भत्किएकै कारागारमा कैदी—बन्दीको बाँस

समाधान संवाददाता २०७८ साउन २२ गते १८:२६

एसके थकाली \ जोमसोम—

मुस्ताङको जोमसोम कारागार भवन भत्किएपछि त्यहाँ बस्ने थुनुवा कैदी—बन्दीले जोखिम मोल्न बाध्य परेका छन् ।बुधबार एक तले ९ कोठा भएको जीर्ण कारागार भवन अचानक भत्किएको हो । भवन भत्किएपछि कारागारमा बस्दै आईरहेका कैदी—बन्दीको मानवीय जीवन जोखिममा पर्न थालेको हो ।
झन्डै २०२७ साल अघि निर्माण भएको सो कारागार भवन ५० बर्ष भन्दा बढी पुरानो भईसकेको छ । तत्कालिन समय सहायक अञ्चालाधिस बस्ने ढुङ्गा र माटोले बनेको सो कारागार भवनको ३ कोठा पुरै भत्किएको छ भने अन्य भाग समेत चर्किएर क्षत बिक्षेत भएका छन् ।भवन भत्किएपनि कारागारका कैदी—बन्दीलाई अन्य सुरक्षित स्थानमा स्थान्तरण गरिएको छैन ।

उनीहरु अहिले पनि सो भत्किएकै जीर्ण भवनमै सुत्न र बस्न बाध्य परेका छन् ।यस अघि भत्किएको जीर्ण कारागार भवनको दुई कोठामा कैदी—बन्दी,६ कोठामा सुरक्षाकर्मी र एक कोठामा जेलर बस्ने गथ्र्ये ।भवन भत्किएपछि त्यहा बस्ने सुरक्षाकर्मीलाई आपतकालीन अर्को भवनमा स्थान्तरण गरिएको छ भने कैदी—बन्दीलाई राख्ने अर्को बैकल्पिक भवन नहँुदा व्यवस्थापनमा समस्या परेको छ ।

Advertisement

भत्किएको जीर्ण मुस्ताङ कारागार भवनमा कैदी—बन्दी निस्सासिएरै बस्न बाध्य छन्। त्यसो त उनीहरुलाई कारागारले सुरक्षाकर्मी स्थान्तरण गरिएको स्थानमा राख्न खोजेपनि कैदी—बन्दीले त्यहाँ झनै निस्सासीएरै बस्नु पर्ने जनाउँदै बस्न मानेका छैनन् ।उनीहरु बरु जोखिमनै मोलेर भएपनि सोही जीर्ण भवनमा बस्न चाहेको कारागार प्रमुख भुवन केशीले जानकारी दिए । दश जनाको क्षमता भएको कारागारको साँघुरो २ कोठामा उनीहरुलाई राखिएको छ । कारागार मापदण्ड अनुसारको पूर्वाधार नहुँदा कैदी—बन्दीको न्युनतम मानवअधिकारको रक्षा हुन नसकेको हो ।

यता स्थानीय प्रशासन तथा कारागार कार्यालयले सुरक्षा संम्वेदनशीलता र कैदी—बन्दीको ज्यान सुरक्षित राख्ने दुबै प्रकारको चुनौती थपिएको बताएको छ ।जिल्ला प्रशासन कार्यालयले बिहिबार भत्किएको भवनको लागत स्टमेट तयार गरी तत्काल पूननिर्माण गर्न कारागार व्यवस्थापन विभागमा पत्रचार गरेको जनाएको छ । भवन भत्किएपछि बन्दी सुरक्षाका लागि बन्दी स्थान्तरण गर्न विभागसंग सहमती भईसकेको प्रशासनको भनाई छ । मुद्धा फैसला भएका कैदी—बन्दीलाई अन्य जिल्लामा स्थान्तरण गर्ने र फैसला नभएका कैदी—बन्दीलाई जिल्लामै राख्ने तैयारी भईरहेको जनाईएको छ ।

Advertisement

यस्तै,भवनको पून निर्माणले मात्र दीर्घकालीन समस्या समाधान नहुने भएकाले विभागसंग मुस्ताङ कारागारलाई मापदण्ड अनुसारको नयाँ भौतिक संरचना निर्माण गर्न माग गरिएको छ । स्थानीय स्तरमा कारागार भवन यथाशिघ्र चाँडो स्थायी पक्की संरचना निर्माणको खाँचो रहेको सरोकारवालाहरुले बताएका छन् ।

मुस्ताङ कारागारको केही कोठा भत्किएपनि सो भवन पूर्ण जोखिम रहेको छ । भवनको भित्री र बाहिरी भाग समेत पुरै चर्किएर क्षेत—बिक्षेत भएकाले केदी—बन्दी सुत्ने कोठा कुनैपनि बेला भत्किन सक्ने जोखिम छ ।यसअघि पटक÷पटक स्थानीय प्रशासनले कारागारको बिद्यमान अवस्थाको जानकारी गराएपनि विभागले चाँसो दिएको पाईएको छैन । विभागको वेवास्ताका कारण मुस्ताङ कारागारका कैदी—बन्दीले पाउने न्युनम प्राप्त गर्ने मानवअधिकारका शर्तहरु पुरा हुन नसकेको हो ।
कारागारका कैदी—बन्दी भन्छन्,“ कारागार भनेको हिरासत जस्तो छ ।हामी यहाँ साँधुरो कोठामा निस्साएरै बस्न विवश छौं । कारागार कारगार जस्तो छैन ।’ उनीहरुले २४ सै घण्टा साँधुरो कोठामा कैदी—बन्दी बस्नु परेको र कहिल्यै घामको मुहार समेत देख्न नपाएको गुनासो सुनाए । कारागारको सबै कोठा चर्किएकाले कतिखेर के हुने थाहा छैन ,राती सुत्दा समेत निर्धक्क सुत्न नपाईने उल्लेख गरे । “भवन जीर्ण छ ,राती निद्रा लाग्दैन, एक कैदी —बन्दीले भने,“ खै कैदी—बन्दीको मानव अधिकार? यसरी कैदी—बन्दीलाई राख्दा केही मानवीय दुर्घटना भईहाले यसको जवाफदेही को हुन्छ।?’
मुस्ताङ कारागारको सुरक्षा वाल कमजोर हुँदा कारागारका कैदी —बन्दीलाई कोठा भित्रै सीमित गरिएको हो ।कारागारमा चारैतिर सुरक्षा चेकपोष्ट समेत छैन । कारागारमा दरबन्दी अनुसारको सुरक्षाकर्मी तथा कर्मचारी अभाव छ । कारागारका एक कैदी—बन्दीले भने ,“ यो त जेल होईन प्रहरी हिरासत जस्तो छ ,हामी त थुनिएका थुनिएकै छौ । यसरी राख्ने हो भने त कैदी बन्दी स्वास्थ्य समेत बिग्रन सक्छ । यो चिन्ताको बिषय छ ।


फोटो क्याप्सन ः भत्किएकै साँघुरो कारागारमा कैदी—बन्दीको बाँस

तपाईको प्रतिक्रिया