दिनेशको ‘देश सम्झिएर’ बजारमा

समाधान संवाददाता २०७९ जेठ २१ गते १५:१३

पोखरा ।
साहित्यकार दिनेश बस्नेत बाल कथा संग्रह ‘देश सम्झिएर’ लिएर पाठकमाझ आएका छन् । शृंखला क्लब र हरिहर भक्ति आमा समूहले शुक्रबार आयोजना गरेको कार्यक्रममा उनको पुस्तक सार्वजनिक गरियो ।

पोखरा २० का वडाध्यक्ष गंगाबहादुर केसी लगायतले कृति लोकार्पण गरे । कोपिला किताबले प्रकाशन गरेको कृतिको मूल्य २ सय रुपैयाँ छ । साहित्यकार बस्नेतले साहित्यकार अनुत्पादक क्षेत्र ठान्ने मान्यता परिवर्तन गरी चेतना प्रवाहको माध्यमका रुपमा स्वीकार गरिनुपर्ने बताए ।

उनले बालबालिकालाई नर्सरीका विरुवासँग तुलना गर्दै उचित शिक्षा, संस्कार, सभ्यता र सिकाईले मात्र उनीहरु सभ्य र सुसंस्कृत नागरिक बन्ने उल्लेख गरे । उनी भन्छन्, ‘बाल साहित्यले बालबालिकालाई मनोरञ्जनसहित सिकाई, सभ्यता र क्षमता अभिवृद्धिमा पनि सघाउनुपर्छ ।’

Advertisement

पोखरा २० का वडाध्यक्ष केसीले वडा कार्यालयले बस्नेतको पुस्तक ५ सय थान खरिद गरी वडाका सबै विद्यार्थीसम्म पु¥याउने प्रतिवद्धता गरे । उनले आफूहरु अघिका जनप्रतिनिधिका राम्रा कामको अनुशरण गर्दै जनअपेक्षा बमोजिम नयाँ काम गर्ने प्रतिवद्धता गरे ।

समीक्षक कृष्णप्रसाद बस्ताकोटीले ‘देश सम्झिएर’भित्र उत्कृष्ट र समसामयिक बाल कथा भएका बताए । उनले बालबालिकालाई मनोरञ्जनसहित भाषा, संस्कार, संस्कृति सिकाउन संग्रहका कथा उपयोगी हुने औंल्याए ।
साहित्यकार सुरज उपाध्यायले शनिबार पोखरा २० को भलाममा हुने अक्षरयात्रामा सहभागी हुने सबैलाई अनुरोध गरे । ‘जीवन र जगतको यथार्थ बोधका लागि अक्षरयात्रा’ भन्ने उद्घोषका साथ २०६२ बाट सुरु भएको अक्षरयात्रामा साहित्यिकाहरुले विभिन्न स्थानमा पुगी त्यहीका विषय र बिम्ब समातेर सिर्जना गरी त्यही कार्यक्रम गरी सुनाउने प्रचलन छ ।

Advertisement

गायक चोलेन्द्र पौडेलले पोखराको मुख्य बजार नजिकै रहेर पनि ओझेलमा परेको भलामको विकासका लागि मुख्य सम्पदा समेटिने गरी परिचयात्मक गीत बनाउन प्रस्ताव गरे । शृंखला क्लबका अध्यक्ष जीवन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका सचिव रेशम खत्री, हरिहर आश्रमका उपाध्यक्ष अर्जुनबहादुर क्षेत्री लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया