नयाँ सरकारलाई अवसर

समाधान संवाददाता २०७८ असार १ गते ९:०५

सम्पादकीय

माओवादी र एमालेको विवाद र विभाजनले कांग्रेस गण्डकी प्रदेशको सत्ताको बागडोर सम्हाल्न आइपुग्यो । प्रमुख प्रतिपक्ष दलको नेता हुँदा कृष्णचन्द्र नेपाली भनिरहन्थे, जनताले हामीलाई ५ वर्ष प्रतिपक्षमा बस्न आदेश दिएका हुन्, त्यसै गर्छाैं ।

जनादेश विपरीत एमाले, माओवादीले सत्ता कांग्रेसलाई सुम्पिए । प्रतिपक्षमा रहँदा सरकारको आलोचना कांग्रेसले गर्दै आएको थियो । खास गरी कोभिड १९ रोकथाम प्रभावकारी नभएको भन्दै उसले आवाज उठायो ।

Advertisement

स्वास्थ्य सेवा प्रभावकारी बनाउन उसले उठाएको आवाज नाजायज होइन । विकास निर्माणलाई द्रुततर गतिमा लैजान उसले भनेको पनि ठिक हो । प्रदेश सरकारले देखिने काम गरोस्, जस्तो कि पोखराबाट नवलपुर हुँदै भारतीय सीमा त्रिवेणीसम्मको राजमार्ग निर्माण गरोस् भन्ने कुरामा कृष्णचन्द्र नेपालीले जहिल्यै जोड दिँदै आएका हुन् ।

पूर्ववर्ती सरकार प्रमुख पृथ्वीसुब्बा गुरुङले पनि उनले भनेको राजमार्ग बनाउन सके प्रदेशको लाइफ लाइन तयार हुने बताउँथे । त्यसका लागि काम गरिरहेको पनि सुनाउँथे । तर कृष्णचन्द्रलाई कहिल्यै चित्त बुझेको थिएन ।

Advertisement

तर, अब स्वयं कृष्णचन्द्र नेपाली मुख्यमन्त्री भएर आएका छन् । अब उनलाई अवसर छ आफूले भन्दै आएका मुद्दा कार्यान्वयन गर्ने । उनी आफै नवलपुरका बासिन्दा हुन् । उनले जोड दिएको राजमार्ग निर्माणमा आफ्नो कार्यकालमा कुनै ठोस काम गर्न सके भने उनको स्मरणीय कार्य त्यही हुने छ ।

र, उनी केवल आफू प्रतिपक्ष भएर आवाज उठाएका रहेनछन्, वास्तवमै उनमा त्यो काम गर्ने दृढ इच्छा शक्ति थियो भन्ने प्रमाणित हुन्छ । कोभिड १९ को प्रभावकारी रोकथामका लागि उनले प्रत्येक घरमा गएर पिपिआर परीक्षण गर्नुुपर्ने भनेर पनि आवाज उठाएका थिए । आजको दिनमा त्यो अब असम्भव नहोला किन भने अब पिसिआर नै परीक्षण गर्नुपर्दैन, त्यो भन्दा सजिलो र सस्तो एन्टिजेन परीक्षण प्रविधि आइसकेको छ । तर, परीक्षणमात्रै काफी छैन । हुँदैन ।

कोभिड १९ का बिरामीको उपचार गर्न सरकारी र निजी अस्पतालहरुमा पर्याप्त बेड र सुविधा बनाउन जरुरी छ । निजी अस्पतालहरुले गरिब र विपन्नको उपचार गरेका छैनन्, त्यसमा उनीहरुलाई नियमन गर्ने र उपचार गर्न बाध्य पार्ने गर्न सके वास्तवमै नयाँ सरकारको वाहवाही हुनेछ । होइन भने हिजोका दिनमा उठाएका आवाज जुन विषयलाई पनि केवल राजनीतिकरण गर्न खोजिएको रहेछ भन्ने देखिन्छ । त्यस्तो नहोस् । पूर्ववर्ती सरकारभन्दा आफूलाई पोखरेलले अब्बल सावित गरुन् । शुभकामना ।

तपाईको प्रतिक्रिया