राजमार्ग बनाउँदा खानेपानीको चिन्ता

पृथ्वी राजमार्ग विस्तार गर्दा खानेपानी आयोजनामा करोडौं क्षति हुने र सो क्षति उपभोक्ता संस्थाहरुले व्यहोर्न नसक्ने

समाधान संवाददाता २०७९ जेठ २५ गते १३:४९

पोखरा ।
पृथ्वी राजमार्गको मुग्लिनदेखि पोखरा सडक खण्ड विस्तारका विभिन्न खानेपानी आयोजनामा पुग्ने क्षतिको जिम्मा लिन संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना आग्रह गरिएको छ ।

लेखनाथ खानेपानी उपभोक्ता संस्थाको पहलमा तनहुँको खैरेनीटारदेखि लेखनाथभित्र रहेका विभिन्न खानेपानी उपभोक्ता संस्थाबीच सोमबार भएको छलफलका वक्ताले यस्तो बताएका हुन् । वक्ताहरुले आयोजनाका कारणले हुने क्षतिको जिम्मेवार स्वयं आयोजनाले नै लिनुपर्नेमा जोड दिए ।

लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्माले सडकको विषयमा बेला बेला परिवर्तन हुने गरेका सरकारी मापदण्डका कारण खानेपानी क्षेत्र विगतदेखि नै प्रभावित हुँदै आएको जनाए । पृथ्वी राजमार्ग विस्तारका कारण हुने करोडौंको क्षति उपभोक्ता संस्थाहरुले व्योर्हन नसक्ने र यसबाट उपभोक्ता आन्दोलित भएको खण्डमा त्यसलाई आफूहरुले थेग्न नसक्ने चेतावनीसमेत दिएका हुन् ।

Advertisement

शर्माले आयोजना सञ्चालन हुँदा लेखनाथ खानेपानी उपभोक्ता संस्थाको विजयपुरदेखि कोत्रे खण्डको करिब १३ किलोमिटर क्षेत्र भित्रको पाइप लाइन मर्मत गर्दा संस्थाको करिब ७ करोड ३६ लाखको क्षति हुने अनुमान सुनाए । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख नारायणप्रसाद काफ्लेले आयोजनाका कारणले हुन सक्ने क्षतिको यर्थाथ लागत अनुमान गरी आयोजनासमक्ष प्रस्तुत गर्न आग्रह गरे । उपभोक्ताको हितलाई ध्यानमा राखी सामूहिक रुपमा समस्याको समाधान खोजिने उनको प्रतिबद्धता छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जाका प्रमुख हरि तिमिल्सिनाले विगतका विभिन्न नजिरलाई हेर्दा आयोजनाका कारणले हुने क्षतिलाई आयोजनाले नै बनाउने गरेको उल्लेख गरे । सडक विभागका आयोजना प्रमुख अमृतकुमार श्रेष्ठले एसियाली विकास बैंकको वित्तीय सहयोगमा सम्पन्न हुने आयोजना अन्तर्गत बाटोको दायाका रहेका संरचनाको पुनर्निर्माणका लागि ४६ करोड ७७ लाख बजेट छुट्याइएको जानकारी दिए ।

Advertisement

कार्यक्रममा राष्ट्रिय खानेपानी उपभोक्ता महासंघका महासचिव रामचन्द्र उपाध्याय, लेखनाथ खानेपानी उपभोक्ता संस्थाका निवर्तमान अध्यक्ष विष्णुप्रसाद बराल, विजयपुर खानेपानीका बुद्धिप्रसाद भण्डारी, भूपू सैनिक खानेपानीका मोहनबहादुर थापा, गगनगौंडा खानेपानीका राजु खत्री, बेलचौतारा खानेपानीका जमुना पौडेल, दुलेगौंडा खानेपानीका राजुराम श्रेष्ठ लगायतले समस्या आउनुभन्दा पहिला नै निराकरणको तयारी गर्न आग्रह गरे ।
कार्यक्रममा नारायणी भटृराई र पुष्पकमल ढुंगानाले पनि बोलेका थिए ।

तपाईको प्रतिक्रिया