पत्रकार महासंघ गण्डकीको आफ्नै भवन

समाधान संवाददाता २०७७ फागुन १५ गते १३:४६

समाधान संवाददाता, पोखरा

नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशले आफ्नै भवन बनाएको छ ।कास्की शाखाको समन्वयमा कार्यालय व्यवस्थापन गरेको महासंघले आफ्नै कार्यालय भवन बनाएको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको १४ लाख ५० हजार, प्रतिनिधि सभाका सदस्य विद्या भट्टराईको स्थानीय पूर्वाधार विकास कार्यक्रमको १० लाख लगायतको सहयोगमा भवन बनाएको अध्यक्ष त्रिभुवन पौडेलले जानकारी दिए ।

Advertisement

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले भवन उद्घाटन गरे । उनले नागरिक संस्थाको रुपमा रहेको पत्रकार महासंघले राज्यका निकायको खबरदारी निगरानी गर्नुका साथै प्रश्न उठाउनेभएको बताए ।

पत्रकारको हकहित बोल्नेका अलवा महासंघ सञ्चारमाध्यमको सवलीकरणमा लागेको उल्लेख गर्दै अध्यक्ष आचार्यले महासंघले सधैभरी लोकतन्त्रको पक्षमा वकालत गर्दै आएको दाबी गरे ।

Advertisement

‘पत्रकार महासंघ साझा चरित्रको साझा संस्था हो,’अध्यक्ष आचार्यले भने, ‘नीति साझा तथा साझा नेतृत्व बनाउने हो ।’

अध्यक्ष आचार्यले संघीयतालाई बलियो बनाउन महासंघले विधान निर्माण तथा व्यवहारिक कार्यान्वयन गरेको दाबी गरे । उनले प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत ३ तहको निर्वाचन एकै पटक गर्न लागेको जानकारी दिए ।

प्रतिनिध सभाका सदस्य विद्या भट्टराईले क्रान्ति र आन्दोलनको बलबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताइन् ।

प्रजातान्त्रिक मूल्य, मान्यता स्थापित गर्न तथा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्ने उल्लेख गर्दै उनले पत्रकारले जनताको तर्फबाट प्रश्न उठाएर लोकतन्त्रलाई सुदृढ गर्न भूमिका रहने चर्चा गरिन् । उनले शक्ति पृथकीकरणको सिद्धान्त अनुसार कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका चल्नुपर्र्ने विचार राखिन् ।

भट्टराईले लैंगिक हिंसा न्यूनीकरणका लागि कानुनमा भएका त्रुटिलाई सुधार गर्न तथा भएका कानुन कार्यान्वयनका लागि विश्लेषणात्मक समाचार लेख्न पत्रकारलाई आग्रह गरिन् ।

कार्यक्रममा भवन निर्माणका सहयोग गर्ने प्रतिनिधि सभाका सदस्य विद्या भट्टराई, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, पोखरा महानगरपालिकालाई सम्मानपत्र प्रदान गरियो ।

सभामा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यहरु रामकृष्ण ज्ञवाली र नवीन कुइँकेल, पत्रकार महासंघ गण्डकी प्रदेश समिति अध्यक्ष त्रिभुवन पौडेल, उपाध्यक्ष शान्ति गुरुङ, महासचिव गणेश पौडेललगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया