ब्रिटिस सेनाबाट अवकासपछि दक्षिण एसियाकै पहिलो चाउचाउ उद्योगका संस्थापक

समाधान संवाददाता २०७८ कार्तिक ३ गते १८:५३
स्वर्गीय फणीन्द्रमान श्रेष्ठ


पोखरा

दक्षिण एसियामै नेपालमा पहिलोपटक चाउचाउ उद्योग नेपालमा खुलेको हो । त्यो पनि पोखरामा । बेलायती सेनाबाट अवकास लिएपछि फणीन्द्रमान श्रेष्ठले सूर्यबहादुर केसी, कृष्ण आचार्यसहितको टिम बनाएर रारा चाउचाउ उद्योग खोलेका थिए ।


राराको उत्पादक गण्डकी नुडल्सका संस्थापक अध्यक्ष उनै श्रेष्ठको निधन भएको छ । गत साताको बुधबार असोज २७ गते श्रेष्ठले अन्तिम सास फेरेका हुन् । श्रेष्ठ पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं मानार्थ सदस्य थिए । श्रेष्ठको उपचारका सिलसिलामा काठमाडौंको शिक्षण अस्पतालमा निधन भएको हो । पाचनसम्बन्धी समस्या देखिएपछि अस्पताल लगिएको थियो । अस्पतालको ११ दिने बसाइको क्रममा पनि उनको रोगमा सुधार आएन बरु पिसाबसम्बन्धी पुरानो रोगले च्याप्न थाल्यो र अन्ततः उनले संसार छाडे ।

Advertisement


१९९८ साल भदौ ४ गते लमजुङ जिल्ला दुराडाँडाको पुरानकोट फोस्रेगाउँ दुराडाँडामा फणीन्द्रमानको जन्म भएको थियो । उनी २०३३ सालमा पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य हुँदै २०४१ देखि २०४७ सम्मको कार्यकालमा उपाध्यक्ष भएका थिए । उनी २०४७ देखि २०४९ सालसम्म संघको अध्यक्ष भएका थिए ।


गण्डकी ब्रिक फ्याक्ट्रीका साथै शक्ति ग्यास कम्पनी, पोखरा म्याकरोनी प्रोडक्ट प्रालि, त्रिशक्ति सोप एण्ड केमिकल कम्पनीमार्फत् निलगिरि साबुन उत्पादन औद्योगिकीकरणप्रति उनकै लगावकै परिणाम थिए । पछि उनले अनुपम फुड्स प्रालि र नेपाल स्न्याक्स प्रालि स्थापना गरी चाउचाउ उत्पादन गरेका थिए ।

Advertisement


पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष रहँदा उनले संघको गरिमा उकास्न तथा निजी क्षेत्रको हक÷हितको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संघको सचिवालय सुदृढीकरण, औद्योगिक सूचना केन्द्रको स्थापना एवं अन्तर्राष्ट्रिय साझेदारी अभियान पनि उनकै कालखण्डमा सुरुआत भएका थिए । पोखरा सभागृह निर्माणताका उनी निर्माण समितिको सदस्य, पोखरा ब्लड बैंक निर्माण समितिका संयोजक, सत्य साइ केन्द्र पोखराका अध्यक्ष पनि थिए ।


प्रविधिको प्रयोगमा पनि उनी उत्तिकै चासो राख्थे । जीवनको उत्तराद्र्धमा पनि उनको सक्रियता जारी थियो । जन्मथलो फुस्रेगाउँमा प्रागांंरिक खेती गर्दै आएका उनी गाउँलेका लागि प्रेरणादायी थिए । पोखरा उद्योग वाणिज्य संघले पूर्वअध्यक्ष श्रेष्ठको निधनमा शोक व्यक्त गरेको छ । संघका महाससचिव सुरेन्द्रमा बिजुक्छेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अभिभावक तथा संघका पारिवारिक सदस्य गुमाउँदाको पीडा हामी शब्दमा वर्णन गर्न असमर्थ छौँ ।’ दुःखको यो घडीमा पोखरा उद्योग वाणिज्य संघले सचिवालयमा रहेको झण्डा आधा झुकाएर सम्मान श्रद्धाञ्जली व्यक्त गरेको थियो । अगुवा उद्योगी÷समाजसेवी व्यक्तित्वको रुपमा स्वर्गीय श्रेष्ठ, पोखराको औद्योगिकीकरणका लागि सदा स्मरणीय रहने विश्वास पोखरा उद्योग वाणिज्य संघले गरेको छ । स्वर्गीय श्रेष्ठका एक छोरा र एक छोरी छन् ।

तपाईको प्रतिक्रिया