मुस्ताङका ५० प्रतिशत विद्यालय मर्ज हुने

समाधान संवाददाता २०७७ चैत १५ गते ९:३८

मुस्ताङमा २ सय २८ जना मौजुदा शिक्षक दरबन्दीमा पुनर्वितरण गरी १ सय ४ जना शिक्षक कायम

एसके थकाली, जोमसोम

मुस्ताङका विद्यालयमा पुलमा रहेका शिक्षक दरबन्दी मिलानपछि ५० प्रतिशत विद्यालय मर्ज हुने सम्भावना देखिएको छ । सरकारले देशैभर शिक्षक दरबन्दी पुनर्वितरण सुरु गरेसँगै मुस्ताङका विद्यालयमा शिक्षक संख्या कटौतीपछि मर्ज गर्नैपर्ने बाध्यता आइपरेको छ ।

Advertisement

नेपाल सरकार मन्त्रिपरिषदद्वारा शिक्षक दरबन्दी पुनर्वितरण कार्यविधि २०७६ स्वीकृत भएसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक पुनर्वितरण सुरु गरेको हो । जसअनुसार मुस्ताङमा २ सय २८ जना मौजुदा शिक्षक दरबन्दीमा पुनर्वितरण गरी १ सय ४ जना शिक्षक कायम गरिएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख टंकराज बराल जानकारी दिए ।

उनका अनुसार पुलमा रहेका प्रावितर्फ मुस्ताङको लोमान्थाङबाट २९ जना शिक्षकमा १५ जना, लोघेकर दामोदरकुण्डबाट २३ जना शिक्षकमा १४ जना, वारागुङ मुक्तिक्षेत्रबाट ४८ जना शिक्षकमा २३ जना, घरपझोङबाट ५५ जना शिक्षकमा २३ जना र थासाङ गाउँपालिकाबाट ७३ जना शिक्षकमा २९ जना शिक्षक कोटा कायम गरिएको छ ।

Advertisement

योसँगै प्रावितर्फ मुस्ताङका ५ वटै स्थानीय तहबाट कुल १ सय २४ जना शिक्षकको दरबन्दी अन्य जिल्लामा मिलान गरिने भएको समन्वय इकाए प्रमुख बरालले उल्लेख गरे ।

मुस्ताङबाट झन्डै ६० प्रतिशत पुलमा रहेका शिक्षक पुनर्वितरण हुने भएपछि मुस्ताङका विद्यालय समस्यामा परेका हुन् । मुस्ताङबाट १ सय २४ जना शिक्षक दरबन्दी मिलानमा परेसँगै हालसम्म ७७ जना शिक्षक पुनर्वितरण भइसकेको छ भने अझै ४६ जना शिक्षकको पुनर्वितरण हुन बाँकी नै छ ।

पुनर्वितरण हुन बाँकी रहेका ४६ जना शिक्षक मध्ये २२ जनाले दरबन्दी मिलानका लागि शिक्षा विकास तथा समन्वय इकाइ मुस्ताङमा सिफारिस गरेका छन् ।

मुस्ताङको लोमान्थाङ, लोघेकर दामोदरकुण्ड र वारागुङ मुक्तिक्षेत्रको निमावि तहको विद्यालयमा खुद पुलमा रहेको शिक्षक दरबन्दी छैन । तर निमावितर्फ मुस्ताङको घरपझोङमा मौजुदा १५ जना शिक्षकमा १० जना र थासाङमा २१ जना शिक्षकमा ८ जना मात्र शिक्षक कायम गरिएको छ ।

मावि तहतर्फ लोमान्थाङमा मौजुदा ६ जना शिक्षकमा ५ जना, वारागुङ मुक्तिक्षेत्रमा ६ जनामा ४ जना, घरपझोङमा १३ जनामा १२ जना र थासाङमा १७ जनामा १३ जना शिक्षक दरबन्दी कायम गरिएको समन्वय इकाइले जनाएको छ ।

योसँगै लोमान्थाङमा प्रावि र मावि गरी १५ जना, लोघेकरमा प्राविका ९ जना, वारागुङमा प्रावि र मावि २७ जना, घरपझोङमा मावि, निमावि र मावि गरी ३८ जना र थासाङमा प्रावि, निमावि र मावि गरी ६१ जना पुलमा रहेका शिक्षक कटौती गरी पुनर्वितरण गरिने भएको हो ।

हिमाली जिल्ला मुस्ताङमा ५१ सामुदायिक विद्यालय छन् । लोमान्थाङमा एक माविसहित १०, लोघेकरमा एक निमाविसहित ८, वारागुङमा एक मावि, २ निमाविसहित १३, घरपझोङमा दुई मावि, एक निमाविसहित ८ र थासाङमा तीन मावि, २ निमाविसहित १२ विद्यालय छन् ।

सरकारले पुलमा रहेका शिक्षक दरबन्दी पुनर्वितरण गरेसँगै मुस्ताङमा प्रावि तहका अधिकांश विद्यालय मर्ज गर्नुपर्ने अवस्था आएको शिक्षा विकास तथा समन्वय इकाईले बताएको छ । मुस्ताङको लोमान्थाङ, लोघेकर दामोदरकुण्ड र वारागुङ मुक्तिक्षेत्र गापाले मानसिक रुपमा विद्यालय मर्ज गर्ने तयारी गरिसकेका छन् ।

उनीहरुले आगामी शैक्षिक सत्रदेखि मर्ज गरी बाँकी रहेका विद्यालयमा आवासीय सेवा सञ्चालन गर्ने जनाएका छन् । तर तल्लो मुस्ताङको घरपझोङ र थासाङ गापाले भने यसबारे कुनै योजना तयार गर्न सकेका छैनन् ।

दरबन्दी मिलानपछि थासाङले विद्यालय व्यवस्थापन समिति बसेर आवश्यक निर्णय लिने प्रमुख प्रशासकीय अधिकृत सन्तोष केसीले जानकारी दिए । थासाङमा दुई निमावि तहका २१ जना शिक्षकमध्ये १३ जनाको दरबन्दी मिलान भएकाले निमावि सञ्चालनमा समस्या पर्ने उनले बताए ।

शिक्षा विकास तथा समन्वय इकाइले मुस्ताङमा दरबन्दी मिलानले प्रावि तहतर्फ समस्या नपार्ने स्पष्ट पारेको छ । मुस्ताङमा ४९ बालविकास केन्द्रमा दरबन्दी मिलानले कुनै अप्ठेरो नपर्ने, थासाङका तीन माविमा शिक्षा नियमावली अनुसार १५ जना शिक्षक चाहिनेमा २ जना अपुग हुने र वारागुङमा १ जना दरबन्दी थपिनुपर्ने इकाइले जनाएको छ ।

तपाईको प्रतिक्रिया