मेरो नेपाल क्लबले मझेरीपाटनमा खोल्यो व्यायामशाला

समाधान संवाददाता २०७७ फागुन २४ गते १५:३७


पोखरा, २४ फागुन

Advertisement


मेरो नेपाल युवा क्लब पोखरा १४ ले व्यायामशाला स्थापना गरेको छ । झन्डै ३५ लाख रुपैयाँ लागतमा क्लबले मझेरीपाटनस्थित आफ्नै कार्यालय भवनको दोस्रो तलामा व्यायामशाला स्थापना गरेको हो । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले सोमबार उक्त व्यायामशालाको उद्घाटन गरे ।

Advertisement


क्लब अध्यक्ष दिवस कुँवरका अनुसार अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा भाग लिने खेलाडीले अभ्यास गर्न आवश्यक सामग्री व्यायामशालामा राखिएको छ । उनले अनुसार ट्रेड मिल लगायत केही सामग्री भने थप्नुपर्नेछ । उनले झन्डै ३५ लाख रुपैयाँ खर्चमा व्यायामशाला स्थापना गरिएको जानकारी दिए । व्यायामशालामा केबलक्रस, लेगप्रेस, बेन्चप्रेस जस्ता अत्याधुनिक सामग्री छन् ।

Advertisement


क्लबले पोहोर कात्तिकमा आयोजना गरेको सेभेन ए साइड फुटबल प्रतियोगिताबाट बचत २० लाख रुपैयाँ व्यायामशालाका लागि खर्च गरिएको छ । तत्कालीन मन्त्री जगत विश्वकर्माले युवा तथा खेलकुद मन्त्रालयबाट ८ लाख रुपैयाँ विनियोजन गरी मझेरीपाटनको व्यायामशालाका लागि पठाएका थिए ।


क्लबलाई स्थापनाकालदेखि र व्यायामशालाका लागि सक्रियतापूर्वक खटिएर योगदान पुर्‍याएका समाजसेवी तथा क्लबका पूर्वअध्यक्ष राजुकुमार थापालाई कार्यक्रममा दोसल्ला ओढाएर सम्मान गरिएको थियो । क्लब अध्यक्ष दिवस कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष प्रेमबहादुर कार्की, क्लबका निवर्तमान अध्यक्ष हरि जिसी, समाजसेवीहरु बोधबहादुर कार्की, रोमबहादुर कार्की, बलबहादुर सेन्चुरी, लक्षमण कार्की, पार्वती ढुंगाना, राजुकुमार थापा, क्लबका उपाध्यक्ष एकेन्द्र कुँवर र सचिव कमल ढुंगाना लगायतले बोलेका थिए ।


मेयर जिसीले स्वास्थ्य नै सबैभन्दा ठूलो चिज भएको विचार राखे । ‘स्वस्थ भइएन भने जतिसुकै राम्रो बाटो बनाएर के अर्थ ? जतिसुकै राम्रो घर बनाएर के अर्थ ?’ उनले भने, ‘अचेल धेरैलाई सुगर छ, प्रेसर छ, मकै खान छोड्यौं, जंक फुड खान्छौं, हाम्रो आनीबानी बदल्नुपर्छ ।’
मेयर जिसीले मेरो नेपाल युवा क्लबले बनाएको व्यायामशाला उत्कृष्ट रहेको चर्चा गर्दै भने, ‘कोही व्यायामशाला बनाउँछु भनेर आए भने पहिला मेरो नेपाल क्लबको व्यायामशाला हेर्न जाऊ भनेर धेरै भिजिटर पठाउँछु ।’

मेयर जिसीले फुर्सदिलो बनेर समय कटाउन भन्दा व्यायामशालामा आएर व्यायाम गर्न स्थानीयलाई सुझाए । क्लब र क्लबका कार्यक्रमहरुमा सहयोग पुर्‍याउँदै आएका वडाध्यक्ष प्रेमबहादुर कार्की, व्यवसायी किरण केसी, विमल बस्याल, समाजसेवीहरु ज्येष्ठ नागरिक आसमाया गुरुङ, बोधबहादुर कार्की रोमबहादुर कार्की र जिल्ला खेलकुद विकास समितिका प्रकाश बराललाई कार्यक्रममा मायाको चिनो प्रदान गरिएको थियो । उनीहरुमध्ये कार्यक्रममा उपस्थित नभएकाहरुलाई प्रतिनिधिमार्फत मायाको चिनो हस्तान्तरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया