—आहा रारा गोल्डकप—

लिगका शीर्ष ६ टिमसहित १० क्लबको प्रतिस्पर्धा

समाधान संवाददाता २०७८ पुष ३० गते १५:१२


अभिषेक अधिकारी । पोखरा ।


आउँदो माघ ६ गतेदेखि हुने आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा ए डिभिजन लिगका शीर्ष ६ सहित १० टिमको सहभागिता हुने भएको छ । शीर्ष ६ सहित ८ टिम जारी लिग खेलिरहेका क्लब हुनेछन् । आयोजक आयोजक सहारा क्लबको आफ्नै एउटा टिम र अमेरिकाबाट भुटनिज युथ स्पोटर्स क्लबको सहभागिता रहने जानकारी क्लबका महासचिव रामजीप्रसाद अधिकारीले दिए ।


सहभागिताका लागि आउन लागेको लिगको तेस्रो स्थानमा रहेको संकटा आहा रारा गोल्डकपको डिफेन्डिङ च्याम्पियनसमेत हो । अर्काे सहभागी टिम ६ पटक उपाधि उचालेको मनाङ मस्र्याङ्दी लिगको दोस्रो स्थानमा छ । लिगमा पहिलो स्थानमा रहेको मछिन्द्र क्लब, विभागीय टोली त्रिभुवन आर्मी क्लब र पाँचौंपटकको आहा रारा च्याम्पियन थ्री स्टार क्लब पनि यसपालिको प्रतिस्पर्धामा आउँदैछ । थ्री स्टार लिगको पाँचौं स्थानमा छ । छैटांै स्थानमा रहेको हिमालयन शेर्पा क्लब पनि आहा रारामा आउँदैछ ।

Advertisement


नेपाल पुलिस क्लब आहा राराको उपाधि पाँचपटक उचालिसकेको छ । क्याराभ्यान कप नाम दिइएको पहिलो संस्करण पनि पुलिसले नै जितेको थियो । पुलिसले आहा रारामा नै लगातार ३ पटक उपाधि उचालेको थियो । तर विगतको समयमा पुलिसको खेलमा ह्रास आएको छ । जारी ए डिभिजन लिगमा समेत १४ टिममध्ये नेपाल पुलिस क्लब ११ औं स्थानमा छ । अर्को टिम नेपाल एपिएफ क्लबले दुईभन्दा बढी फाइनलको यात्रा तय गरेता पनि आहा राराको उपाधि जित्न सकेको छैन ।

रंगशालाको सिट क्षमताभन्दा कम दर्शक राखी सामाजिक दुरी कायम गरेर प्रतियोगिता आयोजना गर्न सकिने उपायको खोजी

Advertisement


सहाराले आउँदो शुक्रबारसम्म आफ्नो टिम तयार गर्ने बताएको छ । हाल सहाराले एकेडेमीका ८ सहित देशभरका २६ खेलाडीलाई आफ्नो बन्द प्रशिक्षणमा राखेको क्लबका अध्यक्ष हरिराम गुरुङ ‘सुरज’ले बताए । एकेडेमीका २ खेलाडी ताप्लेजुङका अनिश लिम्बु र कास्की निर्मलपोखरीका अभिषेक राना हाल नेपाल आर्मीको फुटबल टिमको ट्रायलमा रहेकाले उनीहरु सहाराबाट खेल्ने नखेल्ने शुक्रबार नै टुंगो लाग्ने अध्यक्ष गुरुङले जनाए । यी दुवै खेलाडी १९ वर्षका हुन् । युवा खेलाडीका साथ मैदानमा उत्रने तयारी रहेको आयोजक सहारा प्रतियोगिताकै अन्डरडग टोली देखिन्छ ।


विदेशी टिम स्वरुप प्रतियोगितामा अमेरिकी टिम भुटनिज युथ स्पोटर्स क्लब को सहभागिता रहने महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिएका छन् । उक्त टिमको प्रशिक्षक नेपालका पूर्व राष्ट्रिय खेलाडी प्रलयराज भण्डारी छन् । अमेरिकामा आयोजित २०२१ को एकेडेमी डिभिजनको खेलमा भुटनिज टिम विजेता रहेको आयोजक सहाराले बताएको छ ।


कोभिड १९ को तेस्रो लहर सुरु हुन लाग्दा आहा रारा गोल्ड कप के हुने भन्ने अन्योलसमेत छाएको छ । यसबीचमा सरकारले २५ जनाभन्दा बढी भेला हुन नदिने निर्णय गरिसकेको छ । तर पोखरा रंगशालाको सिट क्षमताभन्दा कम दर्शक राखी सामाजिक दुरी कायम गरेर प्रतियोगिता आयोजना गर्न सकिने उपायको खोजी भइरहेको छ । यसबारे जिल्ला प्रशासनले अनुमति दिनुपर्छ । त्यही अनुमतिको पर्खालमा आयोजक सहारा छ ।


प्रतियोगिताको पुरस्कार र ट्रफी
प्रतियोगितामा व्यक्तिगत उपाधितर्फ उद्योगपति सूर्यबहादुर केसीको स्मृतिमा ५ विधामा उत्कृष्ट खेलाडीलाई ट्रफी र नगद सहित सम्मान गरिने आयोजक सहाराले बताएको छ । जसमध्ये प्रत्येक खेलको म्यान अफ दि म्याच र बाँकी सबै फाइनल खेलको दिन प्रतियोगिता अवधिभरका उत्कृष्ट मिड फिल्डर, डिफेन्स, फरवार्ड र सर्वाधिक गोलकर्तालाई नगद र ट्रफीका साथ सम्मान गरिने आयोजक सहाराले बताएको छ । सम्पूर्ण ट्रफी सहारा युकेले बेलायतमै तयार गरी सहारा पोखरालाई हस्तान्तरण गरिसकेको अध्यक्ष गुरुङलाई बताए ।


प्रतियोगिताको उत्कृष्ट खेलाडीले अप्रिला स्कुटर, ट्रफी र नगद पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीले प्राप्त गर्ने धनराशिमध्ये ५० हजार नगद हङकङ निवासी देव गुरुङले सहारालाई उपलब्ध गराएको आयोजक समितिले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । सहाराले नगद व्यक्तिगततर्फ उत्कृष्ट खेलाडीलाई नगदले समेत सम्मान गर्ने भए पनि कति नगदले सम्मान गरिने खुलाएको छैन । पत्रकार सम्मेलनमा प्रतियोगिताको प्रायोजक संस्था हिमश्री फुड्सका निर्देशक किरण केसी र प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज गुरुङले शुभकामना व्यक्त गरे ।

तपाईको प्रतिक्रिया