
सुन्दरकुमार थकाली l
जोमसोम l
जेठ दोस्रो साता । मुस्ताङ घुम्ने अनुकूल मौसम । अर्को महिना त असार सुरु भइहाल्छ । त्यसपछि बेनी–जोमसोम सडक वर्षाले सडक अवरुद्ध हुँदा मुस्ताङ आउजाउ सकसपूर्ण हुन्छ । यसैले धेरैजसो पर्यटक वैशाख र जेठमा मुस्ताङ घुम्न आउँछन् ।
यो समयमा पर्यटक पोखराबाट हवाई सेवामार्फत जोमसोम उत्रन्छन् ।
कुनै बेला यही समय दैनिक १० देखि १८ उडानसम्म हुन्थे । आइतबार पोखराबाट जोमसोमका लागि सुमित एअरले पहिलो उडान गर्यो । त्यसपछि जोमसोमबाट फर्किएर पुनः जोमसोमका लागि दोस्रो उडान भर्यो । त्यो जहाज जोमसोममा १०ः१४ मा अवतरण भयो ।
तर, त्यही सुमितको जहाजभन्दा १ मिनेटपछि पोखराबाट जोमसोमका लागि उडान भरेको तारा एयरको नाइन एनइटी ट्वीनअटर जहाज १०ः१५ बजे जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो । जहाज म्याग्दीको घोरेपानी डाँडा छिचोल्दै मुस्ताङको आकाशसम्म आइपुग्यो । तर मुस्ताङ प्रवेश गरेको सो जहाजले गलत दिशा लियो । मुस्ताङ प्रवेश गर्दा सम्पर्कमा रहेको ताराको जहाजको दोस्रोपटक जोमसोम टावरसँग एकाएक सम्पर्क बिच्छेद भयो । साढे १० बजेसम्म पनि सम्पर्क हुन नसेपछि जोमसोम विमानस्थलमा हल्लीखल्ली भयो ।
पोखरा र जोमसोमका टावरबाट सम्पर्क टुटेपछि अनेकन अड्कलबाजी हुन थाले । जहाज हराएको १ घण्टा नबित्दै विभिन्न सञ्चार माध्यम यो समाचारले भरिए । मुस्ताङ प्रवेश गरिसकेको जहाज दुर्घटना भइसकेको धेरैले अनुमान गरे भने सञ्चार माध्यममा पनि त्यही खालका समाचार प्रकाशन गरे । पोखराबाट फिस्टेल एयरको माउन्टेन हेलिकोप्टर जोमसोम आइपुग्यो । त्यसपछि सुरु भयो ताराको जहाज खोजी । हेलीले बिहान साढे ११ बजेबाट थासाङका डाँडाकाडामा पुगेर जहाज खोज्न थाल्यो । मौसम बिग्रेकाले खोजी सार्थक बन्न सकेन ।
मुस्ताङ प्रशासनको समन्वयमा काठमाडौंमा नेपाली सेनाको हेलिकोप्टर कोबाङ आइपुग्यो । हेलीमा जोमसोमबाट सिडिओ नेत्रप्रसाद शर्मा, सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनजंग कार्की, प्रहरी नायब उपरीक्षक रामकुमार दानीसहितको टोली थासाङको कोवाङमा पुग्यो । सेनाको हेली कोवाङमै थियो । जहाज दुर्घटना नै भएको हो भन्ने अनुमान गरियो । थासाङको पानापाथी हिमाल र धौलागिरि हिमाल आसपास बाक्लो हुस्सु र कुहिरो मडारिएको थियो । हवाई मार्गबाट जहाज खोज्न सम्भव भएन । बेलुकी साँझ ५ बजे कैलाश एअर र इएर डाइनोस्टिकको हेली नाउरिकोट आइपुग्यो ।
हेलीमा नेपाल राष्ट्रिय पर्वतारोहरण संघका ट्रेकिङ गाइडको टोली थियो । । उनीलाई त्यही छाडेर पोखराबाट आएको कैलाश र इएर डाइनोस्टिकका हेली फर्किए । सोमबार बिहानैदेखि जहाज खोज्ने सहमति भयो । सेनाको हेली जोमसोम फर्कियो ।
पर्वतारोहीहरु पेम्बातेन्जिङ लामा, रितेन टसी शेर्पा, कमी धोर्जे शेर्पा, पासाङ नुरु शेर्पा, ओङ्छु शेर्पा, नरेन्द्र शाहीसहित तारा एअरका कोअर्डिनेटर राप्के शेर्पा र कर्मचारी पेम्बा छिरी शेर्पा पैदलमार्ग हुँदै मानापाथी हिमाल उक्लिए । गृह मन्त्रालय र नेपाल टेलिकमको समन्वयमा जहाज थासाङको मानापाथी क्षेत्रमा दुर्घटना भएको अनुमान गरिएकाले पर्वतारोहीसहित पर्यटन व्यवसायी ईन्द्रसिंह शेरचन स्थलमार्ग हुँदै ६ घण्टाको दूरी तय गरी बतासे डाँडा पुगे ।
त्यहाँ यार्सा खोज्ने ९ जनाको टोली पाल टाँगेर बसेको थियो । दुर्घटनाको पहिलो दिन उद्धारका लागि खटिएका उनीहरु त्यो रात त्यही पालमा बसे । भोलिपल्ट सखारै सानोसरे नजिक जहाज खोज्न पुगेका विशाल घर्तीमगरले क्षतिविक्षत जहाज देखे । उनले पर्यटनकर्मी ईन्द्रसिंहलाई फोनबाट जानकारी दिए । शेरचनले स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई दुर्घटनाबारे जानकारी गराए । त्यसपछि जोमसोमबाट ३ वटै सुरक्षा निकाय सम्मिलित ६० जनाको टोली सानोसरे पठाइयो । माउन्टेनको हेलीबाट पनि सुरक्षाकर्मी त्यहाँ पुगे । सुरक्षाकर्मीको उपस्थितिमा नेपाल पर्वतारहण संघका पर्यटक गाइडहरु शव खोज्न जुटे ।
उनीहरुलाई सुरक्षाकर्मीले ब्याक सपोर्ट गरे । मानापाथी हिमालको फेदी नजिकको सानोसरे पहाडमा जहाज ठोक्किएको रहेछ । जहाजमा सवार चालक दलसहित २२ यात्रु कोही जीवित नभएको सूचना आउन थाल्यो । जहाज खसेको स्थानमा ८–१० शव थिए । घटनास्थलन निकै विभत्स र कारुणिक थियो । आधाजसो शव खोल्सामा, केही भीरमा छरपष्ट देखिन्थे । विदेशी पर्यटक लिएर हिमाल चढ्ने तालिम प्राप्त पर्वतारोही गाइडहरु रेस्क्यु उपकरणसहित त्यहाँ गएका थिए । निकै जोखिम र कष्ट खेपेर सुरक्षा निकायको सहयोगमा दुर्घटनाको दोस्रो दिनको २ बजेसम्म २० जनाको शव संकलन भयो ।
दुर्घटनास्थलमा मौसम बदलिइरहन्थ्यो । दिउँसो २ बजेपछि मौसम बिग्रिएकाले शव खोज्न रोकियो । सानोसरे लेकमा जम्मा भएका २० मध्ये १० शव माउन्टेन हेलीले कोबाङ झार्यो । त्यसपछि कोबाङमा आवश्यक प्रक्रिया सकेर सेनाको हेलीले साँझ शव काठमाडौं पुर्यायो । लेकमा बाँकी रहेको १० शव नेपाली सेना र प्रहरीको निगरानीमा सुरक्षा आधार शिविरमा राखियो । दुर्घटनाको तेस्रो दिन फेरि शव खोज्न पर्वतारोही टोली खटियो । मंगलबार बिहान ८ बजेअगावै बेपत्ता १ शव पहाडको खोल्सामा भेटियो । अर्को भीरमा अड्किएको शव पनि बाहिर निकालियो ।
त्यस बेलासम्म अघिल्लो दिन संकलन गरिएका १० शव कोबाङ झारिसकेको थियो । पछिल्लो दिन भेटिएका २ शव पनि बिहान साढे १० बजे कोबाङ ल्याइयो । नेपाली सेनाको जहाजले बिहान ११ बजे कोबाङबाट १२ जनाको शव काठमाडौं लग्यो ।
सबै शव र जहाजमा सूचना संकलन गर्न राखिएको ब्ल्याक बक्स फेला परेपछि नागरिक उड्डयन प्राधिकरणका कर्मचारीले काठमाडौं लगे । दुर्घटना क्षेत्र पहिचान, रेस्क्युर र हेलिकोप्टर सहजीकरण गर्न पुगेका पर्यटनकर्मी ईन्द्रसिंहले नेपाल पर्वतारोहणको टिम र आफूले धेरै दुख र जोखिम मोलेर शव निकालेको सुनाए ।
‘हुन त सुरक्षा निकायले पनि शव व्यवस्थापनमा अथक मेहनत गरेका हुन् । यद्यपि हाम्रो रेस्क्यु टोली नभएको भए शव निकाल्न निकै मुस्किल पथ्र्यो,’ शेरचनले भने, ‘सुरक्षा निकायसँग प्रभावकारी रेस्क्यु उपकरण थिएनन्, जुन पर्वतारोहण टिमसँग थिए । सामूहिक प्रयासले शव निकाल्यौं ।’ पर्वतारोही पेम्बा तेन्जिङ लामाले शव संकलन आफ्नो टिमले गरेको र त्यसको व्यवस्थापन सुरक्षा निकायले गरेको जनाए । ‘हामीलाई संघले यहाँ पठायो । हामी मानवीय सेवाभावले आयौं,’ पेम्बाले भने, ‘हाम्रो कामको पनि मूल्यांकन भइदिए हामीलाई हौसला मिल्छ ।’


सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्








निर्वाचन आउन ८२ दिन बाँकी, समानुपातिकतर्फ ९३ दललाई चुनाव चिह्न
भिजिट भिसा प्रकरणः सहसचिव भट्टराईसँग २५ लाख धरौटी माग, न्यायाधीशको राय बाझियो
राष्ट्र बैंकले मुद्दती निक्षेपमा साढे ७ अर्ब लगानी गर्दै
१६औँ गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड बागलुङमा हुने
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया