गोकुल वाङ्मय पुरस्कार बराललाई

पोखरा l
गण्डकी साहित्य संगम पोखराले स्थापना गरेको राष्ट्रिय स्तरको गोकुल वाङ्मय पुरस्कार २०७८ साहित्यकार डा ऋषिराज बराललाई प्रदान गरिएको छ । ९३ औं गोकुल जयन्तीको सन्दर्भमा आइतबार आयोजित कार्यक्रममा आख्यानकार बराललाई नगद ४० हजार र सम्मानपत्रसहित संगम अध्यक्ष डा कृष्णराज अधिकारीले सम्मान गरे ।
डा बराल ४ दशकदेखि नेपाली साहित्यमा क्रियाशील छन् । सिन्धुलीको घोक्सिलामा जन्मिएका उनले विद्यावारिधिसम्म अध्ययन गरेका छन् । बरालका करिब डढ दर्जन साहित्य र समालोचनाका कृति प्रकाशित छन् । संगमका सदस्य शोभाकान्त गौडेल संयोजक र नारायण परिश्रमी र देवेन्द्र लम्साल सदस्य रहेको प्रतिभा छनोट समितिले बराललाई पुरस्कृत गर्न सिफारिस गरेको थियो ।
साहित्यकार डा. बरालले कवि तथा साहित्यकारले राष्ट्रिय स्वाभिमानको रक्षा तथा क्रान्तिकारी रुपान्तरणको पक्षमा काम गर्नुपर्ने बताए । उनले सामाजिक रुपान्तरणलाई राजनीतिक आन्दोलनसँग जोड्नुपर्ने खाँचो औंल्याए । ‘हाम्रा चुनौती र जिम्मेवारी पूरा भएका छैनन् । झन् थपिएका छन्,’ उनले भने, ‘परम्परागत प्रतिक्रियावादी तथा निरकुंशतावादीसँगको लडाई भोलि फेरि लड्नुपर्ने छ । लेखकका चुनौती बढेर गएका छन् ।’ उनले आफ्नो पार्टीले गलत गरेको खण्डमा साहित्यिक रचनामार्फत खबरदारी गर्नुपर्ने उल्लेख गरे । बरालले त्यस्तो गर्न नसके माक्र्सवादी लेखक बन्न नसकिने जनाए ।
लेखक तथा साहित्यकार पार्टी भित्रको गुटको इसारामा चले दास तथा झोले बन्ने चर्चा गर्दै उनले राष्ट्रिय एकताका लागि स्रष्टा एकताबद्ध बन्नुपर्ने विचार राखे । उनले माक्सैवादी लेखकहरु सचेत तथा संगठित बन्नुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा उद्योगी कृष्णप्रसाद अचार्य, बुद्धिजीवीहरु झलकपाणी तिवारी र केशबहादुर परियार, संगमका सल्लाहकार रघुनाथ अधिकारी, संगमका उपाध्यक्ष पदमराज ढकाल, सचिव भीम रानाभाट, स्ट्रगल राना लगायतले बोलेका थिए । समारोहका लक्ष्मण गौतम हिमाली, अम्बिका भण्डारी, नारायण परिश्रमी, छविलाल आचार्य लगायतका साहित्यकारले रचना वाचन गरेका थिए । संगम सांस्कृतिक मञ्चका कलाकारले गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा पुरस्कारको लागि अक्षयकोष स्थापनामा सहयोग गरेका उद्योगी कृष्णप्रसाद आचार्यलाई सम्मान गरिएको छ । समारोहमा परशुराम कोइरालाले गण्डकी संगम अंक १८ माथि टिप्पणी गरे । संगम अध्यक्ष डा. कृष्णराज अधिकारीले नेपाली वाङ्मयमा अहिले रहेका अन्य पुरस्कारभन्दा यो पुरस्कार पृथक र विशिष्ट भएको बताए । उनले भने, ‘पुरस्कार स्थापना र साहित्यिक गतिविधिका लागि राज्यले सहयोग नगरे पनि जनस्तरबाट सहयोग जुटेको छ । यस्ता पुरस्कारको विशिष्ट महत्व र मूल्य छ ।’
संगमले १ वर्ष गोकुल वाङ्मय पुरस्कार र अर्काे वर्ष गण्डकी वाङ्मय पुरस्कार प्रदान गर्ने गरेको छ । गोकुल वाङ्मय पुरस्कारबाट यसअघि केवलपुरे किसान, खगेन्द्र संग्रौला, गोविन्द भट्ट, श्यामप्रसाद शर्मा, रमेश विकल, निनु चापागाईं, चैतन्य, घनश्याम ढकाल, मोदनाथ प्रश्रित, हरिहर खनाल र जीवन शर्मा पुरस्कृत भइसकेका छन् । गण्डकी वाङ्मय पुरस्कारको राशि २० हजार छ । गण्डकी वाङ्मय पुरस्कारबाट यसअघि भेषजराज शर्मा, भाष्कर, दिल सहानी, कुलबहादुर केसी, नुमराज बराल, केदार शर्मा ढकाल, देवेन्द्र लम्साल, प्राडा रविलाल अधिकारी, पोषराज पौडेल, गोपिरमण उपाध्याय र रविकिरण निर्जीव र चिन्तु गिरी पुरस्कृत भइसकेका छन् ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया