दाेहाेरिँदा जित्नेभन्दा हार्ने धेरै

समाधान संवाददाता २०७९ जेठ ९ गते १०:४९

रिखिराम जिसी l
पोखरा ।
पहिलो स्थानीय तह निर्वाचन ०७४ मा बागलुङ नगरपालिकाको प्रमुखमा नेकपा एमालेका जनकराज पौडेल निर्वाचित भएका थिए । तर कार्यकाल पूरा नसकिँदै उनले ०७९ वैशाखमा राजीनामा गरे । राजीनामा दिनुको कारण थियो—फेरि उम्मेदवार बन्ने । तर उम्मेदवार बन्ने चाहना त पूरा भयो, जितेर फेरि मेयर बन्ने रहर पूरा हुन सकेन ।

पौडेललाई तिनै उम्मेदवारले पराजित गरे जोमाथि ०७४ मा पौडेलले विजय प्राप्त गरेका थिए । नेपाली कांग्रेसका उम्मेदवार वसन्तकुमार श्रेष्ठ यसपालि पौडेललाई हराएर बागलुङको मेयर निर्वाचित भएका छन् । ०७४ मा पौडेलले श्रेष्ठलाई २ हजार २ सय ९४ मतान्तरले पराजित गरेका थिए । यसपालि भने श्रेष्ठ पौडेलका भन्दा ५ हजार ८ सय ५७ मत बढी ल्याएर निर्वाचित भए ।
तनहुँको म्याग्दे गाउँपालिका अध्यक्षमा मायादेवी राना आले दोस्रो कार्यकालका लागि उम्मेद्वार थिइन् । अघिल्लोपटक उनले जोमाथि विजयी प्राप्त गरेकी थिइन् यसपालि उनैसँग हारिन् । श्रीप्रसाद श्रेष्ठ ४ हजार ९ सय ५० मतसहित विजयी भए । रानाले ४ हजार २ सय ३२ मत पाइन् ।

दोहोरिएर उम्मेदवार बन्दा पराजित भएका पुराना जनप्रतिनिधिको सूचीमा लमजुङको राइनास नगरपालिकाका मेयर सिंहबहादुर थापा पनि छन् । अघिल्लो चुनावमा नेपाली कांग्रेसका गणेशप्रसाद चिलुवाललाई १ सय ७५ मतान्तरले हराउँदै मेयर बनेका एमालेका थापा यसपालि नेपाली कांग्रेसका खड्गबहादुर गुरुङसँग १ हजार ५ सय ८२ को फराकिलो अन्तरले पराजित हुन पुगे ।

Advertisement

स्याङ्जाको पुतलीबजार नगरपालिकाकी मेयर सीमाकुमारी क्षेत्रीको पनि मेयरमा दोहोरिने सपना भएन । उनलाई नेपाली कांग्रेसका तुलसीराम रेग्मीले २ हजार ४ सय ४ मतान्तरले पराजित गरे । क्षेत्री ०७४ मा रेग्मीलाई १ हजार २ सय २० मतले पछि पार्दै निर्वाचित भएकी थिइन् । उपमेयरमा पनि पुनः दोहोरिन चाहेका एमालेका महेश पुरीको पनि सपना अधुरो रह्यो । पुुरी कांग्रेसका देवी अर्यालसँग पराजित भए । अर्यालले हजारभन्दा बेसी मतले पुरीलाई हराए । अघिल्लो निर्वाचनमा पुरीले कांग्रेसका हीरादेवी शर्मालाई १ हजार ९ सय ३५ मतान्तरले हराएका थिए ।

स्याङ्जाकै गल्याङको उपमेयरमा देवीसरा थापा पनि दोहोरिने चाहनाका साथ चुनावमा होमिएकी थिइन् । उनी नेपाली कांग्रेसकी उम्मेदवार हेमा न्यौपाने तिमिल्सिनासँग पराजित भइन् । अघिल्लोपटक थापाले २ हजार ४ सय ४४ मतान्तर पारेर खगीसरा भण्डारीलाई हराएकी थिइन् । तर यसपालि तिमिल्सिनासँग जम्मा ६३ मतले हारिन् । अर्जुनचौपारी गाउँपालिका उपाध्यक्षमा एक कार्यकाल पूरा गरेपछि चीनमाया गुरुङले अध्यक्ष बन्ने चाहना गरिन् । उनले उम्मेदवारी दिइन् तर सफल हुन सकिनन् । १ हजार ९ सय ४४ मतले यसपालि हारेकी गुरुङले ०७४ सालमा भने माया खत्रीलाई १ सय १९ मतान्तरले हराएकी थिइन् ।

Advertisement

म्याग्दीको धवलागिरी गाउँपालिका अध्यक्ष दोहोरिने थमसरा पुनको आकांक्षा हुन पाएन । थमसरालाई नेपाली कांग्रेसका प्रेमप्रसाद पुनले ५ सय ७५ मतान्तरले पराजित गरे । एमालेको तर्फबाट उम्मेदवारी दिएकी थमसराले अघिल्लो पालि कांग्रेसका डम्मरबहादुर भण्डारी क्षेत्रीलाई ४ सय ६१ मतले पछि पारेकी थिइन् । तनहुँको देवघाट गाउँपालिका अध्यक्ष दुर्गाबहादुर थापा दोस्रो कार्यकालका लागि निर्वाचित हुन सकेनन् । उनलाई नेपाली कांग्रेसका तिलबहादुर थापाले ८ सय २३ मतान्तरले पराजित गरे । अघिल्लो निर्वाचनमा एमालेका थापा कांग्रेसका कर्णबहादुर गुरुङभन्दा ६५ मत बढी ल्याएर विजयी भएका थिए ।

पर्वतको फलेबास नगरपालिकाको दोस्रो कार्यकालका लागि मेयर उम्मेदवार बनेका पदमपाणि शर्मा र उपमेयर मञ्जु अधिकारीको सपना पनि पूरा हुन सकेन । दुवै नेपाली कांग्रेसका उम्मेदवारसँग पराजित भए । कांग्रेसका गंगाधर तिवारीले शर्मालाई १३ सय ६२ मतान्तरले हराए । अधिकारी कांग्रेसका शोभाकुमारी क्षेत्रीसँग २ सय ७० मतान्तरले पराजित भइन् । यसअघिको निर्वाचनमा फलेबास नगरपालिकाको मेयरमा कांग्रेसका तिवारीलाई नै शर्माले ३ सय ४८ मतान्तरले पराजित गरेका थिए । उपमेयरमा एमालेकी अधिकारीले कांग्रेसकी रेखा गुरुङलाई ३ सय ५ मतान्तरले पराजित गरेकी थिइन् ।

नवलपुरको गैंडाकोट नगरपालिकाको मेयरमा निरन्तरता दिने एमालेका छत्रराज पौडेलकोे चाहना अधुरै रह्यो । पौडेललाई २ हजार ८ सय ४९ मतान्तरले हराउँदै नेपाली कांग्रेसका मदनभक्त अधिकारी मेयर चुनिए । अघिल्लो निर्वाचनमा कांग्रेसका गजेन्द्रबहादुर आलेलाई पौडेलले २२४ मतले हराएका थिए । बागलुङको ढोरपाटन नगरपालिकाको उपमेयरमा करमती पुनले निरन्तरता दिन चाहे पनि यसपालि जनताबाट अनुमोदित हुन सकिनन् । कांग्रेसका धनबहादुर कायतसँग उनी ७ सय ६६ मताले पछि परिन् ।

गोरखाको गण्डकी गाउँपालिका अध्यक्षमा होमबहादुर राना र गोरखा नगरपालिकाको मेयरमा राजनराज पन्त दोहोरिन सकेनन् । दुवै नेकपा माओवादी केन्द्रका उम्मेदवारसँग पराजित भए । होमबहादुरलाई १ हजार ७ सय ६६ मतान्तरले हराउँदै माओवादी केन्द्रका दीपक तिमिल्सिना गण्डकी अध्यक्ष निर्वाचित भए । अघिल्लो निर्वाचनमा तिमिल्सिनालाई २ सय ७४ मतान्तरले हराउँदै राना गाउँपालिका अध्यक्ष चुनिएका थिए । गोरखा नगरपालिकामा कांग्रेसका उम्मेदवार पन्तलाई १ हजार ८ सय ५६ मतान्तरले हराउँदै माओवादी केन्द्रका कृष्णबहादुर राना मेयर चुनिएका छन् । अघिल्लो निर्वाचनमा रानालाई १ हजार ५ सय ३४ मतान्तरले हराउँदै पन्त मेयर चुनिएका थिए ।

म्याग्दीको मालिका र कास्कीको अन्नपूर्ण गाउँपालिकामा पनि पुरानै अनुहार दोहोरिन चाहे । मालिका गाउँपालिका अध्यक्षमा कांग्रेसका श्रीप्रसाद रोका एमालेका उम्मेदवार बेगप्रसाद गर्बुजासँग हारेका छन् । अन्नपूर्ण गाउँपालिका अध्यक्षमा कांग्रेसका युवराज कुँवर एमालेका उम्मेदवार विष्णुबहादुर केसीसँग पराजित बने । अहिले निर्वाचित यी दुवै गाउँपालिका अध्यक्षले अघिल्लो निर्वाचनमा पराजय व्यहोरेका थिए । मालिका अध्यक्षमा निर्वाचित गर्बुजाले १ सय २१ मतान्तरले रोकालाई हराएका हुन् ।

अघिल्लो निर्वाचनमा गर्बुजाले रोकालाई नै ८४ मतले हराएका थिए । कास्कीको अन्नपूर्ण अध्यक्षमा एमालेका केसीले कांग्रेसका कुँवरलाई ७ सय ६३ मतले हराएका हुन् । अघिल्लो निर्वाचनमा एमालेका केसीले कुँवरसँग २ सय ६४ मतले हार बेहोरेका थिए ।
मुस्ताङको थासाङ गाउँपालिका अध्यक्ष उम्मेदवार भएकी बालकुमारी शेरचन यसअघि उपाध्यक्ष थिइन् । तर उनको पदोन्नति हुन सकेन । उनलाई एमालेका प्रदीप गौचनले ८९ मतान्तरले पराजित गरे । ०७४ को निर्वाचनमा स्वतन्त्र उम्मेदवार कोरिसा विकलाई शेरचनले ८२ मतले हराएकी थिइन् ।

स्याङ्जाको वालिङ नगरपालिकामा मेयर र नवलपुरको बुलिङटार गाउँपालिकामा अध्यक्ष बन्न पनि पुरानै अनुहार तम्सिएका थिए । तर दुवै सफल भएनन् । वालिङमा कांग्रेसका दिलीपप्रताप खाँणलाई हराउँदै एमालेका कृष्ण खाँण मेयर निर्वाचित भए । कृष्णले दिलीपलाई २ हजार १ सय ८३ मतान्तरले हराएका हुन् । अघिल्लो निर्वाचनमा दिलीपले एमालेका प्रताप खाँणलाई १ हजार ८ सय ५१ मतले पराजित गरेका थिए ।

शशिकिरण बस्ताकोटीलाई हराउँदै एमालेका दीपेन्द्र सुनारी नवलपुरको बुलिङटार गाउँपालिका अध्यक्ष निर्वाचित भएका छन् । शशिकिरण अघिल्लो निर्वाचनमा विजयी भएका थिए । यसपालि सुनारीसँग १ हजार १ सय ५९ मतले हार । अघिल्लो पालि शशिकिरणले एमालेका विद्रोही गिरीलाई २ हजार २ सय १६ मतले हराएका थिए ।

तनहुँको आँबुखैरेनी गाउँपालिका अध्यक्ष गिरबहादुर थापाले यसपालि माओवादी केन्द्रका उम्मेदवार शुक्र चुमानसँग पराजय भोगेका छन् । चुमानले थापालाई १ हजार ४ सय १० मतले हराए । अघिल्लो निर्वाचनमा थापा एमालेका सन्तबहादुर केसीलाई ३ सय ४७ मतले पराजित गर्दै अध्यक्ष बनेका थिए । नवलपुरको विनयी त्रिवेणी अध्यक्ष डम्बरबहादुर जिसी यस पटकको चुनावमा असफल भए । उनी एमालेका घनश्याम गिरीसँग ९९ मतले पराजित भए । अघिल्लो चुनावमा जिसीले एमालेका लक्ष्मणबहादुर पाण्डेलाई १ हजार ५ सय ५९ मले पराजित गरेका थिए ।

तनहँुको बन्दीपुर गाउँपालिका अध्यक्ष पूर्णसिंह थापा र उपाध्यक्ष करुणा गुरुङले दोस्रो कार्यकाल काम गर्न चाहे । पूर्णसिंहलाई एमालेका सुरेन्द्रबहादुर थापाले ६३ मतले हराए । उपाध्यक्ष करुणालाई कांग्रेसकी पञ्चमाया गुरुङले २ मतले पराजित गरिन् ।
अघिल्लो निर्वाचनमा कांग्रेसका कर्णबहादुर खत्रीको भन्दा ४ सय ४२ मत बढी ल्याएर पूर्णसिंह अध्यक्ष भएका थिए । उपाध्यक्षमा कांग्रेसकी सविना गुरुङलाई करुणाले २ सय २२ मतले हराएकी थिइन् ।

नवलपुरको हुप्सेकोट गाउँपालिकामा नेपाली कांग्रेसकी लक्ष्मी पाण्डे अध्यक्षमा दोहोरिएकी छन् । महिला प्रमुख उम्मेदवार भएमध्ये उनले दोहोरिन पाएकी हुन् । पाण्डेले ६ हजार ५ सय ५५ मत प्राप्त गरी विजयी हँुदा एमालेका चेतबहादुर रानालाई ५ हजार ७ सय ४१ मत प्राप्त भयो ।

गोरखाको सहिद लखन गाउँपालिकामा माओवादीका रमेश थापा अध्यक्षमा दोहोरिएका छन् । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा लोप्साङ छोम्पेल विष्ट (राजु) दोहोर्‍याएर अध्यक्षको उम्मेदवार थिए । अघिल्लो पालि स्वतन्त्र उम्मेदवार विष्ट यस पटक एमालेका उम्मेदवार थिए । विष्टले अघिल्लो पटकको भन्दा धेरै मतान्तरले जित हाँसिल गरेका छन् । विष्टले ६ सय ८९ मत ल्याए । उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले १ सय ८५ मतमात्रै प्राप्त गरे । अघिल्लोपटक उनको मतान्तर यति धेरै थिएन ।

बागलुङको ढोरपाटन नगरपालिकामा एमालेका देवकुमार नेपाली फेरि मेयर निर्वाचित भएका छन् । उनले ०७४ सालमा पनि मेयर जितेका थिए । यसपालि उनले माओवादी केन्द्रका चन्द्र अर्याललाई पराजित गरेका हुन् । नेपालीले ५ हजार ७ सय ३५ मत ल्याए भने अर्यालले ५ हजार १ सय ३५ मत पाए । म्याग्दीको मंगला गाउँपालिकामा एमालेका सतप्रसाद रोका फेरि अध्यक्ष चुनिए ।

जोकलाल बुढा बागलुङको तमानखोला गाउँपालिकाको अध्यक्षमा दोहोरिएका छन् । यसअघिका पनि अध्यक्ष बुढाले माओवादी केन्द्रका देवबहादुर पुनलाई पराजित गरेका हुन् । ०७४ को निर्वाचनमा २ हजार २ सय १९ मत ल्याएर निर्वाचित भएका कांग्रेसका बुढा यसपटक २ हजार ७ सय ७ मत ल्याएर अध्यक्ष निर्वाचित भए ।

स्याङ्जाको हरिनास गाउँपालिकामा एमालेका खिमबहादुर मानन्धर फेरि अध्यक्ष निर्वाचित भए । दोस्रोपटकका लागि उम्मेदवार हुँदा पनि उनले निर्वाचनमा जित हाँसिल गर्न सकेका हुन् । मानन्धरले नेपाली कांग्रेसका टोपबहादुर भुजेललाई ३७ मतान्तरले पराजित गरे । अध्यक्ष मानन्धरले ४ हजार ७ सय ६९ मत र भुजेलले ४ हजार ७ सय ३२ मत पाए ।

कास्कीको रुपा गाउँपालिकामा नवराज ओझा र लालसुबा गुरुङ एमालेबाट क्रमशः अध्यक्ष र उपाध्यक्ष बनेका छन् । यसअघि पनि उनीहरु सोही जिम्मेवारीमा थिए । अध्यक्ष ओझाले ०७४ को निर्वाचनमा कांग्रेसका प्रकाशमोहन खनाललाई हजार हाराहारी मतले पराजित गरेका थिए । त्यति बेला उपाध्यक्ष र अहिले अध्यक्षको प्रत्यासी बनेकी नेपाली कांग्रेसकी गिमाया गुरुङसँग ओझाको यसपालि प्रतिस्पर्धा थियो । ओझाले गुरुङलाई १ हजार ६ सय १२ मतले पछाडि पारेका हुन् । ओझाले ५ हजार ७ सय ४९ मत ल्याउँदा गुरुङले ४ हजार १ सय ३७ मतमात्रै पाइन् ।

रुपामा उपाध्यक्ष दोहोरिएकी लालसुबाले कांग्रेसका नारायण श्रेष्ठभन्दा १ हजार १ सय ७९ मत बढी ल्याइन् । लालसुबाले ५ हजार ३ सय ३२ मत पाउँदा नारायणको मत ४ हजार १ सय ५३ मात्रै आयो । बेसीसहर नगरपालिकाको मेयरमा एमालेका गुमानसिंह अर्याल दोहोरिएका छन् । लमजुङकै मध्यनेपाल नगरपालिकामा नेपाली कांग्रेसका रमेश पाण्डे फेरि मेयर निर्वाचित भएका छन् । गण्डकीमा ८५ स्थानीय तह छन् । अब पोखरा महानगरपालिका र व्यास नगरपालिकाको मात्र नतिजा आउन बाँकी छ ।

व्यासको मेयर दोहोरिन चाहेका कांग्रेसका बैकुन्ठ न्यौपानेलाई स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले चुनौती दिइरहेका छन् । पोखरा महानगरको उपमेयरमा दोहोरिन चाहेकी एमालेकी मञ्जुदेवी गुरुङ कांग्रेसकी कोपिला रानाभाटसँग प्रतिश्पर्धामा छिन् ।

लमजुङको मस्र्याङ्दी गाउँपालिकामा अर्जुन गुरुङ फेरि अध्यक्ष निर्वाचित भएका छन् । ०७४ को निर्वाचनमा उनको पार्टी र माओवादीले तालमेल गरेका थिए । त्यति बेला एमालेबाट उनी अध्यक्ष र माओवादीका होमबहादुर विक उपाध्यक्ष निर्वाचित भएका थिए । यसपालि भने अर्जुनको पार्टी एमाले कांग्रेस र माओवादीको गठबन्धनसँग चुनावी प्रतिस्पर्धामा थियो । अर्जुनले ६ हजार १ सय ३० मत ल्याउँदा कांग्रेसका लोकनाथ घिमिरेले ४ हजार ३ सय ६९ मत पाए ।

स्याङ्जाको फेदीखोलाको अध्यक्षमा एमालेका घनश्याम सुवेदी दोहोरिएर उम्मेदवार थिए । उनले यसपालि पनि निर्वाचन जितेका छन् । सुवेदीले ३ हजार ८ सय ३६ मत ल्याए । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका लक्ष्मीप्रसाद बरालले ३ हजार ७ सय ४ मत पाए ।

तपाईको प्रतिक्रिया