चेपाङ जातिमा संस्कृटाइजेसन

समाधान संवाददाता २०७५ फागुन १२ गते ८:१२

खिम लामिछाने काजी

चेपाङहरूको जीवन वनजंगल र जमिनसँग अति नजिकसँग जोडिएको छ । यिनीहरु मकवानपुर, धादिङ, चितवन, गोरखा, लमजुङ र तनहुँ जिल्लामा छरिएका बसेका पाइन्छ । जंगलमा फिरन्ते जीवन बिताउनु, गिठ्ठा भ्याकुर खोज्नु, माछा मार्नु र शिकार खेल्नु यिनीहरूको दिनचर्या हो । खोरिया गरेर उत्पादन गरेको थोरबहुत अन्नले वर्षको ४ महिना पनि खान पुग्दैन । सानै उमेरमा बिहे गर्ने, परिवार नियोजन बारे ज्ञान नहुनाले बग्रेल्ती सन्तान जन्माउनाले आमा र बच्चाको स्वास्थ्यस्थिति निकै कमजोर पाइन्छ । अत्यन्त गरिबीका कारण कतिपयलाई शरीर ढाक्ने लुगासमेत नहुँदा निर्वस्त्र बस्नुपर्ने बाध्यता छ ।

आर्थिक, सामाजिक, शैक्षिक हरेक हिसाबले निकै पछाडि रहेको सूचीकृत आदिवासीमध्ये चेपाङ अति सीमान्तकृत समुदायमा पर्छ । जनगणना ०६८ अनुसार नेपालमा ६८ हजार ९ सय ६० चेपाङ जाति थिए । चेपाङलाई ‘प्रजा’ पनि भनिन्छ । तत्कालीन राजा वीरेन्द्रले २०३४ सालमा मकवानपुरको मनहरि जाँदा ‘यिनीहरू को हुन’ भनेर सोधनी हुँदा, ‘प्रजा हौं’ भनेपछि पहिचान प्रजा भएको भनाइ छ । त्यसपछि त्यसै वर्षदेखि ‘प्रजा विकास कार्यक्रम’ लागु भएको पाइन्छ । चेपाङ संघको मागअनुसार प्रजा विकास कार्यक्रमलाई २०६२ सालदेखि चेपाङ विकास कार्यक्रम भनेर नामाकरण गरियो । २०४६ सालको राजनीतिक परिवर्तनपछि उनीहरूले आफ्नो जातीय पहिचान ‘चेपाङ’ नै कायम गरे ।

Advertisement

यिनीहरूको बसोबास वनजंगल नजिक, भिरालो परेको जमीन, खोला नजिक छरिएर रहेको हुन्छ । घर सामान्यतया एकतले ढुंगा, माटोले बनेको र खरले छाएको पाइन्छ । कतिपय चेपाङको घर भने काठ तथा सेउलाले बेरेर बनाइएको हुन्छ । चेपाङ अन्य समुदायसँग कम घुलमेल हुने र लजालु स्वभावका हुन्छन् । शारीरिक रूपमा होचा तर मांशपेशीदार हुन्छन् । उनीहरूको पुख्र्यौली पेसा खोरिया खानेर खेती गर्नु तथा शिकार नै हो ।

अन्य मनिससँग घुलमिल र सम्पर्क बढ्दै जाँदा उनीहरुको स्थानीय भाषा, संस्कृतिमा दिनदिनै परिवर्तन आएको छ ।

Advertisement

चेपाङको पहिचान आफ्नो संस्कार, भेषभूषा, भाषा, संस्कृति एवं परम्परागत सीपको आधारमा बनेको छ । त्यस्तैगरी चेपाङलाई जंगली कन्दमुल (लाक), भ्याकुर (भार्लाङ) अनि गिठ्ठा सिस्नो, लहराहरूको मुन्टा आदि आहारको रुपमा लिन्छन् । जीवन धान्नको लागि जंगली जनावरको शिकार गर्छन् । चेपाङको मुख्य बसोबास क्षेत्रमा च्यूरीको रूख पाइन्छ । यसले उनीहरूको पहिचान बोक्छ । गणेशमान गुरुङ (१९८९) का अनुसार ‘चे’ भनेको कुकुर र ‘पाङ’ को अर्थ ‘धनुकाँड’ भन्ने हुन्छ । तसर्थ, जंगली शिकार तथा खानेकुरा बटुलबाटुल पार्न जाँदा कुकुर प्रयोग गर्ने समुदाय नै चेपाङ हुन् । चेपाङको आफ्नै मातृभाषा छ । यिनीहरूको भाषा भोट–बर्मेली परिवारसँग मिल्दोजिल्दो छ । परापूर्व कालदेखि आफ्ना दैनिक व्यावहारिक चलनमा आफ्नै भाषा (लैको) भाषा प्रयोग गरिन्थ्यो । नयाँ पुस्ताले नबोल्ने र नबुझ्ने हुँदा आफ्नै भाषा लोप हुने देखेर १ कक्षाको लागि भनेर चेपाङ समुदायले बोल्ने ठेट भाषाको पुस्तक पनि प्रकाशित गरिएको छ ।

चेपाङको परम्परागत धर्म प्राकृतिक धर्म हो । जस अनुरूप चेपाङले सिमेभुमेदेखि रूखलाई सम्म पूजा गर्छन् । खेतीबाली लगाउनुभन्दा अगावै भुइँ झ्यासा (भूमि पूजा) गर्छन् । यो पूजा प्राय माघ र फागुनमा गर्ने गरिन्छ । बाली पाकिसकेपछि सबैभन्दा पहिले नजिकको थानी भूमिलाई चढाइसकेपछि मात्र मकै खान्छन् । निबुवा, बिमिरो, पिडाँलु, घैंया धान आदि चाहिँ छोनाम गरी पितृलाई चढाएर मात्र खान्छन् । भदौमा पूजा गरिने छोनाम ‘न्वागी’ चेपाङको सबैभन्दा ठूलो धार्मिक पूजा हो । उनीहरू विवाह, चाडपर्व, सामाजिक जमघटमा विभिन्न भाकाका गीतहरू गाउँछन् । चेपाङ लोककथा, काव्य, उखान आदि जस्ता परम्परागत साहित्यमा पनि धनी छन् । तर यसको प्रयोग र प्रचलन अहिले आएर धेरै कम भएको छ । लगभग यो भाषाको गीत र लोक साहित्य लोप हुने अवस्थामा छ । चेपाङको परम्परागत भेषभूषामा महिलाको लागि गुन्यु–चोलो र पुरूषको लागि दौरा–कछाड र त्यसमा जाली भिरिएको स्टकोट हुन्छ । साथमा पछाडिपट्टि कम्मरमा काठको खुर्पेटो भिरिएको हुन्छ ।
चेपाङको परम्परागत गरगहनाको रूपमा मुगा, हारेमाला आदि छन् । हाल चेपाङ समुदायका मानिसको पहिरनमा मिसावट आएको देखिन्छ । पुरूष प्राय जसो सर्ट, कट्टु, पाइन्ट, टोपी आदि लगाउँछन् । महिला लुंगी, ब्लाउज र मजेत्रो ओढ्छन् । कतिपय महिला र बालबालिका कुर्ता सुरुवाल र पाइन्ट, टि–सर्ट पनि लगाउँछ । सामुदायिक वन अवधारणाले वन संरक्षणमा मद्दत पुगे पनि चेपाङ समुदाय भने परम्पराबाट विमुख हुनुपरेको १ चेपाङ बताउँछन् ।

सामुदायिक वन र कबुलियत वनले खोरिया ओगटेपछि हामी चेपाङ विस्थापित हुनुपरेको छ । चेपाङ राप्ती नदी उत्तर, रिउ खोला वरपर, त्रिशूलीपूर्व उठेको महाभारत पर्वत शृंखला वरिपरिको रैथाने वासिन्दा मानिन्छन् । मकवानपुर पश्चिम, चितवन उत्तर र धादिङका दक्षिणी भेगमा घना बसोबास छ । भूमिसँग अति निकट सम्बन्ध रहेको चेपाङ जातिभित्र माटोको बनोटको आधारमा उनीहरूको थर, उपथरहरूको वर्गीकरण भएको पाइन्छ । जन्मदेखि मृत्युसम्मको संस्कार भूमिसँग सम्बन्धित छ । उनीहरूको मूलथलो गाउँघर, खोलानाला, भीरपहरा आदिको नाम चेपाङ भाषाबाटै रहेका छन् । चितवन र धादिङको सीमानामा रहेको कान्द्राङगढी र चितवनको उपप्रधाङगढी चेपाङ वंशको ऐतिहासिक थलो रहेको ‘चेपाङ जातिको चिनारी’ (२०६७) पुस्तकमा उल्लेख छ । चेपाङको मूलथलो यिनै २ गढीको वरिपरि खास गरेर दामनदेखि पश्चिम त्रिशूलीसम्मका पर्वतको उत्तर र दक्षिण पाटो भिरालो पाखा, जंगल र नदीतिर प्रायजसो फैलिएर बसेको क्षेत्र नै हो । चेपाङ बाहुल्य जिल्लामध्ये सबैभन्दा धेरै चितवन जिल्लामा २८ हजार ९ सय ८९ छन् । शिक्षामा निकै पछाडि परेको यो समुदायबाट हालसम्म प्रवेशिका उत्तीर्ण गर्नेको संख्या निकै कम छ । परम्परागत रूपमा हिन्दू र बौद्ध धर्म मान्ने भएता पनि यो जाति पछिल्लो समय क्रिस्चियन धर्ममा पनि आकर्षित हुँदै गएका छन् ।

आफ्नै मौलिक संस्कृति, भेषभूषा र सामाजिक रहनसहन भएको यस जातिलाई उनीहरु सांस्कृतिक धरोहर र पहिचान बचाइ राख्न सरकारी स्तरबाटै ठोस कदम चालिनुपर्ने देखिन्छ । चेपाङ बालबालिकालाई स्कुल भर्ना गराउन निकै कठिन हुन्छ । अभिभावकमा चेतनाको अभाव, टाढाको विद्यालय, लगाउने लुगा र पाठ्यसामग्रीको अभावका कारण उनीहरू विद्यालय जान सकिरहेका छैनन् । कतिपय खोलामा पुल नहुँदा बर्षाको समय स्कुल नै बन्द हुने गरेको कुरा रिउ खोलाका स्थानिय चेपाङ बताउछन । साथै खोला बढेर ठुलो हुँदा विद्यार्थी तथा शिक्षक नै स्कुल पुग्न नसक्ने यथार्थ अयोध्यापुरी आधारभूत विद्यालयका शिक्षक अमृत गायकले बताए । जङल फँडानी गरेर बसोवास गर्ने यो जातिको आफ्नो भन्ने खास कुनै सम्पत्ति छैन । अर्काको काम गरेर, भारी बोकेर, जडिबुटी संकलन, च्यूरीको घ्यू र मह काढेर कमाएको थोरबहुत आम्दानीले गुजारा चलाउनु पर्छ । चितवन माडी कुसुम खोला रिउ खोला वरीपरी बसोबास गर्ने चेपाङ त्यहाँबाट नजिकैको भारतको रामपुरमा गएर मजदुरी काम गर्ने गर्छन् । पैसासँग भारतीय संस्कार र संस्कृति भिœयाउने गरेका छन् । पहिला जग्गा नापी दर्ता हुँदा सरकारी कर लाग्ने डरले आधाभन्दा बढी चेपाङले आफूले कमाउँदै आएको जग्गा पनि आफ्नो नाममा दर्ता नगरेको कारण आधाभन्दा बढीसँग जग्गाधनी प्रमाणपूर्जा नभएको यर्थात १ चेपाङ अगुवाले बताए ।

चेपाङ समुदायमा नयाँ घर बनाउन घडेरीको माटो सुब्बे र फाब्बे अर्थात् हुने र नहुने हेर्ने काम पान्दे (चेपाङ पुरोहित) ले गर्छन् । उनै पान्देले घरको मूलखम्बा कुलदेवता पुज्ने गर्छन् । जन्मदेखि न्वारन, पास्नी, छेवर, विवाहदेखि मृत्युसम्मको कार्यमा उनै पान्देको भूमिका रहन्छ । चेपाङको लिखित वंशावली नभए पनि ७० भन्दा बढी थर र उपथरहरू रहेको पाइन्छ । ती थरहरू भूमिबाट उत्पत्ति भएको आधार, बसाइँसराइ, व्यवसाय, वैवाहिक सम्बन्ध, कामकाजको आधारमा बनेका छन् । चेपाङ जातिको साक्षरता दर ३६ प्रतिशतमात्र छ । अहिले पढ्ने युवाको संख्या बढ्दै गएको छ । चेपाङ बस्तीमा विभिन्न संघसंस्था तथा एनजिओ, आइएनजिओले सामाजिक, शैक्षिक तथा विभिन्न विषयमा जनचेतना अभिवृद्धि गर्ने कार्यक्रमहरु लिएर जाने गरेको हुँदा उनीहरुको रहनसहन र सांस्कृतिक परिवेशमा समेत परिवर्तन आएको छ । अन्य मनिससँग घुलमिल र सम्पर्क बढ्दै जाँदा उनीहरुको स्थानीय भाषा, संस्कृतिमा दिनदिनै परिवर्तन आएको छ ।

तपाईको प्रतिक्रिया