यात्रुले सुख पाउन्ः ट्याक्सीले गरी खान पाउन्

समाधान संवाददाता २०७५ चैत २२ गते ११:४९

सम्पादकीय

पोखराका ट्याक्सी भाडा मिटरमा गन्ती हुँदैन । हचुवामा हुन्छ । चालकहरुले जति पनि भन्न सक्छन् र यात्रुले चालकले भनेअनुसारकै भाडा तिर्नुपर्छ । मिटरमा जाऊँ न भन्नेबित्तिकै दुर्बचन बोलिहाल्छन् चालक । चैत १९ गते मिटर भन्ने शब्द भुइँमा झर्न नपाउँदै पृथ्वीचोकका एक चालकले मिटरमा जाने भए आफ्नै कार हुनपर्छ भन्न भ्याइहाले । अरु ट्याक्सी चालक पनि आएर ती यात्रुलाई घेरा हाले । दुव्र्यवहार ती यात्रुले सहनुपर्‍यो ।

प्रहरीकहाँ सिकायत गरेपछि मिटरमा जान नमान्ने ३१ ट्याक्सी चालक सोही दिन समातिए । पोखरामा ट्याक्सी मिटरमा चलाउन धेरै प्रयास भएका छन् । तर सधैं एकाध चालक पक्रेर कारबाही गर्नेबाहेक उपलब्धि हुन सकेको छैन । ट्याक्सी चालक तथा व्यवसायीहरु भाडा दर सस्तो भएको हुँदा मिटरमा चल्न नसकिने बताउँछन् । यात्रु लिएर गएको ठाउँबाट रित्तै फर्किनुपर्छ भन्ने पनि उनीहरुको दुखेसो छ ।

Advertisement

भाडा समायोजनकै माग उठिरहेपछि ०७५ असोजमा यातायाता विभागले नयाँ भाडादर तोकेको थियो । जस अनुसार ट्याक्सी चढ्ना साथ अर्थात मिटर सुरु हुनासाथ १४ रुपैयाँ उठ्छ । २ सय मिटर गुड्दा ७ रुपैयाँ ८० पैसा उठ्छ । १ किलोमिटर गुड्दा ३९ रुपैयाँ चढ्छ ।

अर्थात १ किलोमिटरको भाडा ३९ रुपैयाँमा १४ रुपैयाँ जोडर ५३ हुन आउँछ । यसैगरी प्रतिकिलोमिटर ३९ रुपैयाँ थपिँदै जान्छ । तर त्यतिमा पोखराका ट्याक्सी चालक तथा व्यवसायीको चित्त बुझेको छैन । उनीहरु काठमाडौंमा जस्तो यात्रु नपाइने, धेरै कच्ची बाटो भएको पनि तर्क गर्छन् ।

Advertisement

उनीहरुकै भनाइ यात्रु पाइन्नन् भन्नेलाई आधार मान्ने हो भने यहाँ ट्याक्सीको संख्या धेरै छ । धेरै ट्याक्सी र थोरै यात्रु छन् । मागभन्दा बढी आपूर्ति भएको कुरा हेक्का ट्याक्सी व्यवसायीले राख्नु यहाँ मनासिव हुने देखिन्छ । कच्ची बाटो त परै जस्तै पक्कै बाटोमा पनि ट्याक्सी मिटरमा जान नमान्ने प्रवृत्ति छ, त्यो अन्त्य हुनुपर्छ ।

भाडादर सस्तो भएको छ भन्ने हो भने त्यसको आधार के हो ? त्यसबारे आवाज उठाउन उनीहरुले पनि सक्नुपर्छ । सरकारी निकायसँग वार्ता गरी वैज्ञानिक आधारमा भाडादर कायम हुने वातावरणका लागि पहल गर्नुपर्छ ।

ट्याक्सी मिटरको भाडादर वैज्ञानिक आधारमै तय भएको छ भन्नेमा प्रहरी, प्रशासन र सरकारी निकाय विश्वस्त छन् भने मिटरमा चल्नेलाई कहिलेकाहीं कारबाही गरेर पुग्दैन । नियमित अनुगमन हुनुपर्छ । जरिवाना तिराएर छाडेरमात्रै पुग्दैन । थप कारबाही गर्नुपर्छ ता कि उनीहरुले कहिल्यै यात्रु नठगुन् ।

ट्याक्सी व्यवसायीले भाडाबारे प्रष्ट धारणा राखून्, प्रशासन प्रष्ट होस् कि भाडादर वैज्ञानिक छ भन्ने कुरामा । होइन भने वार्ताबाट समस्या सुल्झाइयोस् । यही एउटै विषयमा धेरै नाटक मञ्चन् नहोस् । यात्रुले सुख पाउन् । ट्याक्सी चालकले पनि प्रष्ट भएर गरी खान पाउन् ।

तपाईको प्रतिक्रिया