् । मुस्ताङका स्याउ बारी र स्याउ नलगाईएका खाली खेतमा हिउदे र बर्खे २ बाली लगाइन्छ । बारी र खेतमा लगाइएको साग मासेर आलु र सिमी आदि लगाइन्छ । लक डाउनले समयमै साग नबिकेपछि जिल्लाका कतिपय किसानले गुन्द्रुक बनाएर चित्त बुझाएका छन् भने कतिपय किसानले कुखुरा र गाईगोरु आदिलाई खुवाएका छन् ।

भोङमोर साना किसान सहकारी कमला लालचनले जिल्लाका तरकारी किसानले साग बेचेर बर्सेनि ५० हजार बढी कमाउने गरेको तर, यो बर्ष त्यो अवस्था नरहेको बताइन् । मुस्ताङमा उत्पादित तरकारी पोखरामा निर्यात हुन्छ । कतिपय किसानले जोमसोममा बिक्री गर्छन् । लकडाउनले दैनिक डोकोमा बोकेर जोमसोममा बिक्री गर्न आउने किसानको साग बिक्न छाडेको हो ।

लकडाउनले पोखरा –जोमसोम हवाई उडान बन्द भएपछि उत्पादित तरकारी बिक्न छाडेको घरपझोङ–३ स्याङकी किसान साइँली तामाङले बताइन् । उनले यसअघि जोमसोममा दैनिक १ सय मुठा साग बिक्री गर्ने तर अहिले साग बिक्नै छाडेको जनाईन् । उनका अनुसार पालिकामा उत्पादन भएको साग जोमसोमका होटलहरुमा खोसाखोस हुन्थ्यो तर लक डाउनले साग किन्ने ग्राहक भेट्टाउनै मुश्किल परेको हो ।

तपाईको प्रतिक्रिया