मणिपाल कलेजमा अनेरास्ववियुको प्रदर्शन

समाधान संवाददाता २०७८ मंसिर २३ गते १३:५९

पोखरा ।
अनेरास्ववियु गण्डकी प्रदेशले मणिपाल मेडिकल साइन्स अगाडि विरोध प्रदर्शन गरेको छ । मणिपाल मेडिकल कलेज अफ साइन्सले चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीबाट अवैध रुपमा शुल्क असुल गरेपछि अनेरास्ववियुले सुर गरेको आन्दोलन बुधबार पनि जारी रह्यो ।

Advertisement


अनेरास्ववियुले २० गते मणिपाल कलेजमा अनिश्चितकालका लागि तालाबन्दी गरेको छ । विरोध कार्यक्रममा अनेरास्ववियुले अन्यायमा परेका विद्यार्थीलाई बाहिर निस्किन आह्वान गरेको छ । अध्ययन गर्न आएका विद्यार्थीहरुलाई बाहिर न बोल्न कलेजबाट धम्की दिइरहेकोप्रति अनेरास्ववियु प्रदेश संयोजक प्रकाश पौडेलले मणिपाल प्रशासनलाई चेतावनी दिएका छन् ।


विरोधमा उत्रिएका विद्यार्थीले मणिपालका विद्यार्थीको साथमा आफूहरु भएकाले लुटतन्त्र विरुद्धमा उभिन आह्वान गरेका छन् । कार्यक्रममा नेकपा एमाले पोखरा महानगर १६ का अध्यक्ष राजेश गुरुङले एक्यवद्धता जनाउँदै आफ्नो वडामा रहेको मणिपालले विद्यार्थीलाई ज्यादती गरेकाले त्यसको विरुद्धमा सम्पूर्ण समुदाय रहेको बताए ।


कार्यक्रममा एएमएसएकाका गण्डकी संयोजक प्रेम जोशी, सह संयोजक तथा अनेरास्ववियु केन्द्रीय सदस्य अनित सिन्हाले आफूहरुले गण्डकी मेडिकल कलेजमा लामो समय गरेको आन्दोलनले नै त्यहाँको समस्या समाधान भएकाले विद्यार्थीलाई बाहिर निस्कन आह्वान गरेका थिए ।
आन्दोलनको कार्यक्रम विभिन्न स्वरुपमा अगाडि जाने अनेरास्ववियु गण्डकी प्रदेश सचिव आरके पोखरेलले जानकारी दिए । अनेरास्ववियुले संयुक्त विद्यार्थी संगठनको तर्फबाट मणिपालमा भएको लुटबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराइसकेको छ ।


मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुपले प्रत्येक विद्यार्थीसँग एड्भान्स शुल्कको नाममा ६ लाख रुपैयाँ अतिरिक्त शुल्क मागेको छ । ‘मेरिट र म्याचिङ’ अनुसार मणिपालमा विद्यार्थी भर्ना भएका थिए । त्यहाँ अध्ययनरत एक विद्यार्थीका अनुसार काठमाडौं विश्वविद्यालयलाई पहिलो किस्ता बुझाइसकेकोमा मणिपालले फेरि अतिरिक्त शुल्क मागेको छ । होस्टेल र मेसको पनि पहिलेको भन्दा धेरै शुल्क लिएको छ । यसपटक होस्टेल बस्न अनिवार्य भनिएको विद्यार्थीले बताएका छन् । मणिपालले खेलकुद, सूचना प्रविधि, डकुमेन्टेसन, धरौटीका नाममा अतिरिक्त शुल्क मागेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया