अलपत्र ‘चराङ—छोसेर’ सडकको काम अघि बढ्यो

सुन्दरकुमार थकाली २०७८ चैत १५ गते ९:२६
राष्ट्रिय गौरवको जोमसोम—कोरला सडक अन्तर्गत चराङ—छोसेर निर्माणको काम सुरु ।तस्विर ःजगत प्रजापती

जोमसोम

Advertisement

गण्डकी प्रदेशकै लाईफ लाईन मानिएको उत्तर÷दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना बेनी—जोमसोम—कोरला सडक अन्तर्गतको चराङ—छोसेर सडकको काम तीन वर्षपछि पूनः सञ्चालनमा आएको छ । ।राष्ट्रिय गौरवको कोरला सडक अन्तर्गत पहिलो चरणमा सडक स्तरोन्नति थालिएको जोमसोम—कोरला सडकको ७ खण्ड मध्ये ६ खण्डको काम पूरा भईसक्दा चराङ—छोसेर २५ किमी सडकको काम ठेकेदार कम्पनीका कारण अलपत्र परेको थियो ।
राष्ट्रिय गौरवको जोमसोम—कोरला १ सय १० किमी सडक स्तरोन्नति कार्य २०७३÷०७४ देखि सुरु गरिएको थियो ।तर ,जोमसोम—कोरला सडकको ६ खण्डमा काम गर्ने निर्माण कम्पनीले २०७६ अघि नै काम सकेर कालिगण्डकी करिडोरलाई हस्तान्तरण गरिसकेका थिए । तर चराङ—छोसेर खण्डको जिम्मा लिएको तामाङ गौरी कोशी एण्ड न्यौपाने जेभीले ६५ प्रतिशत काम सम्पन्न गरेपछि सडक निर्माणको काम अलपत्र छोडेको थियो । त्यसपछि उक्त खण्डको जिम्मा सप्तकोशी जलाधार कन्ट्रक्सले लिएपनि उसले पनि काम गर्न नसक्दा चराङ—छोसेरको काम अलपत्र परेको थियो । अहिले सो खण्डको काम भूमी कन्ट्रक्सनले लिएको आयोजनाले जनाएको छ ।
भूमी कन्ट्रक्सनले गत आईतबार देखि ३ वटा सडक खन्ने उपकरण र करिव सय जना मजदुर परिचालन गरी छोसेर देखि यता काम सुरु गरेको आयोजना प्रमुख जगत प्रजापतीले जानकारी दिए । निर्माण कम्पनी र ठेकेदारको ढिलासुस्ती भएको खण्डको काम आईतबारदेखि पूनः सञ्चालनमा आएको उनले उल्लेख गरे । चराङ —छोसेर खण्डमा कटिङ,सवबेश र सडक नाली लगायतका स्टक्चर निर्माण गर्नुपर्ने बताए । लामो समय देखि अलपत्र चराङ—छोसेर सडकको काम चालु आर्थिक वर्षभित्रै सक्ने गरी निर्माण कम्पनीलाई कार्यक्षेत्रमा परिचालन गरिएको उनको भनाई छ ।
राष्ट्रिय गौरवको जोमसोम—कोरला सडक अन्तर्गत बज्रगुरु खड्ग कृष्ण जेभीले जोमसोम—ताङ्वे,यूवा दिवा डाँफे एपेक्सले ताङ्वे—चैले, दिवा रौटाहा एपेक्सले चैले भेना ,कञ्चनजंघा लामा बिल्डर्स बिरुवाले भेना—झैते ,कञ्चनजंघा लामा मोतीदानले झैते —चराङ ,तमाङ गौरी पार्वती कोशी एण्ड न्यौपानेले चराङ —छोसेर र दिवा डाँफे रौटाहा एपेक्स जेभीले छोसेर—कोरला सडक खण्डमा कामको जिम्मा लिएका थिए । बाँकी सबै निर्माण कम्पनीले सडक हस्तान्तरण गरिसक्दा चराङ—छोसेर सडक भौतिक प्रगती रोकिएको हो ।
यस्तै ,चराङ—छोसेर सडक खण्ड अलपत्र पारेको निर्माण कन्ट्रक्सनले जिम्मा लिएको बेनी—जोमसोम सडकको चौथो खण्डको काम समेत अलपत्र छ । दुबै प्याकेज पछिल्लो समय सप्तकोशी जलाधार कन्ट्रक्सनले लिएपनि उसले समेत काम गर्न नसक्दा भूमी कन्ट्रक्सनले जिम्मा लिएको छ । आयोजना प्रमुख जगत प्रजापतीले चराङ—छोसेर जस्तै, कोवाङ जोमसोमको अलपत्र कामलाई अघि बढाउने प्रयास भईरहेको जानकारी दिए ।
राष्ट्रिय गौरवको बेनी—जोमसोम—कोरला सडकको हालसम्मको भौतिक प्रगती ६५ प्रतिशत र वित्तिय प्रगती ६० प्रतिशत रहेको आयोजनाले जनाएको छ । राष्ट्रिय गौरवको बेनी—जोमसोम—कोरला सडक अन्तर्गत कालो पत्रे सडक,ग्राभेल सडक र सडक पुलतर्फ ७ करोड ५५ लाखको ठेक्का सम्झौता भएकोमा ५ अर्ब ४० करोड रुपैया खर्च भइैसकेको जनाईएको छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया