उच्च बार महिला समितिलाई सहयोग

समाधान संवाददाता २०७७ फागुन १५ गते १८:५१


पोखरा, १५ माघ (समाधान)–

नेपाल मानव अधिकार संगठन (हुरन) ले उच्च अदालत बार एसोसियन पोखराको महिला समितिलाई आर्थिक सहयोग गरेको छ । हुरनले महिला समितिलाई शनिबार समितिको कार्यालयमा ६० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।


हुरनका तर्फबाट हुरनका अध्यक्ष महामुनिश्वर आचार्यले बारमा महिला समिति अध्यक्ष विनीता नेपालीलाई सहयोग रकम प्रदान गरे । समितिमा आर्थिक पक्ष कमजोर रहेको सूचना पाएपछि आफूहरुले सहयोग गरेको आचार्यले बताए । लकडाउनमा मात्र १४ सय महिला हिंसाका उजुरी परेको भन्दै आचार्यले अझै धेरै महिलाहरु न्यायबाट टाढा रहेकाले महिला समितिहरुलाई सबलीकरणमा लागेको बताए ।

Advertisement


सीमित स्रोतसाधनका बाबजुत उच्च अदालत बार एसोसियन पोखराको महिला समितिले गरेको कामको उनले प्रशंसा गरे । ‘म त सामान्य समस्या होलान् भन्ने सोचेको थिएँ,’ आचार्यले भने, ‘यहाँ आएपछि देखें समस्याहरु । यस्तो समस्यामा पनि निकै सक्रिय समितिलाई अझै बढी सहयोग गर्ने मन छ ।’


नेपाल बार काउन्सिलका पार्षद मुकुन्दराज अर्यालले महिला समितिले आर्थिक स्रोतको कमीका कारण बाहिर देखिने गरी काम गर्न नसकेको बताए । अब आर्थिक पक्षलाई सुधार गर्दै अझै सक्रिय भएर काममा लाग्न शुभकामना दिए ।

Advertisement


महिला समिति अध्यक्ष तथा उच्च बारकी सहसचिव विनीता नेपालीले आफूमा अझै काम गर्ने भोक रहेकाले अर्थ जुटाउँदै काम गर्दै जाने बताइन् । विगतमा आफूले बनाएका योजनाहरु रकम अभावले रोकिएपनि अब बिस्तारै ती कामलाई निरन्तरता दिने उनको अठोट थियो । अहिले केही पीडितहरु समितिको भौतिक स्तर देखेर नै सेवा लिन नआउने गरेको उनको टिप्पणी थियो । ‘लिनेहरु पनि दिनेको हैसियत हेर्नुहुन्छ, हाम्रो त बस्ने ठाउँ पनि राम्रो छैन, तर पैसा हैन बौद्धिकता भएपछि काम हुन्छ भनेर लागेका छौं,’ उनले भनिन् ।


आफूहरुले पहिलोपटक कसैको सहयोग पाएको उनले बताइन् । यस्ता सहयोग अझै प्राप्त गर्न सके महिला समितिले धेरैलाई न्यायमा पहुँच पु¥याउन र निशुल्क न्यायिक सेवा दिन सक्ने नेपालीले बताइन् ।


रकम हस्तान्तरण कार्यक्रममा हुरन गण्डकी अध्यक्ष नरेन्द्र बाँस्तोला, हुरन गण्डकीका अच्यूत पौैडेल, उच्च अदालत बार एसोसियसन सचिव सन्तोष अधिकारी, सदस्य कृष्ण गुरुङ लगायत सहभागी थिए ।

तपाईको प्रतिक्रिया