पाेखराकाे लेकसाइडमा यौन धन्दामा लगाउने ३ जना जेल चलान

सञ्जय रानाभाट २०७८ चैत १२ गते १७:४२

सञ्जय रानाभाट
पोखरा ।
महिलालाई प्रलोभन, धम्की र यातना दिएर यौन धन्दामा लाग्न बाध्य पार्ने ३ जनालाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि जेल पठाएको छ । पोखरा ७ मुस्ताङचोक स्थायी घर भई हाल पोखरा १७ रातोपहिरो बस्ने ३० वर्षीय नारायण पोखरेल, सिन्धुपाल्चोकको चौतारा ६ ठूलीधारा स्थायी घर भई हाल पोखरा ६ जरेबर बस्ने वर्ष २२ की पूजा थापामगर र बाँकेको चिसापानी ९ स्थायी घर भई हाल पोखरा ६ बस्ने २२ वर्षीय विशाल योगी जेल चलान भएका हुन् ।


जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले ३ जनालाई पुर्पक्षका लागि जेल पठाएको हो । पीडितको तर्फबाट जिल्ला न्यायाधिवक्ता रुद्रप्रसाद सुवेदीले बहस गरेका थिए । पीडितलाई यी ३ जनाले विभिन्न पुरुष ग्राहकबाट रकम लिई यौन कार्यमा लगाउने गरेका थिए । उनीहरुले पीडितलाई विभिन्न किसिमबाट डर, धाक, धम्कीसमेत दिने गरेका थिए ।


फागुन १४ गते अन्तिम पटक पूजा थापामगरको फ्ल्याटमा बोलाई यौन व्यवसाय लगाएका थिए । उनीहरुले यौन व्यवसाय गर्न नमाने फेसबुक तथा टिकटकमा भाइरल बनाइदिने धम्कीसमेत दिएका थिए ।

Advertisement


फागुन १४ गते यौन कार्य गर्न बाध्य पारी ग्राहकसँग १० हजारका दरले लिएर आफूहरुलाई ४ हजारका दरले दिन खोज्दा नलिएको पीडितहरुको जाहेरीमा उल्लेख छ । ‘सो दिन निज पुरुषहरुले हामीसँग यौनसम्पर्क गर्दाको क्रममा हामीले कति पैसा दिनुभएको छ भन्दा १०÷१० हजारको दरले दिएका छौँ, भनी खुलाएकोमा निज नारायण पोख्रेल समेतले हामीलाई जनही ४ हजारमात्र दिन लागेका हुँदा हामीले सो रकम नलिईकन सो स्थानबाट निस्किई भागेका हौं,’ पीडितहरुले जाहेरीमा भनेका छन् ।
उनीहरुले मनासिब क्षतिपूर्ति समेत माग गरेका छन् । पीडितहरुले पोखरा ६ जरेबरको बसुन्धरा मार्ग ३ नम्बर स्ट्रिटमा रहेको पुनम गुप्ताको घरको ग्राउन्ड फ्लोर पूजा थापामगरले भाडामा लिएर यौन व्यवसायमा लगाएको जाहेरीमा उल्लेख गरेका छन् । सो फल्याटमा ३ कोठा रहेकोमा १ वटा भान्सा र दुईवटा बिस्तारा सहितको सिटिङ एवं बेडरुम छन् ।


प्रतिवादी नारायण पोखरेल, विशाल योगी तथा पूजा थापामगरको तर्फबाट वरिष्ठ अधिवक्ता कृष्णबहादुर थापा, ईश्वर चिलुवाल, तोयनाथ पोखरेल र दीपक शर्मा पौडेलले बहस गरेका थिए । उनीहरुले प्रतिवादीहरु कुनै प्रकारको मानव बेचबिखन तथा वेश्यावृत्तिजन्य कार्यमा नलागेको, अनुसन्धान र अदालतमा बयान गर्दा पनि इन्कार बहस गरेका थिए । उनीहरुले प्रहरीले झुट्टा आरोपमा फसाई हाम्रो पक्षको व्यक्तिगत स्वतन्त्रता र हिँडडुल गर्न पाउने मानव अधिकारमा समेत हस्तक्षेप गरेकाले निर्दाेष भएको जिकिर गरेका थिए ।

Advertisement


प्रतिवादीहरूले अदालतमा अधिकार प्राप्त अधिकारी समक्ष कसुमा इन्कार गरेपनि घटनास्थल मुचुल्का र पीडितको संयुक्त जाहेरीले अनुसन्धानको क्रममा सम्पूर्ण कागज प्रमाणको विवेचनाले प्रतिवादीहरु दोषी देखिएको आदेशमा उल्लेख छ । उनीहरुलाई फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ को विद्यमानता देखिदा पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुनेगरी पुर्पक्षका लागि जेल चलान गरिएको हो । तीनै जनालाई कास्की कारागार पठाइएको छ ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया