प्रदेशमा प्रज्ञा प्रतिष्ठान खोल्ने बाटो खुल्यो

समाधान संवाददाता २०७७ साउन २३ गते ६:०९

समाधान संवाददाता
पोखरा

गण्डकी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बिहीबार पारित भएको छ । सामाजिक विकास मन्त्री नरदेवीले पुन मगरले पेस गरेको विधेयक बिहीबारै दफावार छलफलपछि सर्वसम्मत पारित भएको हो ।

यसअघि अघिल्लाे साता विधायन समिति सभापति माेहनप्रसाद रेग्मीले संशाेधन प्रतिवेदनसहित विधेयक बैठकमा प्रस्तुत गरेका थिए ।

Advertisement

राष्ट्रिय सम्पदाको रुपमा रहेको कला, साहित्य, संगीतको विकासमा जोड दिन यो विधेयकको महत्व रहेको मन्त्री पुनमगरले बताइन् । संविधानको अनुसूची ६ मा प्रदेशको एकल अधिकारको सूचीमा भाषा, लिपी, संस्कृति र ललितकला र धर्मको संरक्षण र प्रयोग गर्ने उल्लेख भएकाले यो विधेयकको आवश्यकता महसुस भएको उनको भनाइ थियो ।

प्रदेशको क्षेत्राधिकारभित्र लागु हुने गरी भाषा, साहित्य, संस्कृति, ललितकला, नाट्यककला, संगीतको अध्ययन अनुसन्धान गरी संरक्षण एवं सम्बद्र्धन गर्नका लागि प्रज्ञा प्रतिष्ठानको परिकल्पना गरिएको मन्त्री पुनले बताइन् ।
विधेयकमाथि छलफल गर्दै नेकपा सांसद रोशन गाहामगरले प्रदेशभित्रका अमूल्य निधिको खोज र अनुसन्धानका लागि प्रज्ञा प्रतिष्ठानले उदाहरणीय कार्य गर्ने विश्वास व्यक्त गरे ।

Advertisement

कांग्रेस सांसद सरीता गुरुङले प्रतिष्ठानको अवधारणा राम्रो भए पनि प्राज्ञ सभा र प्राज्ञ परिषद नियुक्तिका क्रममा कार्यकर्ताले मात्र प्रश्रय पाउने हुन् कि भनी आशंका व्यक्त गरिन् ।

जनमोर्चाकी पियारी थापाले प्रदेशमा प्रज्ञा प्रतिष्ठान गठन भइरहँदा श्रष्टाको रोयल्टीको सुनिश्चितता हुनुपर्ने प्रस्ताव आफूले राखे पनि बेवास्ता गरिएको भनाइ राखिन् ।

नेकपाकी दीलमाया रोकामगरले साहित्य र संस्कृतिमा विकृत्ति विसंगति भित्रिएको भन्दै यसका विरुद्ध अब प्रतिष्ठानले पहल थाल्ने आशा व्यक्त गरिन् ।

तपाईको प्रतिक्रिया