पूर्व मन्त्रीको ललिपप प्रस्तावित चराङ विमानस्थल
जोमसोम—
उत्तरी चिनको स्वशासितक्षेत्र तिब्बतसंग सीमाना जोडिएको मुस्ताङको लो—घेकर दामोदरकुण्ड—१ चराङमा प्रस्तावित गरिएको विमान स्थल निर्माण परियोजना अघि बढाउन मुस्ताङका संघीय सांसद प्रेमप्रसाद तुलाचनले माग गरेका छन् । शुक्रबार अन्तराष्ट्रिय संम्वन्ध समितिको बैठकमा संघीय सांसद तुलाचनले जतिसक्दो छिटो चराङ विमान स्थलको काम अघि बढाउन संस्कृति ,पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेमबहादुर आलेको ध्यानआर्कषण गराएका हुन् ।
पूर्व संस्कृति ,पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईसहितको टोलीले २०७५ सालमा उपल्लो मुस्ताङको चराङमा विमानस्थल सम्भाव्यता अध्ययन गरेको थियो ।पूर्व मन्त्री भट्टराईकै पहलमा प्रस्तावित विमानस्थलको डिपिआर सर्भे गरिएको थियो । चराङ विमानस्थलको बिस्तृत परियोजना प्रतिवेदन ( डिपिआर) निर्माण भईसकेको ४ वर्ष बितिसक्दा समेत विमानस्थल निर्माणले प्राथमिकता पाउँन सकेन ।
समून्द्री सतहदेखि करिब ४ हजार मिटर उचाईको क्षेत्रमा विमानस्थल प्रस्तावित गरिएको थियो । यसका लागि डिपिआर निर्माण गर्न संस्कृति पर्यटन तथा नागरिक उड््यन मन्त्रालयले त्यससमय २ जना प्राविधिक चराङ पठाईएको थियो ।
विमानस्थलको डिपिआर, लोकेसन अध्ययन र जग्गा नापजाच गर्न मन्त्रालयले आइएफआइडी कल्सल्टेन्सीबाट सिभिल इन्जिनियर नरेश सिवाकोटी र प्रकाश श्रेष्ठ चराङ पुगेका थिए । उनीहरुले उपल्लो मुस्ताङी जनता र जनप्रतिनिधिको उपस्थितीमा प्रस्तावित विमान स्थलको भूगोल र प्राविधिक पक्षको बैज्ञानिक अध्ययन गरेका थिए ।चराङमा ठूला र समथर खुला जग्गा भएकाले विमानस्थलको सम्भावना देखिएको हो । विमानस्थल अध्ययन र निरीक्षणका क्रममा चराङ पुगेका पूर्व मन्त्री भट्टराईले कुनै पनि हालतमा उपल्लो मुस्ताङमा विमानस्थल बनाएर छाड्ने प्रतिवद्धता जनाएका थिए । संसारका अग्ला ठाउँमा समेत विमानस्थल निर्माण भइसकेको उदाहरण दिँदै चराङमा विमानस्थल बनाउन कुनै अप्ठ्यारो नपर्ने जनाएका थिए ।
उपल्लो मुस्ताङको चराङमा विमान स्थल बनाउने कुरा छेपारोको उखान जस्तो भएको संघीय सांसद तुलाचनले बैठकमा राखे ।पूर्व मन्त्रीले प्रस्तावित विमानस्थल क्षेत्रमा पुगेर विमानस्थल बनाउने प्रतिबद्धता जनाएको लामो समय बितिसक्दा समेत कुनै काम अघि बढ्न नसक्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे ।सांसद तुलाचनले विश्वका महङ्गा पर्यटक,विश्वका महङ्गा सेलीबे्रटीदेखि विभिन्न मुलुकमा राजदुत र भीआईपी पुग्ने उपल्लो मुस्ताङमा विमानस्थल अपरिहार्य भएको उल्लेख गरे ।
सांसद तुलाचनले २० वर्षअघि पनि विमानस्थलको बिषय उठेको तर त्यससमय जग्गा विवाद उठेकोमा अहिले त्यस्तो अवस्था नरहेको बताए ।पर्यटन मन्त्री आलेको ध्यानआर्कण गर्दै सांसद तुलाचनले चराङमा विमानस्थल निर्माणको पहल यथाशिघ्र अघि बढाउन अनुरोध गरे ।
उपल्लो मुस्ताङको मौलिक कलासंस्कृति,भूगोल र प्राकृतिक श्रोतधनले धनी मानिन्छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षित क्षेत्रको निषेधित तथा नियन्त्रित क्षेत्र उपल्लो मुस्ताङ घुम्न विदेशी पर्यटकले ५ सय डलर रोयल्टी तिनुपर्छ । बर्सेनि १ हजार विदेशी उपल्लो मुस्ताङ भ्रमण गर्न आउने एक्यापको रेकर्ड छ ।
तपाईको प्रतिक्रिया